१२ श्रावण २०८१, शनिबार

सूचना प्रविधि दिवस मनाइयो



धनगढी । सूचना प्रविधि दिवस विभिन्न कार्यक्रम सहित मंगलबार कैलालीमा मनाइएको छ ।
दिवसको अवसरमा कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) ले धनगढीको ट्राफिक चौराहदेखि जिल्ला समन्वय समितिसम्म प्रभात फेरी गरेको थियो । प्रभात फेरीमा क्यानका सदस्य, सूचना प्रविधिको क्षेत्रमा काम गर्ने शिक्षक, विद्यार्थी, कर्मचारी तथा सुरक्षाकर्मीको सहभागिता रहेको थियो ।
दिवसका अवसरमा क्यानले टाईपिङ प्रतियोगिताको आयोजना गरेको थियो । नेशनल कलेज फर कम्प्युटर स्टडी (एनसिसिएस) को हलमा भएको प्रतियोगितामा कम्प्युटर ईन्स्टिच्युटका ३४ विद्यार्थीको सहभागिता रहेको थियो ।
प्रतियोगितामा भूवन बोहरा प्रथम, सुमन चौधरी द्वितीय र पियुष पन्त तृतीय भएका थिए ।
त्यस्तै, क्यानले साइवर सुरक्षा र नेटवर्किङ सम्बन्धी सेमिनारको पनि आयोजना गरेको थियो ।
क्यान महासंघ कैलालीका अध्यक्ष धनबहादुर बोगटीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि केन्द्रीय सदस्य टेकराज पनेरू रहेका थिए ।
कार्यक्रममा सहभागीहरूले नेपालमा अहिले साइवर अपराध बढ्दै गएकाले न्यूनिकरणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्न आवश्यक भएको बताए ।
अहिलेको अवस्थामा सूचना तथा प्रविधिको विकासक्रम बढ्दै गएकोले यसको सकारात्मक भन्दा नकारात्मक प्रयोगमा बढोत्तरी हुँदै गएको सेमिनारका श्रोतव्यक्ति भास्करदत्त भट्टले चर्चा गरे ।
क्यान महासंघका उपाध्यक्ष वीरेन्द्र भट्टराईले स्वागत गरेको कार्यक्रमको कार्यक्रम सञ्चालन क्यान महासंघ कैलालीका सचिव नरेशसिंह धामीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार