३० आश्विन २०८१, बुधबार

ट्रक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु



धनगढी । कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनिया बजारमा आइतबार राति एक ट्रक र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार ना५ख ९४१८ नम्बरको ट्रक र लु३३प ८०९७ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा टीकापुर नगरपालिका ब्लक नम्बर ९ का ३३ वर्षीय केशर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता वीरबहादुर बुढामगरले जानकारी दिए ।
उनको उपचारको लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटैमा मृत्यु प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक धनबहादुर रानामगरलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै, आइतबार राति नै गोदावरी नगरपालिका–६ स्थित पूर्वपश्चिम राजमार्गमा ट्रक र मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालक बेलौरी नगरपालिका–८, कालिकाबस्ती बस्ने वर्ष ४० को सोमबहादुर तामाङको मृत्यु भएको छ ।
पूर्वबाट पश्चिम जाँदै गरेको ना४ख २११५ नम्बरको ट्रकमा सोही दिशाबाट आउँदै गरेको से३प ८८५९ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
ठक्करबाट घाइते भएका तामाङको अत्तरियास्थित पदमा अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि सेती अञ्चल अस्पताल ल्याइए पनि उनको उपचारकै क्रममा राति मृत्यु भएको ट्राफिक कार्यालय अत्तरियाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार