११ श्रावण २०८१, शुक्रबार

विद्यालय स्थानान्तरण विवाद : शिक्षक युनियनले गर्‍यो विद्यालयमा तालाबन्दी



धनगढी । संस्थागत विद्यालय शिक्षक युनियनले धनगढी उपमहानगरपालिका–५ मा स्थानान्तरण गरिएको स्टोनब्रिज इंग्लिस बोर्डिङ स्कुलमा आइतबार तालाबन्दी गरेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १, शिवनगरमा रहेको स्टोनब्रिजले शैक्षिक सत्र २०७४ देखि शिक्षा कार्यालयको अनुमति नलिएरै वडा नम्बर ५ मा स्थानान्तरण गरेको भन्दै युनियनले तालाबन्दी गर्नु परेको जनाएको छ ।
संस्थागत विद्यालय शिक्षक युनियनले स्टोनब्रिज स्कूलले शिक्षा ऐन र विद्यालय सञ्चालन निर्देशिका–२०६९ विपरित काम गरेको र पुन: पुरानै स्थानबाट विद्यालय सञ्चालन गर्नुपर्ने माग राख्दै तालाबन्दी गरेको युनियनका केन्द्रीय सदस्य धर्मराज भट्टले बताए । उनले हाललाई शिक्षा मन्त्रालयले नै विद्यालयको नयाँ स्थानान्तरणमा रोक लगाएकोले पुरानै स्थानबाट कक्षा सञ्चालन गर्नुपर्ने बताए ।
स्टोनब्रिज स्कूल स्थानान्तरण भएर आएको स्थान नजिकै पब्लिक विद्या निकेतन रहेको छ । विद्यालय सञ्चालन निर्देशिकाले दुई विद्यालयबीचको दूरी कम्तिमा पाँच सय मिटर हुनुपर्ने व्यवस्था गरे पनि ती दुई विद्यालयबीचको दुरी करिब २० मिटर मात्रै रहेको छ ।
शनिबार दुबै पक्षलाई बोलाएर छलफल गर्दा स्टोनब्रिजले निर्णय नमानेको र आइतबार विद्यालय खोलेकोले तालाबन्दी गर्नुपरेको केन्द्रीय सदस्य भट्टले बताए ।
स्टोनब्रिज स्कूलका संस्थापक प्रिन्सिपल उदयप्रताप सिंहले पूर्व सञ्चालित स्थानमा घरबहाल सम्झौता सकिएको र आफ्नै स्वामित्वमा रहेको जमिनमा विद्यालय सञ्चालन प्रक्रिया फागुनदेखि शुरु गरेको बताए ।
उनले आफूले विद्यालय स्थानान्तरण गर्दा कुनै पनि विद्यालयलाई कुनै पनि असर नगरेको दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार