१ कार्तिक २०८१, बिहीबार

विद्यार्थी आन्दोलन कडा बन्दै



धनगढी । कैलालीमा संयुक्त विद्यार्थी सङ्गठनहरूले जारी आन्दोलनलाई कडा बनाउँदै लगेका छन् । शिक्षा क्षेत्रमा विद्यमान विकृतिविसंगति र चर्को शुल्क वृद्धि विरुद्ध आन्दोलनरत विद्यार्थी सङ्गठनहरूले मङ्गलवारदेखि कडा कार्यक्रम अघि बढाउने आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै घोषणा गरेका छन् ।
विद्यार्थी सङ्गठनहरूले प्रस्तुत दशबुँदे माग तत्काल कार्यान्वयन हुनुपर्ने माग राख्दै भोलि (मङ्गलवार) देखि कक्षा १ देखि १० सम्म पढाई हुने सबै सामुदायिक र संस्थागत विद्यालयमा अनिश्चितकालीन शैक्षिक आमहडतालको घोषणा गरेका छन् ।
केन्द्रमा संयुक्त विद्यार्थी सङ्गठन र संस्थागत विद्यालयबीच १५ दिनभित्र वृद्धि शुल्क फिर्ता लिने सहमतिपछि आन्दोलन फिर्ता भए पनि कैलालीमा भने यथावत राखिएको छ ।
गत वर्ष अनुमति नै नपाएका विद्यालयलाई बन्द गरिए पनि पुन: दुई महिनापछि जिल्ला शिक्षा कार्यालयको लापरबाहीले सञ्चालनमा ल्याएकोले यस वर्ष निष्कर्ष सहितको आन्दोलन अघि बढाइएको विद्यार्थी नेताहरूले बताएका छन् ।
आन्दोलनकारी विद्यार्थी सङ्गठनहरूमध्येको एक नेपाल विद्यार्थी सङ्घका नेता सुमन केसीले ‘संस्थागत विद्यालयहरूमा विद्यमान विकृतिविसंगति अन्त्यका लागि जिल्ला शिक्षा कार्यालयले लिखित प्रतिबद्धता नगरेसम्म आन्दोलन फिर्ता नहुने बताए ।
यसैबिच आइतबार आन्दोलनकारी विद्यार्थी सङ्गठनहरूले धनगढी उपमहानगरपालिका–८ स्थित मोडर्न ऐरा विद्यालयका प्रिन्सिपल आरसी यादवमाथि कालोमोसो दलेका छन् । आन्दोलनकारी विद्यार्थी सङ्गठनहरूले सो विद्यालयको प्रशासन कक्षमा लगाएको तालाबन्दी प्रिन्सिपल यादवले तोडेपछि कालोमोसो दल्नु परेको उनीहरूले बताएका छन् ।
त्यस्तै, विद्यार्थी सङ्गठनहरूले लगाएको तालाबन्दीलाई नटेरेको भन्दै धनगढीमा दुई विद्यालयमा तोडफोड गरिएको छ । धनगढीको क्रिसेन्ट एकेडेमी र एलाइन्स स्कुलमा तोडफोड गरिएको बताइएको छ ।
उता, विद्यार्थी फोरम लोकतान्त्रिक, कैलालीले मोडर्न ऐराका प्रिन्सिपल यादवमाथि गरिएको अभ्रद व्यवहारप्रति आपत्ति जनाएको छ । विद्यार्थी फोरमले विज्ञप्ति जारी गर्दै प्रशासनले आवश्यक कारबाही गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार