३१ भाद्र २०८१, सोमबार

शैक्षिक क्षेत्रका समस्याबारे अन्तक्र्रिया



धनगढी । शैक्षिक क्षेत्रको समस्या र सरोकारवाला पक्षको भूमिकाबारे शनिबार धनगढीमा अन्तक्र्रिया भएको छ । संयुक्त विद्यार्थी संगठनको आयोजनामा भएको कार्यक्रममा सहभागीहरूले संस्थागत विद्यालयलाई व्यवस्थित र नियमन गर्न जरुरी रहेको चर्चा गरे ।
विद्यार्थी संगठनहरूका प्रतिनिधिले शिक्षाको गुणस्तरको नाममा निजी विद्यालयले दु:ख दिने गरेको र कमाउ धन्दालाई निरन्तता दिएको आरोप लगाउदै यस्तो अवस्थाको अन्त्य गर्न माग गरे । समस्या समाधानका लागि भएको छलफलमा विद्यार्थी संगठनले १० बुदे माग सम्बोधन नभए आन्दोलन जारी राख्ने चेतावनी समेत दिएका थिए ।
कार्यक्रममा नेविसंघका कार्यवाहक जिल्ला अध्यक्ष भेष बम, अनेरास्ववियुका चुडामणी भट्ट, अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय सदस्य विमल धामी लगायतले सामुदायिक विद्यालयको गुणस्तर खस्किदै गएको र निजि विद्यालयले मनपरी ढंगले शैक्षिक शुल्क असुल्ने गरेको आरोप लगाए ।
विद्यार्थी नेताहरूले निजी विद्यालयहरूकले तोकिएको पुस्तक पसलमा जान बाध्य बनाउने, पुस्तक पसलले समेत विद्यालयलाई आफ्नै पुस्तक लिन प्रेरित गर्ने गरी दुवैबीच कमिशनको खेल हुने गरेको गुनासो गरे ।
उनीहरूले विद्यार्थी संगठनले आन्दोलन गर्दा बढाएको शुल्क फिर्ता गर्ने सहमति गर्ने, तर दुईतीन महिनामै पुन: शुल्क वृद्धि गर्ने नीजि विद्यालयका सञ्चालकको रबैयाका विरुद्धमा आन्दोलन भइरहेको बताए । उनले विद्यार्थी संगठन र संस्थागत विद्यालयका सञ्चालकबीच भएको सहमति कार्यान्वयन नभएसम्म तालाबन्दी कार्यक्रम फिर्ता नहुने बताए ।
कार्यक्रममा एनप्याबसन कैलालीका सचिव राजेन्द्र चापागाार्इंले सामुदायिक विद्यालयको गुणस्तर खस्किदै जानु र निजी विद्यालयको शैक्षिक गुणस्तर राम्रो गर्दै गए पनि विभिन्न पक्षबाट अपराधिक जस्तो व्यवहार भएको बताए ।
उनले केही विद्यालय शुल्क वृद्धि गरे पनि सम्पूर्ण विद्यालयले शुल्क वृद्धि नगरेको दावी गरे । निजी विद्यालयले छात्रवृत्तिदेखि सम्पूर्ण सेवा सुविधा प्रदान गर्दै आए पनि विभिन्न वहानामा त्रसित गर्ने काम भईरहेको भन्दै आपत्ति जनाए ।
त्यस्तै, प्याबसनका उपाध्यक्ष चन्द्रबहादुर चन्दले शुल्क निर्धारणको लागि शिक्षा मन्त्रलायबाट ठोस निर्णय नहुँदा समस्या हुने गरेको बताए ।
जिल्ला शिक्षा अधिकारी मानसिंह बिष्टले शुल्क वृद्धिको लागि निजी विद्यालयका सञ्चालकले प्रस्ताव गरेको भए पनि वृद्धि गर्ने वा नगर्ने विषयमा कुनै टुंगो नलागेको बताए । उनले शुल्क निर्धारण समितिको पहिलो वैठकमा छलफल भए पनि यस विषयमा कुनै टुंगो नलागेको बताए ।
जिल्ला शिक्षा अधिकारी बिष्टले विगतका सहमति कार्यान्वयनमा कठिनाई भईरहेको स्वीकार गरे । उनले धेरै शिक्षण सस्था भएकोले जनशक्तिको अभावमा सबैतिर अनुगमन गर्न नसकिएको बताए ।
कार्यक्रममा स्थानीय विकास अधिकारी तथा जिल्ला शिक्षा समितिका अध्यक्ष केशवप्रसाद विमलीले शिक्षा नियमावली भित्रै रहेर अघि बढ्न नीजि विद्यालयका सञ्चालकहरुलाई आग्रह गरे ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष केशव उपाध्यायको अध्यक्षतामा भएको कार्यक्रममा अखिल क्रान्तिकारीका अध्यक्ष डम्मर भट्टराईले स्वागत गरेका थिए ।
कार्यक्रमबारे अनेरास्ववियुका केन्द्रीय सदस्य चुडामणी भट्टले जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन नेविसंघका कार्यवाहक अध्यक्ष भेष बमले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार