१२ श्रावण २०८१, शनिबार

छ लेन सडक निर्माणमा ढिलाइ



धनगढी ।  कैलालीको भन्सार मोहनापुलदेखि अत्तरियासम्म विस्तार हुने भनिएको छ लेनको उत्तर–दक्षिण व्यापारिक मार्ग निर्माणमा ढिलाइ भएको छ । प्राविधिक कारण देखाउँदै सो सडक आयोजना निर्माणमा दिलाई भएको बताइन्छ । ‘मोहनापुल अत्तरिया छ लेन सडक’ को निर्माण कार्य दुई वर्षभित्र पूरा गर्ने लक्ष्य लिइएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मानव बस्ती भएको स्थानमा चार लेन तथा बस्ती नभएको स्थानमा छ लेन सडक विस्तार गर्ने योजना बनाएको छ । तर प्राविधिक कारणले आयोजना अगाडि बढाउन ढिलाइ भएको मोहनापुल अत्तरिया सडक आयोजना प्रमुख नवीनमान श्रेष्ठले बताए ।
सो सडक आयोजना निर्माणका लागि हालसम्म छुट्टाछुट्टै तीनवटा टेण्डर आह्वान गरिसकेको बताउँदै आयोजना प्रमुख श्रेष्ठले भने– ‘टेण्डर मूल्याङ्कनमा केही समस्या भएकोले समय लम्बिन पुगेको छ । सो आयोजना विस्तारका लागि ८–१० वटा टेण्डर परेका थिए ।’
दुई अर्ब १५ करोड रुपैयाँ लागत रहेको सो आयोजना निर्माणका लागि केही दिनभित्रै यसअघि प्राविधिक रूपमा देखिएका समस्याहरू हल हुने श्रेष्ठले दाबी गरे । बहुवर्षीय योजनाभित्र परेको यो योजना निर्धारित मितिमै पुरा गर्न आवश्यक छलफलका लागि आफूले पहल गरिरहेको उनले जानकारी दिए ।
उनले चालू आर्थिक वर्षमा खासै प्रगति देखिने अवस्था नरहेको बताए । छ लेनको सो सडकको लम्बाई १४ दशमलव १७ किलोमिटर रहेको छ ।
आयोजनामा १० जना कर्मचारीको दरबन्दी रहे पनि हाल छ जनाको मात्रै दरबन्दी पूर्ति रहेको छ । सो सडक आयोजना कार्यान्वयनका लागि आयोजना निर्देशनालय कार्यालयसमेत धनगढीमा स्थापना भइसकेको छ ।
३२ दशमलव दुई मिटर चौडा रहने सो सडकको दुवै साइडतिर तीन/तीन मिटर फुटपाथ रहने जनाइएको छ । छ लेन सडकभित्र तीनओटा पुल बनाइने छन् । पुलको लागत स्टिमेट तयार पार्ने काम भइरहेको जनाइएको छ ।
यो सडक निर्माणले यहाँको विकासमा निकै योगदान पुग्ने अपेक्षा गरिएको छ । भारतीय सीमासंग जोडिएको रणनीतिक महत्त्वको सडक भएकाले निर्माणका लागि आवश्यक प्रक्रिया दु्रत गतिमा अगाडि बढाइनुपर्ने सरोकारवालाहरूको भनाई रहेको छ । सडक निर्माणका लागि अधिग्रहण हुने जग्गा, विद्युत् टेलिफोनका पोललगायतबारे अध्ययन हुन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार