८ बैशाख २०८१, शनिबार

निर्वाचनको घोषणा छिट्टै गर : नेता श्रेष्ठ



धनगढी । नेपाली काँग्रेसका नेता गोपालमान श्रेष्ठले स्थानीय तह निर्वाचनको मिति तत्काल घोषणा गर्न सरकारसँग माग गरेका छन् । गत माघ १५ गते नै स्थानीय तह निर्वाचनको घोषणा गर्नुपर्ने भए पनि सरकार चुकेको उनले टिप्पणी गरे ।
सोमबारबाट धनगढीमा सुरु भएको ‘निर्वाचन तथा महिला अधिकार सम्बन्धी’ सात नम्बर प्रदेशस्तरीय तालिमको धनगढीमा उद्घाटन गर्दै नेता श्रेष्ठले भने– ‘अहिलेको पहिलो आवश्यकता भनेको संविधान संशोधन गरेर संविधान कार्यान्वयनका लागि तिनै तहको निर्वाचन गर्नु नै हो ।’ उनले भने– ‘संविधान अकाट्य होइन, समयअनुसार परिवर्तन हुन्छ । न त यो कुनै धर्मको ग्रन्थ नै हो ।’
कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले अधिकार मागेर भन्दा पनि आफै अघि सरेर लिनुपर्ने बताइन् ।
नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले नेपाली काँग्रेसको सिद्धान्त र महिला सङ्घको इतिहासबारे गाउँगाउँमा जानकारी पुर्‍याउन आग्रह गरिन् ।
तालिम उद्घाटन कार्यक्रममा काँग्रेस नेता नारायणदत्त मिश्र, सांसद चन्द्रा जोशी तथा विभिन्न जिल्लाका महिला सङ्घका अध्यक्ष लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
तीन दिनसम्म चल्ने तालिममा सुदूरपश्चिमका नौ वटै जिल्लाका महिला सङ्घका अध्यक्ष, क्षेत्रीय अध्यक्ष तथा पदाधिकारी गरी ५० जनाको सहभागिता रहेको जनाइएको छ । तालिममा काँग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपाने, महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मी, महासचिव धना खतिवडा, कोषाध्यक्ष जानकी सिंह, केन्द्रीय सदस्य सुशीला मिश्र लगायतले प्रशिक्षण दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार