८ बैशाख २०८१, शनिबार

कैलालीमा सीसीटीभी निर्देशिका लागू भएन



धनगढी । सीसीटिभी निर्देशिका अनुसार सीसीटिभी जडान गर्दा स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था भए पनि सबैले आफू खुसी राख्ने गरेका छन् । सीसीटीभी राख्नु अघि जिल्ला प्रशासन कार्यालयको अनुमति लिनुपर्ने व्यवस्था छ । जिल्लाका धेरै कार्यालय र होटेलले सीसीटीभी राखे पनि अत्तरियास्थित एनसीसी बैङ्क बाहेक कुनै पनि सङ्घ/संस्था, सरकारी निकायले अनुमति नलिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सीसीटीभी राख्नुअघि यसको प्रकृति, गुणस्तर, सङ्ख्या, जडान गर्ने स्थान, मोनिटर गर्ने स्थान, मोनिटरिङ कार्यमा परिचालन हुने कर्मचारीहरूको विवरण जिल्ला प्रशासन कार्यालयमा बुझाउनु पर्नेहुन्छ ।
सरकारले जारी गरेको निर्देशिकामा सीसीटीभीबाट खिचिएका तस्बिरहरू गोप्य रूपमा राख्नुपर्ने, भिडियोहरूलाई परिमार्जित गरी व्यापारिक प्रयोजनका लागि प्रयोग गर्न नपाइने, खिचिएका तस्बिर वा भिडियोहरूलाई प्रहरीले माग गरे बमोजिम तीन महिनासम्मको लागि सुरक्षित राख्नुपर्ने प्रावधान छ । निर्देशिकामा बैङ्क, वित्तीय संस्था, सुनचाँदी व्यवसाय, साइवर क्याफे जस्ता व्यापारिक कारोबार हुने स्थानमा सम्बन्धित सङ्घ/संस्थाहरूले अनिवार्य रूपमा सीसीटीभी जडान गर्नुपर्ने प्रावधान छ । सीसीटीभी शौचालय, चेन्जिङ रूम, मोनिटर गर्ने स्थान, होटलको बेडरूम आदि संवेदनशील स्थानमा राख्न नपाइने व्यवस्था छ । व्यापारिक सुरक्षा प्रयोजनका लागि सीसीटीभी जडान गर्न जिल्ला प्रशासन कार्यालयमा प्रयोजन खुलाई अनुमति लिनुपर्ने निर्देशिकामा उल्लेख छ ।
कैलालीमा जिल्ला विकास समिति, धनगढी उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नेपाल राष्ट्र बैङ्क, जिल्ला शिक्षा कार्यालय, राष्ट्रिय वाणिज्य बैङ्क, एभरेष्ट बैङ्क लगायतले कार्यालयभित्र सीसीटीभी जडान गरेका छन् ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले प्रथम सूचना जारी गर्दा कसैले चासो नदेखाएपछि दोस्रो सूचना जारी गर्ने र यस पश्चात् पनि कुनै सङ्घ/संस्था, सरकारी कार्यालय, व्यापारीहरूले अनुमतिपत्र लिने प्रक्रियामा नआएमा अनुगमन गर्ने र कडाईका साथ कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार