१३ बैशाख २०८१, बिहीबार

जेष्ठ नागरिक मेला हुने



धनगढी । कैलालीको उर्मामा जेष्ठ नागरिक मेला हुने भएको छ । हेल्पएज अन्तर्राष्ट्रिय नेपाल तथा महिला तथा बालबालिका कार्यालयको सहयोगमा फाया नेपाल र जेष्ठ नागरिक समुह उर्माको संयुक्त आयोजनामा भोली मंगलबार मेला आयोजना हुने जनाइएको छ ।
विपद् व्यवस्थापनमा ज्येष्ठ नागरिकको सहभागिता सहितको विपद् उत्थानशिल समुदाय निर्माणमा सहजीकरण गर्ने, ज्येष्ठ नागरिकहरूसंग रहेका ज्ञान, सीप तथा अनुभवहरूको प्रसार गर्ने तथा ज्येष्ठ नागरिक प्रतिको आदरभाव र सम्मानलाई अभिवृद्धि गर्ने उद्देश्यले मेलाको आयोजना गरिन लागेको फाया नेपालका कार्यक्रम निर्देशक धर्मराज पाठकले बताए ।
उनले मेला सञ्चालनका लागि एक सय एक आयोजक समिति बनाइएको बताए । मेलाको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले उद्घाटन गर्ने उनले बताए ।
समुदायलाई विपद् उत्थानशिल बनाउन ज्येष्ठ नागरिक मैत्री विपद् व्यवस्थापनका विधि, ज्येष्ठ नागरिकबाट गर्न सकिने सीपमूलक जीविकोपार्जनका गतिविधिहरू, ज्येष्ठ नागरिकको सहभागिताका विषयमा सडक नाटक, स्थानीय सांस्कृतिक झांकीहरूको प्रर्दशनी, ज्येष्ठ नागरिक तथा सरोकारवालाहरू बीच अन्तक्र्रिया र ज्येष्ठ नागरिकका लागि विशेषज्ञ डाक्टरहरूबाट स्वास्थ्य परिक्षण मेलाका मुख्य आकर्षणहरू रहने कार्यक्रम निर्देशक पाठकले जानकारी दिए ।
मेलामा कैलालीको चौमाला, फूलबारी, गेटा, उर्माका साथै बर्दिया, कास्की र तनहुबाटका ज्येष्ठ नागरिकहरूको सहभागिता रहने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार