१२ बैशाख २०८१, बुधबार

जोखिमयुक्त यातायात गर्न बाध्य




लम्की । 
कैलालीको चिसापानीदेखि अछामको जंगलघाटसम्मको सडकखण्डमा यात्रुहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । जंगलघाट घोरेटो सडकको चिसापानी—सोल्टा सडकखण्डमा चल्ने जीप यातायात जोखिमपूर्ण रहेको छ । कच्ची र बिग्रेको सडक भए पनि सो खण्डमा चल्ने प्राय: जीपका छतमा समेत अटेसमटेस रूपमा यात्री चढ्ने गरेका छन् ।
सो रुटमा सूदूरपश्चिम र मध्यपश्चिमका पहाडी जिल्ला अछाम, डोटी र कैलाली तथा मध्यपश्चिमका सुर्खेत, दैलेख, कालिकोट, जुम्ला लगायतका यात्रीले यात्रा गर्ने गरेका छन् ।
कैलालीको सोल्टादेखि चिसापानी सम्मको करिब ३० किलोमिटर सडकमा १६ सिट क्षमता भएका जीप सञ्चालन हुने गरेका छन् ।
एक जना यात्री रामनाथ जैशीले सो सडकमा यात्रीको बढी चाप हुने गरेका कारण हरेक जीपको छतमा समेत यात्री चढ्ने गरेको बताए ।
सो सडक खण्डको निर्माण कार्य २०४८ सालदेखि सुरु भए पनि अझैं पुरा भएको छैन ।
सुगरखाल—९, कुइनेका भीष्म साउँदले कच्ची र जोखिमयुक्त सडक भएका कारण कुनै पनि यातायात समितिले यात्रुबाहक बस सञ्चालन नगरेको बताए । उनले, अहिले सञ्चालनमा आएका गाडी (जीप) हरू पनि कुनै यातायात समितिमा दर्ता नभएको बताए ।
इलाका प्रहरी कार्यालय, चिसापानीका इन्चार्ज प्रहरी निरीक्षक धनबहादुर बोहराले सो सडकमा चल्ने जीपको छतमा यात्री राख्न नदिन पहल सुरु गरेको बताए ।
ट्राफिक प्रहरी कार्यालय, चिसापानीका इन्चार्ज प्रहरी सहायक निरीक्षक खडकबहादुर बमले सुरक्षित यात्राप्रति आफू निकै गम्भीर र संवेदनशील रहेको बताए । उनले सुरक्षित यात्राका लागि यात्री तथा गाडी चालकलाई सजग गराउने खालका कार्यक्रम सञ्चालन गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार