७ जेष्ठ २०८१, सोमबार

चरेशको कारोबार गर्नेमाथि मुद्दा दायर



धनगढी । धनगढी उपमहानगरपालिका—१८, फुलबारीमा चरेशसहित पक्राउ परेका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
फुलबारीमा एक सय किलो चरेशसहित पक्राउ परेका ५५ वर्षीय देवबहादुर सिंहलाई जिल्ला प्रहरी कार्यालय, कैलालीले सोमबार सार्वजनिक गरेको छ ।
सिंहलाई प्रहरीले उपमहानगरपालिका–१८, फुलबारी पच्चीसघरबाट आइतबार एक सय किलो चरेशसहित पक्राउ गरेको थियो । सो चरेश बझाङबाट ल्याइएको अनुसन्धानबाट खुलेको कैलाली प्रहरी प्रमुख अर्जुनकुमार चन्दले बताए ।
क्षेत्रीय अनुसन्धान समूह (आरआइटी) को प्रहरी टोली र सीमा प्रहरी चौकी बहुलियाको संयुक्त टोलीले विशेष सूचनाका आधारमा चरेश सहित व्यक्ति पक्राउ गरिएको एसपी चन्दले बताए ।
बझाङको रिलु गाविसका शिव बोहराले आफूलाई केही दिनका लागि सो सामान राख्न दिएको र दिनको एक हजार रुपैयाँ दिने प्रलोभन दिएको बयानका क्रममा सिंहले बताएको एसपी चन्दले बताए ।
प्रहरीले सिंहमाथि लागूऔषध (नियन्त्रण) ऐन २०३३, को १४ (घ) ५ अनुसार मुद्दा दर्ता गरी जिल्ला अदालतमा म्याद थप गराई सकेको छ । सो ऐन अनुसार दुई वर्षदेखि दश वर्षसम्म कैद र १५ हजारदेखि एक लाखसम्म जरिवाना हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार