७ जेष्ठ २०८१, सोमबार

लिटल फ्लावर क्रिकेटको उपाधि ऐश्वर्यलाई



धनगढी । धनगढीमा सञ्चालित लिटल फ्लावर अन्तर विद्यालय प्रिमियर लिग क्रिकेटको उपाधि ऐश्वर्य विद्या निकेतनले जितेको छ ।
ऐश्वर्यले बिज्डम एकेडमी बैलौरीलाई आठ विकेटले पराजित गर्दै उपाधि हासिल गर्‍यो ।
टस जितेर पहिले व्याटिङ गरेको विज्डमले निर्धारित २० ओभरमा आठ विकेट गुमाउदै ८६ रन बनाएको थियो ।
विज्डमका अभिषेक उपाध्यायले २३, हरिश विष्टले १३ र अर्जुन चौधरीले १२ रन बनाए ।
जवाफमा ऐश्वर्यले १४ दशमलव दुई ओभरमा दुई विकेट क्षतिमा विजयी लक्ष्य प्राप्त गरेको थियो । ऐश्वर्यका प्रारम्भिक ब्याट्सम्यान राजन सिंहले अविजित ३३ बनाए भने कप्तान नारायण जोशीले
१७ रन बनाए । जीतसंगै ऐश्वर्यले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता विज्डमले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्‍यो ।
प्रतियोगिताको फाइनल खेलका म्यान आफ द म्याच राजन सिंह भए भने म्यान आफ द सिरिज ऐश्वर्यका कप्तान नारायण जोशी भए ।
त्यसै गरी, प्रतियोगितामा उत्कृष्ट ब्याट्सम्यान ऐश्वर्यका राजन सिंह, उत्कृष्ट फिल्डर एरिष्टो स्कुल धनगढीका अनिल थापा र उत्कृष्ट बलरमा विज्डमका प्रकाश भाट भए ।
प्रतियोगिता समापनका अवसरमा सांसद पुष्करनाथ ओझाले विजेता टिम तथा खेलाडीलाई पुरस्कार तथा शिल्ड वितरण गरेका थिए ।
प्रतियोगितामा होटेल डिभोटी, सुरज ग्रुप, कैलोरी भेज म:म:, रोडहाउस क्याफे लगायतले प्रायोजन गरेको आयोजक लिटल फ्लावर स्कुलका प्रिन्सिपल कलेन्द्र शाहीले बताए ।
समापन कार्यक्रममा पत्रकार कर्ण शाहले स्वागत गरेका थिए ।
सो अवसरमा पत्रकारहरू शाह, मोहन जोशी, गगन अयडी र नवराज पनेरूलाई सम्मान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार