७ पुष २०८१, आईतवार

स्कूले बालबालिकाले दिए खाजा खर्चको रकम



धनगढी  ।  धनगढी उपमहानगरपालिका–७, मनहेरास्थित सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीहरूले आफ्नो खाजा खर्चबाट ममता बोहराको उपचारमा सहयोग गरेका छन् ।
विद्यार्थीहरूले खाजा खर्च कटौती गरेर सङ्कलन गरेको पाँच हजार तीन सय एक रुपैयाँ बुधवार एक सङ्क्षिप्त कार्यक्रमबिच नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशबिक्रम शाहलाई हस्तान्तरण गरे ।
सो विद्यालयका प्रधानाध्यापक ज्ञानेन्द्रबहादुर शाहले ममताको उपचारमा सहयोग पुर्‍याउन विद्यार्थीहरूले गरेको पहलमा शिक्षक, शिक्षिकाहरूले पनि साथ दिएको बताए ।
विद्यार्थीहरू विनोद साउँद र समीर थापाले ममता बोहराको उपचारमा सहयोग सङ्कलनको पहल गरेपछि सम्पूर्ण विद्यार्थी तथा शिक्षकशिक्षिकाले समर्थन र सहयोग गरेको उनले बताए ।
विद्यालयमा रहेका वाल क्लब, ई–को क्लब र जुनियर रेडक्रस सर्कलको अगुवाईमा सो सहयोग रकम सङ्कलन भएको प्रधानाध्यापक शाहले बताए ।
कार्यक्रममा प्रधानाध्यापक शाह र वाल क्लब, ई–को क्लब, जुनियर रेडक्रस सर्कलमा आवद्ध विद्यार्थीहरूले संयुक्त रूपमा सो रकमको चेक महासङ्घका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक शाहलाई हस्तान्तरण गरेका थिए ।

सुदूरपश्चिमाञ्चल एकडेमीबाट पनि सहयोग
यस्तै, धनगढी उपमहानगरपालिका–२, मा रहेको सुदूरपश्चिमाञ्चल एकेडेमीले पनि ममता बोहराको उपचारमा आर्थिक सहयोग प्रदान गरेको छ ।
एकेडेमीका अध्यक्ष योगेन्द्रबहादुर शाहीले ममताको उपचारका लागि बुधवार पाँच हजार एक सय एघार रुपैयाँ प्रदान गरेका छन् ।
मृर्गौला रोगबाट पीडित ममताको उपचारमा सहयोग पुगोस् भन्ने भावनाका साथ सो रकम प्रदान गरेको अध्यक्ष शाहीले बताए ।

फ्युचर लाइनबाट पनि सहयोग प्रदान
यस्तै, धनगढी–१ मा रहेको फ्यूचरलाइन इन्स्टिच्यूट अफ टेक्नोलोजीले पनि ममताको उपचारका लागि सहयोग प्रदान गरेको छ ।
सो इन्स्टिच्युटका सञ्चालक पदम नेपालीले बुधवार पाँच हजार एक सय रुपैयाँको चेक पत्रकार महासङ्घका केन्द्रीय सदस्य तथा क्षेत्रीय संयोजक प्रकाशबिक्रम शाहलाई हस्तान्तरण गरे ।
नेपाल पत्रकार महासङ्घ कञ्चनपुरका पूर्व अध्यक्ष पत्रकार स्वर्गीय कर्ण बोहराका श्रीमती ममता लामो समयदेखि दुवै मृर्गांैला खराब भएका कारण डायलोसिस गराइरहेकी छिन् ।
श्रीमतीको उपचारका क्रममा गत मङ्सिर १० गते पत्रकार बोहराको काठमाडौँमा असामयिक निधन भएको थियो ।
श्रीमती ममताको उपचारमा सहयोग पुर्‍ाउन पत्रकार महासङ्घको सुदूरपश्चिम क्षेत्रीय समितिले आह्वान गरेपछि हालसम्म विभिन्न व्यक्ति तथा संघसंस्थाबाट गरी करिब चार लाख रुपैयाँ सङ्कलन भइसकेको छ ।
महासङ्घको आह्वानमा साथ दिँदै महासङ्घका सुदूरपश्चिमका विभिन्न जिल्ला शाखा, व्यक्रि तथा संघसंस्था तथा विदेशमा रहेका नेपालीहरूले सहयोग प्रदान गर्ने क्रम जारी छ ।
महासङ्घका क्षेत्रीय संयोजक शाहका अनुसार बुधवारसम्म ममताको उपचारमा सहयोगवापत तीन लाख ९५ हजार तीन सय रुपैयाँ सङ्कलन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार