११ श्रावण २०८१, शुक्रबार

यथास्थितिमा संविधान संशोधन मान्य छैन: थापा



धनगढी  ।  राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारले यथास्थितिमा संविधान संशोधनको प्रक्रिया अघि बढाए आफ्नो पार्टीलाई मान्य नहुने बताएका छन् ।
आइतबार कञ्चनपुरको महेन्द्रनगरमा हुने सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्नका लागि शनिवार धनगढी पुगेका थापाले पत्रकारहरूसित कुरा गर्दै सरकारले संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता गराएदेखि नै त्यसको विरोध हुँदै आएकोले यथास्थितिमा सो प्रस्ताव यथावत राख्नुपर्ने बताए ।
अध्यक्ष थापाले सरकारले संसद्मा दर्ता गराएको संविधान संशोधनको प्रस्तावले प्रमुख प्रतिपक्षी दल एमाले लगायत ९ दल, मधेसी मोर्चा स्वयम् असन्तुष्ट बनेको भन्दै यस्तो अवस्थामा जवरजस्ती संशोधनको प्रस्ताव अघि बढाए आफ्नो पार्टीलाई पनि मान्य नहुने चेतावनी दिए ।
उनले भने यथास्थितिमा संविधान संशोधनको प्रस्ताव अघि बढाउन हुन्न, सरकारले सबै राजनीतिक दलहरूबीच घनिभूत रूपले छलफल अघि बढाएर सहमति कायम गर्नुपर्छ । अध्यक्ष थापाले आफ्नो पार्टी सरकारमा भएर पनि प्रधानमन्त्रीले राप्रपासंग छलफल र परामर्श नगरी संविधान संशोधनको प्रस्ताव दर्ता गराएको आरोप लगाए ।
उनले संविधान जारी भएको १५ महिना बितिसक्दा पनि कार्यान्वयन हुन नसकेको भन्दै पछिल्लो राजनीतिक घटना क्रमले प्राप्त उपलब्धि धरापमा पर्दै जाने आशंका व्यक्त गरे । २०७४ माघ ७ गतेभित्र तिनै तहको निर्वाचन सम्पन्न गरिसक्नु पर्ने चुनौती रहेको बताउँदै थापाले भने– ‘सरकारले आउँदो चैत वैशाखमा स्थानीय तहको निर्वाचन गराउनतिर लाग्नुपर्छ ।’ एक अर्को प्रसंगमा उनले मधेसी दलहरूले उठाएका जायज मागको सम्बोधन गर्नुपर्छ, नगरिकन जवरजस्ती निर्वाचन गराउनतिर लाग्दा गलत सन्देश जाने बताए ।
उनले संविधान संशोधन विधेयक हतारमा र हचुवा ढंगबाट दर्ता गरिएकोले प्रतिपक्षीले लगातार संसद् अवरुद्ध गर्दै आएको, ५ नम्बर प्रदेशका जनता आन्दोलित हुनु र मधेसी दलहरू पनि सन्तुष्ट नहुनुले सो विधेयकका दफा राष्ट्रियहित अनुकूल नभएको आरोप लगाउँदै अब नयाँ ढंगबाट समझदारी कायम गरी निकास खोजिनु पर्ने धारणा व्यक्त गरे ।
आइतबार कञ्चनपुरको महेन्द्रनगरमा हुने सुदूरपश्चिमस्तरीय आमसभालाई सम्बोधन गर्नका लागि अध्यक्ष थापा, राष्ट्रिय अध्यक्ष पशुपति शम्शेर जबरा, नेता प्रकाशचन्द्र लोहनीलगायत केन्द्रीय सदस्यहरू यहाँ आइपुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार