१२ श्रावण २०८१, शनिबार

ममतालाई थप सहयोग



धनगढी । सुदूरपश्चिम–११ स्पोर्टस् क्लव धनगढीले ममता बचाउ अभियानमा सहयोग पुर्‍याउन ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ ।
क्लवका अध्यक्ष सुरेश हमालले खप्तड गोल्डकप २०७३ बारे जानकारी दिन आयोजना गरिएको कार्यक्रममा सो रकमको चेक हस्तान्तरण गरेका थिए । सो रकमको चेक नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष भरत शाहलाई हस्तान्तरण गरिएको थियो ।
अध्यक्ष शाहले आफूले सो चेक ममता बचाउ अभियानको नेतृत्व गरिरहेको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम क्षेत्रीय समितिलाई हस्तान्तरण गरेको बताए । महासंघका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम संयोजक प्रकाशविक्रम शाहले फेसबुकबाट थालिएको सो अभियानबाट अहिलेसम्म तीन लाख ७० हजार रुपैयाँ संकलन भएको बताए । ममताका लागि धनगढी, महेन्द्रनगर, डोटी, डडेल्धुरा, बाजुरा, बझाङ र दार्चुलामा पनि पत्रकार महासंघले सहयोग संकलन गरिरहेको छ । यस्तै, विदेशस्थित नेपाली समुदायले पनि रकम संकलन गरेर पठाइरहेका छन् ।

महासंघ यूकेका सल्लाहकार भगिरथ योगीद्वारा महासंघ केन्द्रीय अध्यक्ष महेन्द्र विष्टलाई रकम हस्तान्तरण गर्दै ।

बुधबार मात्रै पनि नेपाल पत्रकार महासंघ यूकेले दुई लाख रुपैयाँ हस्तान्तरण गरेको छ । महासंघ यूकेका सल्लाहकार भगिरथ योगीले महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टलाई सो रकम हस्तान्तरण गरेका थिए । महासंघ यूकेका अध्यक्ष नरेश खपांगीमगरले ममताका लागि थप सहयोग पठाउने बताएका छन् ।
यसअघि क्यानडामा रहेका पत्रकार भानुभक्त आचार्यले एक लाख ६० हजार रुपैयाँ ममताका लागि पठाएका थिए । यस्तै, यूएइमा रहेको सुदूरपश्चिम सेवा समाजले पनि ५० रुपैयाँ पठाएको थियो । अमेरिका, जापान, इजरायल लगायतका देशमा रहेका नेपालीले पनि सहयोग पठाएका छन् ।
श्रीमतीको उपचारमा रहेका महासंघ कञ्चनपुरका पूर्वअध्यक्ष बोहराको मंसिर १० गते आकस्मिक निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार