१२ श्रावण २०८१, शनिबार

पवेरा पूर्ण खोपयुक्त गाविस



पवेरा । कैलालीको पवेरा पूर्ण खोपयुक्त गाविस घोषणा भएको छ । कैलालीका स्थानीय विकास अधिकारी केशवप्रसाद विमलीले बुधबार एक कार्यक्रमकाबीच गाविसलाई पूर्ण खोपयुक्त गाविस घोषणा गरेका हुन् ।
पवेरा गाविस नवजीवन सेवा संघ कैलाली र स्थानीय पूर्ण खोप समन्वय समिति पवेराको पहलमा ११ औं पूर्ण खोपयुक्त गाविस घोषणा भएको हो । स्थानीय विकास अधिकारी विमलीले पूर्ण खोप प्रतिवद्धता घोषणापत्र पढेर र हस्ताक्षर गरेर उक्त घोषणा गरेका हुन् ।
२०७३ बैशाख यता खोप पाउनुपर्ने उमेरका ७९ बालबालिकाले खोपको पूरा मात्रा पाएपछि पवेरालाई पूर्ण खोपयुक्त गाविस घोषणा गरिएको आयोजकले जानकारी दिएका छन् । स्थानीय विकास अधिकारी विमलीले पूर्णखोप घोषणा गरेरमात्र नहुने भन्दै दिगो बनाउनु पर्नेमा जोड दिए ।
कार्यक्रममा क्षेत्रीय स्वास्थ्य निर्देशक डाक्टर सुशीलनाथ प्याकुरेलले बालबालिकालाई सबै खोप दिएमा ११ रोगबाट जोगाउनुका साथै रोगबाट अकालमै हुने मृत्यु पनि न्यूनीकरण गर्न सकिने बताए । उनले बालबालिकालाई खोप दिएमा अहिले बालबालिकाको उपचारका लागि भईरहेको खर्च घट्ने र त्यो खर्च शिक्षामा गर्न सकिने बताए ।
कार्यक्रममा कैलाली निमित्त जनस्वास्थ्य अधिकृत खगेन्द्रबहादुर शाहीले कैलाली जिल्लामा शिक्षित व्यक्तिहरू धेरै भए पनि जिल्लालाई पूर्ण खोप जिल्ला घोषणा गर्न चुनौति रहेको बताए । उनले जिल्लामा अझै १७ गाविस, पाँच नगरपालिका र एक उपमहानगरपालिका पूर्ण खोप घोषणा गर्न बाँकी रहेको बताए । उनले जिल्लामा अझै २० हजार बढी बालबालिका खोपबाट वञ्चित रहेकोले जिल्लाका सबै बालबालिकालाई खोपको पहुँचमा ल्याएर सन २०१७ भित्रै जिल्लालाईनै पूर्ण खोप जिल्ला घोषणा गर्ने तयारी भैरहेकाले सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए ।
पवेरा गाविस सचिव तथा समन्वय समितिका संयोजक बलराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा बलिया स्वास्थ्य चौकी प्रमुख तप्तबहादुर भण्डारी, नेपाली काँग्रेसका गाउँ कार्यसमिति सभापति रामचन्द्र चौधरी, नेकपा माओवादीका महान थारू,  नवजीवन सेवा संघका जिल्ला कार्यक्रम संयोजक एकेन्द्र ठकुल्ला लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
पवेरा स्वास्थ्य चौकी प्रमुख भूपेन्द्रसिंह महराले स्वागत गरेको कार्यक्रमको गाविसस्तरीय युवा क्लबका अध्यक्ष प्रेम चौधरीले सञ्चालन गरेका थिए ।
कार्यक्रममा पूर्ण खोप गाविस घोषणा गर्ने अभियानमा सहयोग पुर्‍याउने वडा नागरिक मञ्चका संयोजक, भलमन्सा, महिला स्वयम्सेविका, आमा समूह, राजनीतिक दललगायतलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार