१० श्रावण २०८१, बिहीबार

शिक्षक कमजोर हुँदा विद्यार्थीको सिकाई उपलब्धि कम



धनगढी । कैलाली जिल्लामा रहेका सामुदायिक विद्यालयका शिक्षकमा पेशागत जफावदेहिता, इच्छाशक्ति, स्रोतको अभाव तथा दक्षताको विकास हुन नसक्दा निजी विद्यालयभन्दा सामुदायिक विद्यार्थीको सिकाई उपलब्धि कम रहेको एक अध्ययनले देखाएको छ ।
मङ्गलवार धनगढीमा आयोजना भएको जनचेतना तथा युवा जागरण मञ्च (फाया) नेपाल र एक्सन–एड नेपालद्वारा सञ्चालित प्रगतिशील स्थानीय स्रोत परिचालनद्वारा गुणस्तरीय शिक्षा प्रवद्र्धन परियोजना अन्तर्गत विद्यालयको वित्तीय नक्सांकन अध्ययनका नतिजाहरू सार्वजनिकीकरण कार्यशालामा सहभागीहरूले स्थानीय तहमा भएका स्रोतसाधनको व्यवस्थापन र सदुपयोग गर्नुपर्ने बताए ।
सार्वजनिक विद्यालयमा वित्तीय व्यवस्था श्रोत, परिचालन र अभाव विषयको अध्ययनकर्ता कैलाली बहुमुखी क्याम्पसमा उपप्राध्यापक भवानीसिंह चलाउनेले सामुदायिक विद्यालयमा जवाफदेहिता बढाउँदा व्यवस्थापनमा सुधार हुने तथा आर्थिक मितव्ययीता बढाउँदा विद्यालयको शिक्षण सिकाइमा पनि सुधार हुने बताए । उनले सिकाईमा सुधार आए अभिभावकहरूको सार्वजनिक विद्यालय प्रतिको अविश्वास हट्न सक्ने बताए । कार्यशाला गोष्ठीको उद्घाटन गर्दै जिल्ला शिक्षा अधिकारी मानबहादुर विष्टले सामुदायिक विद्यालयको शिक्षण सिकाई सुधारका लागि जिल्ला शिक्षा कार्यालयले पहल गरिरहेको, तर व्यवस्थित गर्न नसक्दा प्रभावकारी नदेखिएको बताए ।
अध्ययनमा नेपालमा विद्यालय शिक्षा र शैक्षिक नीति, विद्यालय शिक्षामा समस्याहरू, नेपालमा विद्यालय शिक्षाका केही सूचकहरू, औसत सिकाइ उपलब्धि, शिक्षाको क्षेत्रमा सरकारको लगानी, शिक्षा बजेटको तहगत बाँडफाँडलगायतको विषयहरू समेटिएका थिए ।
अध्ययनमा कैलालीका उर्मा, फूलवारी र हसुलिया गाविसका २० वटा विद्यालयका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरू नमुनाको रूपमा छनौट गरिएको थियो । परियोजना नोराडको आर्थिक सहयोगमा सञ्चालन भएको हो । कार्यक्रम फाया नेपालका अध्यक्ष शेरबहादुर बस्नेतको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार