१४ बैशाख २०८१, शुक्रबार

गाई मार्नेलाई कारबाहीको माग गर्दै बन्द



धनगढी ।  राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका हिन्दूवादी समूहले गरेको बन्दको आइतबार कैलाली लगायत सुदूरपश्चिमका विभिन्न जिल्लामा असर परेको छ । उनीहरूले केहीदिन अघि गोदावरीको भ्यागुत्तेमा मृत भेटिएका गाई मारेको आरोप लगाउँदै मार्नेलाई कारबाहीको माग गर्दै बन्द आव्हान गरेका हुन् ।
बिहीबारदेखि नै विरोध शुरु गरेका उनीहरूले कंचनपुरको बेदकोट नगरपालिकाले ट्रक, टिपरमा ती गाईहरू पठाएर गोदावरीको भ्यागुते भन्ने स्थानमा फालेको र गाईलाई विष सेवन गराएर मारेको आरोप लगाउँदै गाई मार्नेलाई पक्राउ गरी कारबाहीको माग गर्दै आईतबार सुदूरपश्चिम बन्द गरेका थिए ।
बन्दले कैलालीको धनगढी, टीकापुर, भजनी, सुखड, चौमाला, अत्तरिया लगायतका बजार ठप्प थिए भने सुदूरपश्चिमका अन्य जिल्लामा पनि बन्दको असर परेको छ । बन्दका कारण बजार, शिक्षण संस्था, यातायातका साधनमा बढी प्रभाव परेको छ । आइतबार लामो दुरीको यात्रा गर्ने यात्रुहरू बीचबाटैमा अल्पत्र थिए ।
गाईले दूध दिदासम्म पाल्ने र थाकेपछि वा बुढो भएपछि सडकमा छाडने गर्दा कैलाली, कंचनपुरका सबैजसो नगरपालिकामा खुला पशु चौपायाको समस्या बढ्दै गएको छ । स्थानीयहरूले गाईले दूध दिनेबेलासम्म घरमा पाल्ने र दिन छोडेपछि खुल्ला सडकमा छोड्ने गरेका कारण स्थानीय निकायलाई व्यवस्थापन गर्नमा चुनौती भएको धनगढी उपमहानगरपालिकाका सामुदायिक विकास शाखा अधिकृत टंक विष्टले बताए । नेपालको संविधानले गाईलाई खुल्ला छोड्न पनि रोक लगाएको जिल्ला अदालत कैलालीका श्रेष्तेदार जगदिश भट्टले बताए । उनले भने, ‘कुनै पनि गाईलाई कसैले पनि खुल्ला छोड्न पाईदैन् र मारेमा कारबाहीकै व्यवस्था गरेको छ तर, मानिसहरूले दूध नदिने गाईलाई खुल्ला छोड्दा समस्या उत्पन्न भएको हो ।’
खुल्ला पशु चौपाया सडकमा छोड्नाले स्थानीय निकायहरूलाई व्यवस्थापनमा चुनौती थपिएपछि कैलाली र कञ्चनपुरका केही नगरपालिकाले छाडा पशु चौपायाहरूलाई जंगलको बिच क्षेत्रमा लगेर छोड्ने गरेका थिए । वेदकोट नगरपालिका, अत्तरिया नगरपालिका, धनगढी उपमहानगरपालिका लगायत अधिकांश नगरपालिका/उपमहानगरपालिकाहरूले छाडा पशु चौपायाहरूलाई जंगल क्षेत्रमा छोडेका छन् । बजारमा भएका पशुलाई व्यवस्थापन गर्न पुग्दो कान्जी हाउस नहुनु, कान्जी हाउसमा थुनिएका गाईहरूलाई पशु मालिक लिन नआउदा नगरपालिकाहरूलाई समस्या हुने गरेको छ ।
छाडा यी पशुहरूले सवारी साधन सञ्चालनमा कठिनाइ ल्याउनुका साथै दुर्घटनाको जोखिम पनि बढाएको कतिपयको गुनासो छ । ‘दूध दिनसम्म गाईलाई घरमै स्याहार सुसार गरेर राख्छन्’ धनगढीका स्थानीय अशोक कुँवरले भने ‘दूध दिन छोडेपछि खुल्ला छोड्दा सडकमा दुर्घटनाको जोखिम छ ।’ अधिकारकर्मी सुमित्रा भट्टराईले खान नपाएर हाडछाला मात्रका गाईले नगर परिक्रमा गर्दा हिन्दुत्व हराएको भनेर आफ्नो फेसबुक स्टाटसमा उल्लेख गरेकी छिन् । उनले गाई मृत अवस्थामा फेला पर्नु दु:खद् भएको र गाई मारिएका हुन भन्ने प्रमाण नभएकाले अहिले विरोध गर्नु उचित नभएको उल्लेख गरेकी छिन् ।
जिल्ला पशु सेवा कार्यालय कैलालीले गाई मर्नुको कारण काठमाडौं पठाएको नमुनाको रिपोर्ट आएपछि मात्रै पत्ता लाग्ने बताएको छ ।

राजनीतिक मुद्दा नबनाऔं: प्रजिअ
कैलाली प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले गोदावरीमा गाई मृत अवस्थामा फेला पर्नु कुनै धर्मावलम्बीको संलग्नतामा नभएको र घटनाको सत्यतथ्यका लागि छानविन भइरहेकाले यसलाई राजनीतिक मुद्दा नबनाउन आग्रह गरेका छन् ।
आइतबार अनुमोदनसंग कुरा गर्दै प्रजिअ रिजालले जिल्ला प्रहरी कार्यालय कैलालीले गोदावरीमा ट्रक, टिपरमा लोड गरेर गाई लग्ने चार जना ड्राईभरलाई पक्राउ गरेको बताए । प्रहरीले चालकहरू पदम चन्द, भीमबहादुर बैज, सन्तोष कँुवर र कमलप्रसाद पाण्डेलाई सोधपुछका लागि पक्राउ गरेको छ । प्रहरी अनुसन्धान जारी रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार