३ जेष्ठ २०८१, बिहीबार

जथाभावी आश्वासन नदिनुस्– जिल्ला न्यायधीस



धनगढी । नेपार बार एसोसिएसनका स्थापना दिवसका अवसरमा बिहीबार कैलालीको धनगढीमा अन्तक्र्रिया कार्यक्रम भएको छ । कैलाली जिल्ला अदालत बार एकाइले ‘वर्तमान परिप्रेक्ष्यमा बारको भूमिका’ विषयक अन्तरक्रिया आयोजना गरेको थियो ।
कार्यक्रममा कैलाली जिल्ला अदालतका प्रमुख न्यायधीस धनसिंह महराले केही व्यक्तिका कारण कानुन व्यवसायी र कालो कोटप्रति व्यंय सुन्नुपरेको चर्चा गरे ।
जिल्ला न्यायधीस महराले भने– कोही कसैले पनि मुद्दाका पक्षहरूलाई जथाभावी आश्वासन दिने प्रवृत्ति समाप्त हुनु पर्छ । उनले कानुन व्यावसायी र अदालतका कर्मचारीको चरित्रको प्रभाव बार र अदालतमा पर्ने भएकोले मर्यादित बनाउन आग्रह गरे ।
‘बारका सदस्य र अदालतका कर्मचारीको इज्जतसंग अदालतको इज्जत पनि जोडिएको हुन्छ’ उनले जिल्ला अदालत परिसरमा ‘मुद्दा जिताइ दिने’ भनेर मोलमोलाइ गरिरहेका केही व्यक्तिलाई प्रवेश निषेध गरेको बताए ।
कार्यक्रममा अर्का न्यायधिश भूवनसिंह थापाले बार र वेञ्च दुवैको दायित्व पीडितलाई न्याय दिने, दिलाउने रहेकोप्रति सधैं गम्भीर हुनुपर्ने बताए ।
नेपाल बारका उपाध्यक्ष कुलानन्द उपाध्यायले संविधान र सङ्घीयता कार्यान्वयनमा बारको सहयोगी भूमिका रहने बताए ।
कार्यक्रममा कैलाली बारका अध्यक्ष प्रेम चन्दले संसारभरि भएका मानव अधिकार, विधिको शासन, लोकतन्त्र स्थापनाका आन्दोलनमा कानुन व्यावसायीको अहम् भूमिका रहेको चर्चा गरे ।
अध्यक्ष चन्दले संसद्मा ९० प्रतिशतको समर्थनमा जारी भएको नेपालको संविधान–२०७२ को आआफ्ना स्वार्थ अनुकूल व्याख्या गरेर राजनीतिक दलले सम्हाल्न नसक्ने अवस्था सिर्जना गरेकोले आवश्यक परे आन्दोलनका लागि तयार रहन कानुन व्यवसायीलाई आग्रह गरे ।
जिल्ला बारका सचिव हिमालयविक्रम विष्टले सञ्चालन गरेको कार्यक्रममा बारका पूर्व केन्द्रीय कार्यवाहक अध्यक्ष राजेन्द्र सावद, पूर्व केन्द्रीय उपाध्यक्ष ठक्रबहादुर मल्ल, राष्ट्रिय मानव अधिकार आयोगका अधिकृत पवन भट्ट, कैलाली बारका पूर्व अध्यक्ष वीरबहादुर जेठारा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार