११ श्रावण २०८१, शुक्रबार

सावित्राको सानदार गोल



काठमाडौं । सावित्रा भण्डारीले लोभलाग्दो गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टिमले शनिबार मलेसियालाई १–० ले पराजित गरेको छ ।
फिफा वरीयतामा २६ स्थान माथिको पाहुना टिमले त्यसअनुसार एन्फा कम्प्लेक्स, सातदोबाटोमा बलियो खेल प्रदर्शन गर्न सकेन । पूरा समय नेपाली टिम हावी रह्यो । मलेसियाले विरलै मात्र विपक्षी पेनाल्टी क्षेत्रमा बल पुर्‍याएको देखियो । नेपाली टिम मलेसियाकै पेनाल्टी क्षेत्र वरिपरि व्यस्त भए पनि सावित्राको एक गोलमै सीमित रह्यो ।
हीराकुमारी भुजेलले उपलब्ध गराएको बललाई पेनाल्टी क्षेत्रमा नियन्त्रण गर्दै सावित्राले २७ औं मिनेटमा गोलमा परिणत गरिन् । दुई वर्षयता राष्ट्रिय टिममा रहेकी उनको यो चौथो अन्तर्राष्ट्रिय गोल हो । यसअघि उनले साफ वुमेन्स च्याम्पियनसिप (सन् २०१४) मा एक र १२ औं दक्षिण एसियाली खेलकुद (साग/२०१६) मा दुई गोल गरेकी थिइन् ।
यसअघि २१ औं मिनेटमा शर्मिला थापाले ‘सिक्स यार्ड बक्स’ बाट प्रहार गरेको बल पोलमा लागेर फर्किएको थियो । सरु लिम्बूले ३६ औं मिनेटमा प्रहार गरेको बल पनि पोस्ट नजिकबाट बाहिरियो ।
दोस्रो हाफमा अनिता बस्नेत, सावित्रा र मञ्जलीकुमारी योञ्जनले प्रहार गरेको बलमा मलेसियाकी १७ वर्षीया गोलकिपर नुरुल अजुरिनले उत्कृष्ट बचाउ गरिन् । ‘उनले एकदम राम्रो खलिन्,’ नेपालका मुख्य प्रशिक्षक कुमार थापाले भने ।
नुरुलले पहिलोपल्ट गोलपोस्ट सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरेको मलेसियाका प्रशिक्षक असिराफ अब्दुल्लाहले बताए । ‘नेपाली टिमले संगठित रूपमा राम्रो प्रदर्शन गर्‍यो । आक्रमणमा राम्रो देखियो । शारीरिक रूपमा पनि फिट,’ प्रतिद्वन्द्वीबारे उनले भने, ‘हाम्रा लागि धेरै राम्रो अनुभव भयो । यसअघि थाई र भियतनामी टिमको मात्र सामना गरेका थियौं ।’ मौसमले पनि खेलमा प्रभाव पारेको उनले दाबी गरे ।
६ खेलाडीको डेब्यू
चौथो साफ वुमेन्स च्याम्पियनसिप तयारीमा रहेको नेपाली टिमका लागि मलेसियासँगको मैत्रीपूर्ण खेललाई मुख्य प्रशिक्षक थापाले परीक्षणका रूपमा लिएका थिए । उनले नयाँ सातमध्ये ६ खेलाडीलाई अन्तर्राष्ट्रिय फुटबलमा ‘डेब्यू’ गराए ।
डिफेन्डर गीता राना, मिडफिल्डर मञ्जलीकुमारी योञ्जन र फरवार्ड शर्मिला थापाले पहिलो रोजाइमै खेले । १६ वर्षीया गोलकिपर अञ्जना रानामगर, फरवार्डद्वय सरु लिम्बू र निर्मला विकले दोस्रो हाफमा प्रवेश पाए । मैत्रीपूर्ण खेलमा अधिकतम ६ खेलाडी परिवर्तन गर्न पाउने प्रावधान प्रशिक्षक थापाले पूरा उपयोग गरेका थिए ।
‘नयाँ खेलाडीको प्रदर्शन सन्तोषजनक रह्यो,’ थापाले भने, ‘अनुभवका लागि धेरै खेलाडीलाई ट्रायल गर्न पाएकामा खुसी छु । तर, गोल अन्तरमा भने सन्तुष्ट छैन, अझै बढी हुनुपर्ने थियो । गोल गर्ने धेरै अवसर उपयोग गर्न सकेनौं ।’ प्रतिद्वन्द्वीबारे उनले भने, ‘मलेसिया त्यति बलियो भएन । वरीयतामा माथि भए पनि उसका खेलाडी खासै देखिएनन् । शारीरिक रूपमा पनि हाम्रै वर्चस्व रह्यो ।’ मिडफिल्ड र फरवार्ड तथा गोलकिपर र डिफेन्सबीच ‘ग्याप’ देखिएको र त्यसलाई सुधार गर्नुपर्ने पनि उनको भनाइ थियो ।
दक्षिण एसियाली खेलकुद (साग) मा दुई र साफ च्याम्पियनसिपको लगातार तीनपल्ट उपविजेता नेपाली टिमले घरेलु मैदानमा पहिलोपल्ट खेल्ने अवसर पाएको हो ।
यसअघि पहिलो पाइला (एसियन कप/१९८६) देखि नै नेपाली महिला टिमले देश बाहिर मात्र खेलेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार