३१ भाद्र २०८१, सोमबार

धनगढीका युवा अरुण पनेरुको रोमाञ्चक कैलाशमानसरोवर यात्रा (केही तस्बिर सहित)




मानसरोवर, कैलास पर्वत सानैदेखि सुन्दै आएको हो । सो क्षेत्रमा धर्मी (धर्म गर्न सक्ने ) मात्र जान सक्ने विश्वास सुन्दै आएको हो । धार्मिकग्रन्थ, घर परिवारमा मानसरोवरबाट बारे चल्ने चर्चाले मलाई त्यहाँ जाने प्रेरणा मिलेको हो ।

शिव भगवानका क्रियाक्लाप सुन्दा उहाँ साँच्चैको हिरो हो भन्ने लाग्दै आएको छ । मानसरोवर, कैलास पर्वत जाने मेरो सानैदेखिको सपना नै हो । केही वर्षदेखि म धर्मकर्ममा धेरै समर्पित छु । यसक्रममा नेपाल र भारतका प्रसिद्ध धार्मिकस्थल धेरै घुमे ।

यसपटक भने मानसरोवर, कैलास पर्वत क्षेत्र जाने संयोग मिल्यो । कैलास पर्वतको यात्रामा फेरि पनि आउला तर यो पटकको जस्तो विशिष्ट अवस्था फेरि नआउन सक्छ किनकी यो पटक श्रावण शुक्ल पूर्णिमाको अन्तिम सोमबार जस्तो पावन दिन संयोगले परेको थियो । यस्तो पावन दिन फेरि पर्ला नपर्ला । अनि यस्तो अवस्थामा कैलाशको चरणमा जप र ध्यान गर्न पाउनु कम्ति सौभाग्यको कुरा होइन ।

कैलाश यात्राका लागि कोरोला नाका पुँगे । केरुङमा इमिग्रेसनको काम सकेपछि तेस्रो दिन सागाको बसाई भयो । त्यहाँ पुग्दा धेरै उचाइले गर्दा अक्सिजन लिनु पर्यो । संगै रहेका केही वान्ता भएर थला परे र राती अस्पताल नै लैजानु पर्ने अवस्था आयो ।

चौथो दिन मानसरोवरमै बास भयो । अर्को दिन बिहान पख पूजा, हवन, लाखबत्ती बाल्ने कार्यक्रम सकेर दार्चेनमा बास भयो ।
पाचौं दिन दार्चेनबाट यमद्वारसम्म गाडीले छोडीदिएपछि पैदाल यात्रा सुरु भयो र डेरापुकमा बास बसियो । यहाँ बस्ने होटलबाट सामने कैलास पर्वत दर्शन हुने रहेछ । हामी पुग्ने बित्तिकै चरणस्पर्शको लागि हिडौ अनि कैलाशको चरण समिप बसेर जप ध्यान गर्दै जान अन्जान भएका गल्तीको माफी माग्दै होटलतिर फर्कियौ ।

“म स्वयं पाकी” भएकोले खाना बनाएर खान लगभग असम्भव नै भए पनि आजका मितिसम्म तीन छाक खिचडी बनाएर खाने अवसर जुट्यो । बाकीका दिनमा सलाद, ड्राईफ्रुट आदिको साहारामा यात्रा गरियो ।

जम्मा ५२ किलोमिटर पैदल यात्रा गरेर कैलास परिक्रमा पूरा हुन्छ । पहिलो दिन १२ किमी हिडिसकेको छु । आज बिहानै फेरि २२ किमीको यात्रा शुरु भएको छ । भोली सात किमीको पैदलयात्रापछि गाडी चढेर कोरला नाका हुँदै नेपाल फर्किने क्रम सुरु हुन्छ ।

सोमबार, मङ्गलबार र बिहिबार, एकादशीको व्रत यात्राको क्रममा परे तापनि आजका उच्चो भूभागका कारण केही कमजोर भए पनि सकसका साथ पैदल यात्रा गरिरहेको छु त्यसका लागि कैलासपतिप्रति नतमस्तक छु ।

यात्रालाई सहज बनाउन तातोपानी पनि आफै तताउनु पर्ने भएकोले १.५ लिटरको थर्मससङ्गै लिएर हिडेको भएता पनि कैलास पर्वतबाट आफ्नै समिपमा बगिरहेको जल देखेर मन थाम्न नसकी तातो पानी बगाएर पखालपुखुल गरेर कैलासको जल भरेको छु ।

पैदलयात्राको क्रममा ब्रतमा खान मिल्ने भनि आमाले जिरा,खुर्सानी हाली सुद्धताका साथ पिसेको सिधा नुन दार्चेन (पैदल यात्रा अघि बसेको ठाउँ) मै छुटेकोले डेरापुकमा बनाएको खिचडी विना नुन खानु परेको छ ।

कैलासपतिको चरण समिपमै बसि जप ध्यान गर्ने मौका सौभाग्य मिलेको छ । यात्राको क्रममा आफ्नो दैनिकी तीन घण्टा भन्दा बढी गरिने नित्यकर्म नि यथावत राख्न सकेको छु । नित्यकर्म र भ्रमण तालिका मिलाउने क्रममा बढीमा तीन घण्टा मात्रै सुताई भएको भए पनि कुनै शारिरिक कमजोरी छैन ।

यात्राको क्रममा यता शौचालय नहुने, भएको अवस्थामा नि एकदम अव्यवस्थित हुने, पानीको त हुँदै नहुने गरेकोले भएको शौलायल छोडेर बाहिर चौरमा शौच गर्न जानू पर्ने भएकोले शौचारमा बसेकालाई त गाह्रो हुने नै भयो । यस्ता कुराले सामान्य जीवन शैलीमा रहेकालाई केही कष्ट हुनु स्वभाविक हो ।

यात्रा दुःख छ तर रोमाञ्चकता कम छैन जसको म वर्णन गर्न सक्दैन । दोक्लाममा द्धन्द्धपछि भारतियहरुलाई कैलाशमानसरोवरमा प्रवेश दिइएको छैन । त्यसैले अहिले यात्रामा धेरै नेपाली छौ । एउटा पनि भारतिय भेटिदैनन् ।। सबैसित घरयासी सम्वन्ध भएको छ । “म स्वयं पाकी” भएकोले सबै नेपालीले मलाई फलफुल लगायतका कुरा खान दिएको दिएै छन्।

( यो विवरण कैलासपर्वतमा रहेका पनेरुले पठाएको जानकारीमा आधारित यात्रा अनुभव हो । )

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार