धनगढीको गोलमार्केटमा २० रुपैयाँमै खाना

धनगढीमा बुधबारदेखि २० रुपैयाँमा खाना पाइन शुरु गरेको छ । ऋषिकेश पीठ धर्म संरक्षण सम्बद्र्धन समिति पटेलाले धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि गोलमार्केटमा २० रूपैयाँमा खाना खुवाउने सुरुवात गरेको हो ।
महाशिवरात्रिको अवसरमा बुधबार श्री १००८ महामण्डलेश्वर स्वामी राहुलेश्वरानन्द गिरी महाराजले एक कार्यक्रमकाबीच उद्घाटन गरेका छन् ।
उक्त स्थानमा हरेक दिन बिहान १०ः३० बजेदेखि दिउँसो १२ः३० बजेसम्म र बेलुकी साँझ ५ः०० बजेदेखि ७ः०० बजेसम्म खाना पाइने आयोजक समिति ऋषिकेश पीठ धर्म संंरक्षण सम्वद्र्धन समितिका सदस्य जीवराज पण्डितले बताए ।
पैसाको अभावमा कसैले पनि भोकै बस्नु नपरोस् भन्ने उद्देश्यले २० रुपैयाँमा खाना खुवाउने कार्यक्रम अघि बढाइएको उनले बताए । विषेशगरी लक्षित वर्ग र विद्यार्थीका लागि सो अभियान शुरु गरेका हौं, उनले भने खान चाहने सो सुकैले पनि खान सक्छन् । उनले २० रुपैयाँमा स्वच्छ, सफा खाना खान पाइने समेत बताए ।
बसपार्क पछाडि गोलमार्केटबाट शुरू भएको उक्त खाना खुवाउने कार्यक्रम आगामी दिनमा धनगढीको अस्पताल लाइन र क्याम्पस रोडमा बिस्तार गरिने उनले बताए ।




