नेपालीले बनाएको एआई टुल, विदेशी बजारमा पनि प्रयोग
नेपालीले बनाएको एआई टुल, विदेशी बजारमा पनि प्रयोग
काठमाडौं/ नेपाली प्रविधि उद्यमीले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि अब विदेशी बजारमा समेत प्रयोग गर्ने लक्ष्यसहित फिक्रा भेन्चर्सले एकीकृत मार्केटिङ प्लेटफर्म विकास गरेको छ । प्लेटफर्ममार्फत भिडियो निर्माणदेखि सामाजिक सञ्जाल व्यवस्थापन, डिजिटल विज्ञापन सञ्चालन तथा उपभोक्ताको प्रतिक्रिया विश्लेषणसम्मका काम एउटै प्रणालीबाट गर्न सकिने कम्पनीले जनाएको छ ।
फिक्रा भेन्चर्सका अनुसार प्लेटफर्मले व्यवसायलाई मार्केटिङ सामग्री तयार गर्ने, सामाजिक सञ्जालमा प्रकाशन गर्ने, विज्ञापन सञ्चालन गर्ने, त्यसको प्रभाव मापन गर्ने र उपभोक्ताबाट प्राप्त प्रतिक्रियाका आधारमा थप सामग्री तयार गर्ने सुविधा दिनेछ । विशेषगरी साना तथा मझौला व्यवसायलाई लक्षित गरेर प्लेटफर्म विकास गरिएको हो ।
विचारबाट व्यावसायिक भिडियोसम्म
कम्पनीले विकास गरेको एआई भिडियो निर्माण प्लेटफर्म ‘फिक्राजेन’ ले सामान्य अवधारणाबाट व्यावसायिक भिडियो तयार गर्न सहयोग गर्नेछ । प्रयोगकर्ताले आवश्यक स्क्रिप्ट र भ्वाइसओभर स्वीकृत गरेपछि एआईको सहयोगमा भिडियो निर्माण गर्न सकिने कम्पनीको भनाइ छ ।
परम्परागत टेम्प्लेटमा आधारित भिडियो निर्माण प्रणालीभन्दा फरक रूपमा आफ्नै एआई इन्जिन प्रयोग गरी प्रत्येक भिडियोका लागि आवश्यक डिजाइन र एनिमेसन स्वचालित रूपमा तयार गर्ने प्रविधि विकास गरिएको कम्पनीले जनाएको छ ।
फिक्राजेनमा ब्रान्ड किट, बहुभाषिक भ्वाइसओभर, व्यक्तिगत आवाजको क्लोनिङ, वेबसाइट क्याप्चर, क्याप्सन, विभिन्न स्क्रिन आकारअनुसार भिडियो निर्माण, दृश्यस्तरको सम्पादन तथा आंशिक पुनःनिर्माणलगायत सुविधा समावेश छन् । विज्ञापन, सफ्टवेयर सार्वजनिक गर्ने, उत्पादन प्रदर्शन तथा स्टोरीबोर्ड निर्माणका लागि समेत छुट्टाछुट्टै कार्यप्रवाह विकास गरिएको छ ।
सामाजिक सञ्जालदेखि विज्ञापनसम्म
फिक्रा भेन्चर्सको अर्को उत्पादन ‘फिक्रासोसल’ ले विभिन्न सामाजिक सञ्जालका अकाउन्ट जोडेर सामग्री प्रकाशन तथा समय निर्धारण गर्न सकिने सुविधा दिनेछ । यसले कमेन्ट, सन्देश तथा अन्य प्रतिक्रियाको विश्लेषणसमेत गर्ने कम्पनीले जनाएको छ ।
एआईको प्रयोगबाट दर्शकको भावना, उद्देश्य तथा बारम्बार दोहोरिने विषय पहिचान गर्न सकिने भएकाले व्यवसायलाई आफ्ना ग्राहकको रुचि बुझ्न सहज हुने कम्पनीको विश्वास छ ।
डिजिटल विज्ञापनतर्फ लक्षित ग्राहकसम्म विज्ञापन पुर्याउने, विज्ञापनबाट आएका ग्राहक तथा बिक्रीको मापन गर्ने, लगानीअनुसारको प्रतिफल विश्लेषण गर्ने र विभिन्न विज्ञापन सामग्रीको तुलनात्मक परीक्षण गर्न सकिने सुविधा विकास भइरहेको कम्पनीले जनाएको छ । प्रभावकारी विज्ञापन सामग्रीलाई थप सुधार गर्दै कार्यसम्पादनसम्बन्धी विस्तृत प्रतिवेदनसमेत उपलब्ध गराउने योजना छ ।
प्रकाशित सामग्रीबाट प्राप्त प्रतिक्रियालाई अर्को भिडियो निर्माणको आधार बनाउन सकिने भएकाले फिक्रा भेन्चर्सले आफ्नो प्रणालीलाई ‘क्लोज्ड लुप’ अर्थात् निरन्तर सुधारको प्रक्रियामा आधारित बनाएको जनाएको छ ।
नेपाली प्रविधि, विश्व बजारको लक्ष्य
नेपालमा विकास भएको एआई प्रविधिलाई नेपाली बजारमा मात्र सीमित नराखी अन्तर्राष्ट्रिय बजारमा पुर्याउने लक्ष्य फिक्रा भेन्चर्सले लिएको छ । कम्पनीले अंग्रेजीबाहेक अरबीसहित प्रमुख अन्तर्राष्ट्रिय भाषामा सामग्री निर्माण र भ्वाइसओभरको सुविधा विस्तार गर्ने योजना बनाएको जनाएको छ ।
कम्पनीका अनुसार फिक्रा केवल एआईको प्रयोगबाट भिडियो बनाउने उपकरण मात्र होइन । भिडियोको प्रभाव मापन गर्ने, उपभोक्ताको प्रतिक्रिया बुझ्ने र सोही आधारमा अझ प्रभावकारी सामग्री तयार गर्ने निरन्तर प्रक्रियालाई एउटै प्रणालीमा जोड्ने यसको मुख्य अवधारणा हो ।
सिर्जनात्मक सोचबाट सामग्री निर्माण, प्रकाशन, विज्ञापन, उपभोक्ता प्रतिक्रिया र व्यावसायिक परिणामको मापनसम्मको सम्पूर्ण प्रक्रियालाई एउटै अकाउन्ट र कार्यप्रवाहमा जोडेर नेपालमा विकास भएको प्रविधिलाई विश्व बजारमा पुर्याउने लक्ष्य कम्पनीले लिएको छ ।




