चीनका भौगर्भिक गतिविधिको सूचना अब नेपालले समयमै पाउने
काठमाडौ/ नेपालले चीनमा हुने भौगोलिक तथा भौगर्भिक गतिविधिसम्बन्धी सूचना अब प्रत्यक्ष रूपमा प्राप्त गर्ने भएको छ। प्राकृतिक विपद्को पूर्वसूचना, जोखिम आकलन तथा विपद् व्यवस्थापनमा सहकार्य गर्ने विषयमा नेपाल र चीनबीच शुक्रबार भएको सम्झौतापछि यस्तो व्यवस्था सुनिश्चित भएको हो।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री महावीर पुन र नेपालका लागि चिनियाँ राजदूत चाओ माओमिङले सम्झौतापत्रमा हस्ताक्षर गरे।
सम्झौताअनुसार चीनमा हुने भूकम्प, पहिरो, बाढीलगायत सम्भावित भौगोलिक तथा भौगर्भिक गतिविधिबारे नेपालले समयमै सूचना प्राप्त गर्न सक्नेछ। यसबाट विशेषगरी चीनसँग सीमा जोडिएको नेपालको उत्तरी क्षेत्रमा प्राकृतिक विपद्को जोखिम पहिचान, पूर्वतयारी तथा उद्धार व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
मन्त्री पुनले सूचना आदानप्रदानको व्यवस्था भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि मात्र नभई नेपालको उत्तरी भूभागमा विपद् जोखिम न्यूनीकरणका लागि दीर्घकालीन रूपमा महत्वपूर्ण हुने बताए । सम्भावित जोखिमबारे समयमै जानकारी प्राप्त भएमा त्यसका आधारमा सुरक्षा, उद्धार तथा अन्य आवश्यक योजना बनाउन सहज हुने उनको भनाइ थियो।
भोटेकोशी बाढीबाट नेपालसँगै चीन पनि प्रभावित भएको उल्लेख गर्दै राजदूत माओमिङले बाढीपछिको पुनर्निर्माणमा चीनले सहयोगलाई निरन्तरता दिने बताए। उनले प्रभावित तथा घरबारविहीन परिवारका लागि आवास निर्माणमा समेत सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।
यसैबीच चीनले नेपाललाई करिब १४ करोड रुपियाँ बराबरका उद्धार सामग्री तथा उपकरण हस्तान्तरण गरेको छ। भोटेकोशी बाढीपछि उद्धारका लागि नेपाल आएको चिनियाँ टोलीले ती सामग्री नेपाल ल्याएको मन्त्रालयले जनाएको छ।
मन्त्री पुनका अनुसार चिनियाँ सेनाका छ वटा कार्गो विमानमार्फत ड्रोन, पाल, अत्यावश्यक सामग्री, डीएनए परीक्षण किट तथा शव व्यवस्थापनका लागि प्रयोग हुने फ्रिजलगायत उपकरण नेपाल ल्याइएको थियो।
चीन सरकारबाट दुई लाख अमेरिकी डलर नगद, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २० लाख अमेरिकी डलर तथा रेडक्रसमार्फत दुई लाख अमेरिकी डलर बराबरका सामग्री सहयोग प्राप्त भएको जानकारी पनि मन्त्री पुनले दिए।
कार्यक्रममा मन्त्री पुनले उद्धार कार्यमा खटिएका नौ जना चिनियाँ उद्धारकर्मीलाई खादा लगाएर सम्मान गरे। उनले विपद्का समयमा चीनबाट प्राप्त सहयोगका लागि धन्यवाद दिँदै विपद् व्यवस्थापन, पूर्वसूचना प्रणाली र पुनर्निर्माणका क्षेत्रमा आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने बताए।





