११ पुष २०८१, बिहीबार

निष्काशन गरिएका सञ्चारकर्मीको पुनर्बहालीका लागि धर्ना



काठमाडौं । रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र, दीपायलबाट केही साता अघि अकारण निष्काशन गरिएका तीन जना सञ्चारकर्मीको पुनर्बहालीको माग गर्दै आइतबार सिंहदरबार परिसरमा धर्ना भएको छ ।
नेपाल पत्रकार महासंघको नेतृत्वमा सञ्चारकर्मीको पुनर्बहालीको माग दोहोराउदै आइतबार सिंहदरबार परिसरमा धर्ना दिएयो ।
रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र, दीपायलमा लामो समयदेखि कार्यरत पत्रकारहरू सुनिता रावल, प्रकाश बम र चक्र कुँवरलाई एक महिनाअघि रेडियो नेपाल व्यवस्थापनले निकालेको थियो ।
निष्काशित पत्रकारहरूको पुनर्बहालीको माग गर्दै नेपाल पत्रकार महासंघले आन्दोलन गर्दै आएको छ । केही दिनअघि सिंहदरबारभित्र रेडियो नेपाल परिसरमा धर्ना बसेका नेपाल पत्रकार महासंघ तथा नेपाल प्रेस युनियनका पदाधिकारी तथा सञ्चारकर्मीहरूलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
आइतबारको धर्ना कार्यक्रममा महासंघ उपाध्यक्ष विपुल पोख्रेलले सरकारले राजनीतिक आस्थाका आधारमा श्रमजीवी पत्रकारहरूलाई निष्काशन गरेकोले पनुर्बहाली नहुन्जेल आन्दोलन नरोकिने बताए ।
सो अवसरमा महासंघका केन्द्रीय सदस्य जन्मदेव जैशीले छिट्टै आन्दोलनका अन्य कार्यक्रम घोषणा हुने बताए ।
धर्नामा महासंघका महासचिव रमेश बिष्ट, सचिव रामप्रसाद दाहाल, प्रेस युनियनका उपाध्यक्ष बाला अधिकारी, मधेसी पत्रकार मन्चका मोहन सिंहं, नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्ताराम बिडारी, महासंघको रेडियो नेपाल शाखाका अध्यक्ष दुर्गा फुयाल लगायतको उृपस्थिति रहेको थियो ।
रेडियो नेपाल व्यवस्थापनले दीपायल प्रसारण केन्द्रमा कार्यरत तीन जना सञ्चारकर्मीलाई निष्काशन गरेपछि महासंघको नेतृत्वमा देशभरी नै धर्ना सहितका विरोधका कार्यक्रम जारी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार