३ आश्विन २०८१, बिहीबार

डिपिएल क्रिकेट : रूपन्देहीको अपराजित यात्रा जारी, कञ्चनपुरको सहज जीत




धनगढी ।  
आफ्नो विजय यात्रालाई जारी राख्दै रूपन्देही च्यालेन्जर्सले आइतबार बिराटनगर किङ्सलाई ६१ रनको ठुलो रन अन्तरले पराजित गरेको छ । धनगढीमा सञ्चालन भइरहेको सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिग (डीपीएल) को आइतबारको खेल जित्दै रूपन्देहीले अंकतालिकामा शीर्ष स्थान पनि कायम राखेको छ । यो रूपन्देहीको लगातार चौथो जीत हो ।
सेती अञ्चल प्रहरी कार्यालयको खेल मैदानमा रूपन्देही च्यालेन्जर्सले टस जितेर ब्याटिङ गर्ने निर्णय गर्‍यो । र, अन्तिम थापाको ४५, कृष्ण कार्कीको २२, पुष्प थापाको १७ र हरिशंकर शाहको १४ रन योगदानबाट २० ओभरमा एक सय ३२ रन बनायो ।
बिराटनगरका लागि सुशील कँडेलले दुई विकेट लिए । पवन सर्राफ, किशोर महतो, सन्दीप लामिछाने र कप्तान शरद भेषवाकरको खातामा एक/एक विकेट रह्यो ।
प्रतिउत्तरमा विराटनगर किङ्स १९ औँ ओभरमा ७१ रनमा नै अलआउट भयो । विराटनगरका खेलाडीहरू रूपन्देहीका बलरको घातक बलिङको सामना गर्न नसकी एकपछि अर्को गर्दै छिटोछिटो पवेलियन फर्किए । खेलका म्यान अफ द म्याच साहेव आलमले चार ओभरमा चार विकेट लिएर बिराटनगरलाई तहसनहस पारे । त्यसका लागि उनले १९ रन मात्र खर्च गरे । त्यस्तै, दिपेश श्रेष्ठ र कृष्ण कार्कीले तीन/तीन विकेट झारे ।
आइतबार नै भएको अर्को खेलमा कञ्चनपुर आइकोनिकले सिवाइसी अत्तरियालाई हरायो । लिगमा दोस्रो जीत हासिल गर्ने क्रममा कञ्चनपुरले अत्तरियालाई ६ विकेटले पराजित गर्‍यो ।
पहिले ब्याटिङ गरेको सिवाइसी अत्तरिया ८६ रनको सानो स्कोर मात्रै बनाउन सक्यो । ८७ रनको विजय लक्ष्य कञ्चनपुरले १० ओभरमा चार विकेट क्षतिमा पुरा गर्‍यो ।
कञ्चनपुरका बलरहरू सामु राम्ररी खेल्न नसकेका सिवाइसी अत्तरियाका ब्याट्सम्यानहरू प्रदीप ऐरी (१९ रन) र ज्ञानेन्द्र कँुवर (१५ रन) ले मात्र केही बेर धैर्यपूवर्क खेलेका थिए । अत्तरियालाई सानो रनस्कोरमा रोक्न अहम् भूमिका निर्वाह गरेका कञ्चनपुरका अविनाश कर्ण र सुनिल धमलाले तीन/तीन विकेट चट्काए ।
कञ्चनपुरलाई सहज जीत दिलाउने क्रममा विनोद भण्डारीले १६, सागर पुनले २२, सुनिल धमला २८ र हसिम अन्सारीले २२ रन बनाए ।
प्रतियोगिताको आज (सोमबार) लिग चरणको अन्तिम खेल हुँदैछ । आज टिम चौराह धनगढी र रूपन्देही च्यालेन्जर्सबीच खेल हुने छ ।
प्लेअफ समिकरण
सगरमाथा सिमेन्ट धनगढी प्रिमियर लिगको आज (सोमबार) हुने खेलले प्लेअफको टुङ्गो लगाउने भएको छ । अङ्क तालिकामा रूपन्देही च्यालेन्सर्ज शीर्ष स्थानमा छ । त्यस्तै, विराटनगर किङ्स पनि दोस्रो स्थानमा रहँदै प्लेअफ चरणमा पुगिसकेको छ ।
लिगमा सहभागीमध्ये काठमाडौँ गोल्डेन्स, कञ्चनपुर आइकोनिक र सिवाइसी अत्तरियाको समान चार अङ्क रहेको छ । तर, रनरेटका आधारमा काठमाडौँ तेस्रो र कञ्चनपुर चौथो स्थानमा रहेका छन् । रनरेटका आधारमा अत्तरिया पाँचौ स्थानमा छ । भने टिम चौराह धनगढी दुई अङ्कका साथ अंकतालिकाको पुछारमा रहेको छ ।
आज (सोमबार) हुने लिगको अन्तिम खेलमा यदि धनगढीले जितेमा उसको पनि चार अङ्क हुने छ । त्यसपछि नेट रनरेटले प्लेअफमा को टिम पुग्ने भन्ने टुंगो लगाउने छ । यदि आजको खेलमा धनगढी रूपन्देहीसंग हारेमा काठमाडौँ र कञ्चनपुर प्लेअफ चरणमा स्थान पाउने छन् ।
अङ्क तालिका

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार