सिमुलेसन र नवप्रवर्तनमार्फत नेपालको स्वास्थ्य शिक्षा सुधारमा जोड
काठमाडौ/ स्वास्थ्य शिक्षा, चिकित्सा अभ्यास र प्रविधिबीचको सहकार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यले काठमाडौँमा अन्तर्राष्ट्रिय स्वास्थ्य शिक्षा सम्मेलन आयोजना हुने भएको छ। आगामी अक्टोबर ७ देखि ९ तारिखसम्म हुने सम्मेलनमा स्वास्थ्यकर्मी, स्वास्थ्य शिक्षा विज्ञ, चिकित्सक, इन्जिनियर, अनुसन्धानकर्ता, विद्यार्थी, नीति निर्माता तथा अन्तर्राष्ट्रिय साझेदारको सहभागिता रहनेछ।
सम्मेलनको मुख्य विषय ‘सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यमार्फत स्वास्थ्य शिक्षा तथा बिरामी सेवाको भविष्य निर्माण’ रहेको छ। स्वास्थ्य शिक्षालाई व्यावहारिक, प्रविधिमैत्री र स्थानीय आवश्यकताअनुकूल बनाउने विषयमा सम्मेलनमा व्यापक छलफल हुने आयोजकले जनाएको छ।
सम्मेलनलाई छुट्टाछुट्टै व्याख्यानको शृंखलाका रूपमा नभई अन्तर्राष्ट्रिय अनुभवबाट सिक्दै स्थानीय क्षमता विकास, सहकार्यमा नवप्रवर्तन र राष्ट्रियस्तरमा कार्यान्वयन गर्ने क्रमिक यात्राका रूपमा अघि बढाइनेछ। कार्यक्रममा पहिलो चरणमा विश्वका विभिन्न मुलुकका अनुभवबाट सिक्ने, त्यसपछि नेपालको सिमुलेसन शिक्षाको अवस्थाबारे समीक्षा गर्ने, चिकित्सा र इन्जिनियरिङ क्षेत्रलाई जोडेर नयाँ समाधान खोज्ने र अन्ततः राष्ट्रिय कार्यदिशा निर्माण गर्ने योजना छ।
आयोजकका अनुसार अन्तर्राष्ट्रिय अनुभवको वास्तविक उपयोग त्यतिबेला मात्र हुन्छ, जतिबेला त्यसले स्थानीय नेतृत्वमा आधारित स्वास्थ्य प्रणालीलाई बलियो बनाउन सहयोग गर्छ। त्यसैले सम्मेलनमा विदेशमा विकसित अभ्यासलाई जस्ताको तस्तै अनुकरण गर्नेभन्दा नेपालको स्वास्थ्य सेवा, शैक्षिक आवश्यकता, उपलब्ध स्रोतसाधन र संस्थागत क्षमतासँग जोडेर प्रयोग गर्ने विषयमा जोड दिइनेछ।
सिमुलेसन शिक्षालाई व्यवस्थित बनाउने बहस
सम्मेलनको महत्वपूर्ण विषय नेपालमा सिमुलेसन शिक्षाको वर्तमान अवस्था र यसको विस्तार हुनेछ। विभिन्न स्वास्थ्य संस्थामा भइरहेको अभ्यास, स्नातकोत्तर तहको तालिम तथा देशका विभिन्न भौगोलिक क्षेत्रमा सिमुलेसन शिक्षाको पहुँचबारे छलफल गरिनेछ।
पाठ्यक्रममा सिमुलेसनलाई कसरी समावेश गर्ने, शिक्षक तथा प्रशिक्षकको क्षमता कसरी बढाउने, गुणस्तर र मापदण्ड कसरी निर्धारण गर्ने तथा आवश्यक पूर्वाधार कसरी विकास गर्ने भन्ने विषयमा समेत बहस हुनेछ। काठमाडौं बाहिरका विद्यार्थी तथा स्वास्थ्यकर्मीले समेत समान अवसर पाउने गरी सिमुलेसन शिक्षा विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखिएको छ।
नेपाल सिमुलेसन शिक्षामा शून्य अवस्थाबाट अघि बढिरहेको नभई विभिन्न संस्थामा यससम्बन्धी ज्ञान, अनुभव र विशेषज्ञता विकास भइसकेको आयोजकको निष्कर्ष छ। ती छुट्टाछुट्टै क्षमतालाई एकआपसमा जोडेर राष्ट्रिय क्षमता निर्माण गर्ने विषयलाई सम्मेलनले विशेष महत्त्व दिनेछ।
स्वास्थ्य व्यवसायसम्बन्धी स्नातक तथा स्नातकोत्तर शिक्षामा सिमुलेसनलाई व्यवस्थित रूपमा समावेश गर्ने विषयमा समेत छलफल हुनेछ। प्रारम्भिक तहदेखि नै विद्यार्थीलाई प्रक्रियागत सीप, सञ्चार तथा टोलीमा काम गर्ने क्षमता विकास गराउने र उच्च तहमा जटिल चिकित्सकीय निर्णय, संकट व्यवस्थापन तथा व्यावहारिक अभ्यासमा सिमुलेसनको प्रयोग विस्तार गर्ने विषय सम्मेलनमा उठाइनेछ।
युवा विद्यार्थीलाई नवप्रवर्तनको केन्द्रमा
सम्मेलनले मेडिकल विद्यार्थी तथा युवा स्वास्थ्यकर्मीलाई समेत विशेष प्राथमिकता दिएको छ। विद्यार्थी अवस्थादेखि नै सिमुलेसन, अनुसन्धान र नवप्रवर्तनमा सहभागी गराउन सके भविष्यको स्वास्थ्य जनशक्ति अझ सक्षम बनाउन सकिने आयोजकको विश्वास छ।
विद्यार्थीलाई केवल सम्मेलनका सहभागीका रूपमा नभई प्रस्तोता, नवप्रवर्तक तथा नीति निर्माणसम्बन्धी बहसका योगदानकर्ताका रूपमा अघि सारिनेछ। स्वास्थ्य क्षेत्रमा देखिएका समस्या पहिचान गरी सम्भावित समाधानका अवधारणा विकास गर्ने र बहुविषयगत निर्णायक मण्डलसमक्ष प्रस्तुत गर्ने अवसर उनीहरूले पाउनेछन्।
कार्यक्रममा विद्यार्थी नवप्रवर्तन प्रदर्शनी तथा विभिन्न अवधारणामाथि प्रतिस्पर्धासमेत हुने जनाइएको छ। निर्णायक मण्डलमा इन्जिनियरिङ, चिकित्सा प्रविधि र स्वास्थ्य नवप्रवर्तन क्षेत्रका विज्ञ रहनेछन्।
आयोजकले नवप्रवर्तन ठूलो प्रयोगशाला वा महँगो प्रविधिबाट मात्र सुरु नहुने सन्देशसमेत दिन खोजेको छ। अस्पतालमा देखिएको सामान्य समस्या वा ‘यो काम यसरी नै किन गरिन्छरु’ भन्ने प्रश्नबाट समेत नयाँ समाधानको सुरुवात हुन सक्ने भएकाले विद्यार्थीमा समस्या पहिचान र समाधान खोज्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिइनेछ।
चिकित्सा र इन्जिनियरिङबीच सहकार्य
सम्मेलनको अर्को महत्वपूर्ण पक्ष चिकित्सा र इन्जिनियरिङ क्षेत्रबीच सहकार्य विस्तार गर्नु हो। चिकित्सक तथा स्वास्थ्यकर्मीले अस्पताल र समुदायमा स्वास्थ्यसम्बन्धी समस्या प्रत्यक्ष रूपमा पहिचान गर्ने भएकाले उनीहरूको अनुभवलाई इन्जिनियरको डिजाइन तथा प्रविधिसम्बन्धी सीपसँग जोड्न सके स्थानीय आवश्यकता अनुकूल सस्तो र व्यावहारिक स्वास्थ्य समाधान विकास गर्न सकिने आयोजकको विश्वास छ।
यसका लागि बहुविषयगत टोली निर्माण, स्वास्थ्यसम्बन्धी समस्या पहिचान, डिजाइन, परीक्षण र कार्यान्वयनसम्मको प्रक्रियालाई एउटै संरचनामा अघि बढाउने विषयमा छलफल हुनेछ। नेपालमा उपलब्ध स्रोतसाधन र स्थानीय आवश्यकतालाई ध्यानमा राखेर विकास गरिने स्वास्थ्य प्रविधिले स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारमा योगदान पुर्याउन सक्ने अपेक्षा गरिएको छ।
देशभर क्षमता विस्तार गर्ने योजना
सम्मेलनले सिमुलेसन शिक्षा र क्षमता विकासका लागि स्थापित संस्थालाई देशका अन्य क्षेत्रका संस्थासँग जोड्ने अवधारणासमेत अघि सारेको छ। सक्षम केन्द्रले तालिम, पाठ्यक्रम विकास, अनुसन्धान, गुणस्तर सुनिश्चितता र अन्तर्राष्ट्रिय सहकार्यमा स्रोत केन्द्रका रूपमा काम गर्ने तथा देशका विभिन्न क्षेत्रका संस्थाले स्थानीय आवश्यकता र परिस्थितिअनुसार त्यसलाई उपयोग गर्ने मोडल प्रस्ताव गरिएको छ।
यसबाट काठमाडौंमा मात्र सीमित सिमुलेसन शिक्षा देशका अन्य भूगोलमा समेत विस्तार गर्न सकिने र स्थानीय संस्थाको नेतृत्व तथा स्वामित्व कायम राख्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
राष्ट्रिय कार्यदिशा बनाउने तयारी
सम्मेलनको अन्तिम चरणमा सिमुलेसन शिक्षा तथा स्वास्थ्य नवप्रवर्तनलाई राष्ट्रिय प्राथमिकतासँग जोडेर कार्यान्वयन गर्ने विषयमा छलफल हुनेछ। शैक्षिक नेतृत्व, व्यावसायिक संगठन, नियामक निकाय, सरकारी प्रतिनिधि तथा अन्य संस्थागत सरोकारवालालाई एउटै मञ्चमा ल्याएर राष्ट्रिय कार्यदिशाका प्राथमिकता निर्धारण गर्ने तयारी छ।
पाठ्यक्रममा सिमुलेसनको एकीकरण, शिक्षक तथा प्रशिक्षक विकास, समान पहुँच, स्वास्थ्य नवप्रवर्तन, चिकित्सा–इन्जिनियरिङ सहकार्य, मार्गदर्शन, अनुसन्धान र राष्ट्रिय क्षमता विकासलाई प्राथमिकतामा राखिनेछ। तयार हुने कार्यदिशालाई एकपटक तयार गरेर सकिने दस्तावेजभन्दा निरन्तर सुधार हुँदै जाने प्रक्रियाका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।
आयोजक संस्थाहरूले सन् २०३० सम्म हरेक वर्ष प्रगतिको समीक्षा गर्ने योजना पनि बनाएका छन्। त्यसक्रममा के उपलब्धि हासिल भयो, कुन क्षेत्रमा अझै कमी छ र आगामी प्राथमिकता के हुनुपर्छ भन्ने विषयमा नियमित समीक्षा गरिनेछ।
तीन दिनको सम्मेलनपछि पनि निरन्तरता दिने लक्ष्य
मुख्य सम्मेलन अक्टोबर ७ देखि ९ तारिखसम्म काठमाडौंमा आयोजना हुनेछ। सम्मेलनअघि अन्तर्राष्ट्रिय तथा विशेष शैक्षिक कार्यक्रमसमेत सञ्चालन हुने आयोजकले जनाएको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, स्वास्थ्य शिक्षा विशेषज्ञ, अनुसन्धानकर्ता र नीति निर्माताले सम्मेलनमा सहभागिता जनाउनेछन्।
आयोजकका अनुसार सम्मेलनको सफलता तीन दिनको कार्यक्रम सम्पन्न हुनुमा मात्र सीमित हुने छैन। त्यसपछि पनि स्वास्थ्य शिक्षामा सिमुलेसनको प्रयोग विस्तार, काठमाडौं बाहिर यसको पहुँच बढाउने, चिकित्सा र इन्जिनियरिङबीच सहकार्य सुदृढ गर्ने, अन्तर्राष्ट्रिय साझेदारीलाई दिगो बनाउने तथा नेपालमै विकसित स्वास्थ्यसम्बन्धी समाधानलाई व्यवहारमा लागू गर्ने काम निरन्तर अघि बढ्नुपर्नेछ।
सम्मेलनको मूल उद्देश्य विश्वबाट सिक्ने, स्थानीय क्षमता सुदृढ गर्ने, सहकार्यमा नवप्रवर्तन गर्ने र राष्ट्रिय रूपमा कार्यान्वयन गर्ने रहेको छ। यसले सिमुलेसन, स्वास्थ्य शिक्षा, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई एउटै मञ्चमा जोड्दै नेपालको स्वास्थ्य शिक्षाको भविष्यबारे नयाँ राष्ट्रिय संवाद सुरु गर्ने अपेक्षा गरिएको छ।




