६ कार्तिक २०८१, मंगलवार

विद्युतीकरणका लागि ज्ञापनपत्र



धनगढी । कैलालीको कैलारी गाउँपालिका–७, (साविक रतनपुर गाविस वडा नम्बर ४, ८ र ९) भुइयाँफाँटा गाउँका स्थानीयले गाउँमा विद्युतीकरण सहितका माग पुरा गर्नका लागि आइतबार जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाएका छन् ।
सो गाउँमा विद्युतीकरण विस्तार, कटैनी नदीमा निर्माणाधिन पुलको समयमै निर्माण कार्य पुरा गर्नुपर्ने माग सहित प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाललाई ज्ञापनपत्र बुझाएको जनाइएको छ ।
साविक रतनपुर गाउँ विकास समितिका वडा नम्बर ४, ८ र ९ भुईयाफाँटा, तिघरी र हौसलपुर गाउँमा अहिलेसम्म विद्युत् सेवा उपलब्ध रहेको छैन । ती गाउँ ऐलानी जग्गाका साथै वसन्ता कोरिडोर क्षेत्राधिकार भित्र पर्ने भएकाले विद्युतीकरणमा समस्या आएको स्थानीयले बताए ।
सो क्षेत्रका स्थानीयले बाढी पीडित र अन्य क्षेत्रमा सुरिक्षित बासस्थान नभएकाले बसेकै स्थानमा विद्युत् सेवा पुर्‍याउन ज्ञापनपत्र मार्फत माग गरेका छन् ।
गाउँमा विद्युतीकरणको लागि आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउन पुगेका नेकपा (एमाले)का नेता चन्द्रिकाप्रसाद चौधरीले ८/९ वर्षदेखि बसोबास गर्दै आएकाले विद्युत् सेवा विस्तार गरिदिन प्रमुख जिल्ला अधिकारीसमक्ष आग्रह गरिउको बताए ।
ज्ञापनपत्र बुझाउन गएको टोलीमा सहभागी नेपाल तरुण दलका जिल्ला अध्यक्ष दीपेन्द्र बमले भुइयाफाँटाबासी बाढीपीडित हुनुका साथै सुरक्षित बसोबासका लागि कुनै पनि विकल्प नभएकाले सो क्षेत्रमै विद्युतीकरण, खानेपानी, विकास निर्माण कार्य वृद्धि गर्न आग्रह गरिएको बताए ।
त्यस्तै, कैलाली जिल्ला विकास समितिका पूर्व सदस्य परशुुराम चौधरीले पवेरामा रहेको कटैनी नदीमा निर्माणाधिन पुलको समयमै निर्माण कार्य पुरा गरिनु पर्ने बताए ।
ज्ञापनपत्र बुझ्दै कैलालीका प्रमुख जिल्ला अधिकारी रिजालले विद्युतीकरणका लागि गाउँपालिकाबाट बसोबास प्रमाणित गराएर आवश्यक काम आघि बढाउनुपर्ने बताए ।
प्रजिअ रिजालले विद्युत् जडानका लागि नियमानुसार सिफारिस सहित गाउँपालिका र नेपाल विद्युत् प्राधिकरणलाई पत्राचार गर्ने बताए । उनले कटैनी नदीमा निर्माणाधिन पुलको ठेकेदार सम्पर्कमा नभएकाले प्रक्रिया अघि बढ्न नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार