२ माघ २०८१, बुधबार

पढाई सीप प्रवर्द्धनसम्बन्धी अभिमुखीकरण



धनगढी । धनगढीमा राष्ट्रिय पढाई सीप प्रवर्द्धनस कार्यक्रमको सरोकारवालाहरूसँग सोमबार अभिमुखिकरण कार्यक्रम सोमबार भएको छ ।
शिक्षा विकास तथा समन्वय इकाई, कैलालीको आयोजनामा भएको छलफल कार्यक्रममा आर्थिक वर्ष ०७४/०७५ मा कार्यक्रमको पृष्ठभूमि, उद्देश्य, लक्ष्य, वर्तमान अवस्था लगायतका बारेमा जानकारी दिइएको थियो ।
आर्थिक वर्ष २०७१/७२ देखि कैलालीसहित देशभरीका १६ वटा जिल्लामा वैदेशिक सहयोग सञ्चालन भएको यो कार्यक्रम आर्थिक वर्ष ०७५/०७६ मा समापन हुँदैछ ।
सामुदायिक विद्यालयमा प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूको पढाई सीप अभिवृद्धि गर्ने लक्ष्य यो कार्यक्रमको रहेको शिक्षा विकास तथा समन्वय इकाईका प्रतापसिंह धामीले बताए । उनले देशभरी प्राथमिक तहमा अध्ययनरत विद्यार्थीहरूको पढाई सीप कमजोर भएको र विद्यालयमा पढ्ने र पढाउने पक्ष कमजोर रहेकाले यसमा सुधार हुन नसकेको बताए ।
एक अध्ययन अनुसार विश्वमा प्राथमिक कक्षा तहका कुल विद्यार्थीहरूमध्ये एक दशमलव दुई प्रतिशत विद्यार्थीले मात्र बुझ्ने गरी पढ्ने गरेको देखाइएको छ ।
सो अध्ययनअनुसार निम्न आय भएका देशमा पढाई सीप विकास कमजोर भएको उल्लेख छ भने पढाई सीप सुधार भएमा १२ प्रतिशत गरिबी कम हुने उल्लेख छ । अध्ययन प्रतिवेदन अनुसार प्राथमिक तहमा विश्वमा दुई सय मिलियन राम्ररी पढ्न नसक्ने र एसियामा दुई सय ५० मिलियन विद्यार्थी रहेको उल्लेख छ ।
भर्खरै कैलालीसहित देशभरीका १६ वटा जिल्लाका सामुदायिक विद्यालयमा भएको एउटा परीक्षाको नतिजाले अझै प्राथमिक विद्यालयको पढाई सीप कमजोर रहेको देखिएको छ ।
सो परीक्षामा कैलाली जिल्लाका पाँच सय ३२ विद्यालयका कक्षा दुईका तीन हजार पाँच सय २० छात्र, चार हजार तीन सय ८४ छात्रा र सात हजार सात सय ४३ अभिभावक सहभागी थिए ।
त्यस्तै, कक्षा ३ का तीन हजार सात सय ५१ छात्र, चार हजार पाँच सय ४८ छात्रा र छ हजार आठ सय ९८ अभिभावकहरूको सहभागिता रहेको थियो ।
सो संस्थाका अनुसार कैलाली जिल्लामा सो नतिजाले विद्यार्थीको श्रुति लेखन (सुनेर लेख्ने) क्षमता सबैभन्दा कमजोर रहेको पाइएको छ ।
संस्थाले विद्यार्थीहरूको पढाई सीप अभिवृद्धि गर्न प्राधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, अभिभावकहरूले ध्यान दिन जरुरी रहेको बताएको छ ।
त्यस्तै, जिल्लामा विद्यार्थीहरूको पढाईमा सहयोग पुर्‍याउने अभिभावकहरूलाई प्रमाणपत्र सहित पुरस्कार प्रदान गरेर सम्मानित गर्न विद्यालयलाई आग्रह गरेको छ ।
कैलालीमा पाँच सय ६५ सामुदायिक विद्यालय रहेको दुई सय ४९ विद्यालयले प्रति विद्यालयले दुई जना अभिभावकहरूलाई सम्मान गर्नुपर्ने कार्यक्रम रहेको जनाइएको छ ।
कार्यक्रममा कैलालीका सामुदायिक विद्यालयका प्राधानाध्यापक, शिक्षक र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार