१८ पुष २०८१, बिहीबार

प्रदेश सभा ७ को ऐतिहासिक बैठक : सबै दलको एउटै आह्वान– प्रदेशको द्रुत आर्थिक समृद्धि



अनुमोदन टिम, धनगढी । नेपालमा पहिलो पटक बनेको प्रदेश सभाको ऐतिहासिक बैठक प्रदेश नम्बर ७ मा पनि आइतबारदेखि शुरु भएको छ । आइतबारको बैठकमा प्रदेश संसदमा प्रतिनिधित्व गर्ने चार दलका चार जना सांसदहरूले मन्तव्य व्यक्त गरे ।
राष्ट्रिय संसदका विगतका बैठकहरूमा प्राय: दलका वक्ताहरूले एकअर्कामाथि आरोपप्रत्यारोपमै बढी समय खर्चिने गरेकोमा प्रदेश नम्बर ७ को पहिलो अधिवेशनको पहिलो दिनमा भने निकै फरक दृश्य देखियो ।
राजनीतिक मुद्दा सामान्य रूपमा उठाइए पनि मूल रूपमा चारै जना सांसदले प्रदेशको तीब्र आर्थिक समृद्धिलाई प्रमुख लक्ष्य र कार्यभारका रूपमा चर्चा गरे ।
‘प्रदेशको समृद्धि नै हाम्रो मुख्य लक्ष्य हो र हुनुपर्दछ’ बाजुराबाट प्रतिनिधित्व गर्ने एमालेका सांसद प्रकाशबहादुर शाहले भने– ‘प्रदेश नम्बर ७ प्रचूर मानवीय र प्राकृतिक स्रोतको धनी छ । हामीले इमान्दारिपूर्वक काम गर्‍यौं भने केही वर्षभित्रै प्रदेशको स्वरूप नै बदल्न सक्छौं ।
उनले १० हजार मेगावाटको कर्णाली, साढे आठ हजार बढी क्षमताको पञ्चेश्वर, साढे सात सय मेगावाट क्षमताको पश्चिम सेती लगायतका जलस्रोतको उपयोग मात्रैले पनि प्रदेश नम्बर ७ लाई मुलुककै सबैभन्दा धनी प्रदेशमा स्थापित गर्न सकिने चर्चा गरे ।
सांसद शाहले किसान नेता भीमदत्त पन्त, मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह, साहित्यकारहरू पहलमानसिंह स्वाँर, एनडी प्रकाश चटौत लगायतका महान व्यक्तित्वहरूले गरेका महान योगदानको स्मरण गर्न आह्वान गरे । भने– ‘हामी सबैले हाम्रा अग्रजहरूले गरेका महान योगदानको स्मरण गर्दै पार्टी राजनीतिभन्दा माथि उठेर एकता र कामको युग बनाउने प्रण गरौं ।
सांसद शाहले समृद्धि र विकासका लागि हडताल लगायतका आन्दोलन सधैंका लागि बन्द गर्नुपर्ने, विकासका लागि सम्पूर्ण दल एकतावद्ध भएर पक्ष र प्रतिपक्षमा विभाजित हुन नहुने र पुरानो राजनीतिक संस्कारको अन्त्य गरेर नयाँ संस्कारको शुरुवात गर्न आग्रह गरे ।
बैठकमा डोटीबाट प्रतिनिधित्व गर्ने काँग्रेसका सांसद भरतबहादुर खड्काले सधैं विकासका दृष्टिले पछाडि पारिएको सुदूरपश्चिम हालको ७ प्रदेश नम्बरको द्रुत आर्थिक विकासका लागि सुनौलो अवसर आएको चर्चा गरे ।
उनले– ‘अहिले कसैले पनि हौसिने, मात्तिने तथा आत्तिने वेला होइन, न त जातीय र क्षेत्रीय संकिर्णताकापछि लाग्ने बेला हो । यो लोकतन्त्र तथा राष्ट्रिय स्वाधिनतालाई बलियो बनाउँदै दिगो शान्ति, स्थिरता र आर्थिक समृद्धिका लागि संकल्प गर्ने बेला हो ।’
सांसद खड्काले गरिबीको रेखामुनी रहेका, अभाव र कष्ट बेहोरेर जसोतसो बाँचिरहेका तथा सामाजिक, जातीय थिचोमिचो एवं विभेदमा पारिएका जनताको अनुहारमा उज्यालो ल्याउन दृढतापूर्वक लाग्न आग्रह गरे । ‘यस प्रदेशका जनताको समृद्धिका लागि भाषणमा होइन, अन्तरआत्माबाटै प्रतिवद्ध हुनै पर्दछ’ उनले थपे ।
सांसद खड्काले कैलाली र कञ्चनपुर जस्ता उर्वर भूमिलाई तीब्र गतिमा घरघडेरी बन्नबाट जोगाउन जरुरी भएको चर्चा गरे । उनले भने– ‘हाम्रो भूगोलको अहिलेको अवस्था भनेको पहाड रित्तिएको र तराई ओइरिएको जस्तो छ ।’
डोटीबाटै प्रतिनिधित्व गर्ने नेकपा माओवादी केन्द्रका सांसद त्रिलोचन भट्टले प्रदेश नम्बर ७ मा उपलब्ध प्राकृतिक स्रोतसाधनको अधिकतम उपयोग गर्दै समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्न आग्रह गरे ।
सांसद भट्टले जातीय तथा क्षेत्रीय विविधता रहेको प्रदेश नम्बर ७ का कोही कसैले पनि कुनै पनि किसिमको उपेक्षा र विभेदको अनुभव गर्न नपरोस् भन्ने ढंगले काम गर्नुपर्ने बताए । उनल यस क्षेत्रमा विद्यमान कुसंस्कार र कुरीतिको अन्त्यका लागि सबै पक्ष एक हुनु आह्वान गरे । ‘हामीले हाम्रै जडीबुटीबाट बनेको औषधि अरूबाट किनेर खाइरहेका छौ’ उनले भने– ‘अब हामी आफैले यहीँको जडिबुटी उपयोग गरेर औषधिमा आत्मनिर्भर बन्नु पर्छ ।’
राष्ट्रिय जनता पार्टीका सांसद मालामति राना (कैलाली) भने अरूभन्दा फरक ढंगले प्रस्तुत भइन् । सांसद रानाले विगतमा कैलालीका डंगौरा, कठरिया, रानाथारू लगायतले गरेका आन्दोलनका मुद्दालाई सम्बोधन गरिनुपर्ने बताइन् ।
सांसद रानाले मधेस आन्दोलनको प्रतिवेदन सरकारलाई बुझाइसकेको तर, कैलालीको टीकापुर घटनाको प्रतिवेदन अझैंसम्म प्रस्तुत नभएकोमा आपत्ति जनाइन् । उनले टीकापुरको घटना राजनीतिक घटना भएकोले जेलमा रहेका सबैलाई रिहा गर्नुपर्ने र कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित रेशमलाल चौधरीलाई वारेस मार्फत प्रमाणपत्र दिन माग गरिन् ।
उनले विगतमा भएका थरुहट आन्दोलनको माग राजधानीका लागि नभएको स्मरण गरिन् ‘त्यो पहिचान र अधिकारका लागि भएको आन्दोलन थियो’ उनले भनिन्– ‘नौ जिल्लाको पायक पर्ने ठाउँमा प्रदेश राजधानी हुनुपर्छ ।’ उनले अहिलेको संविधानमा धेरै संशोधन गर्नुपर्ने भएकोले यसलाई उत्कृष्ट संविधान भन्न नमिल्ने जिकिर गरिन् ।
संसदको पहिलो बैठक हेर्न पूर्व उपप्रधानमन्त्री तथा एमालेका उपाध्यक्ष भीमबहादुर रावल, पूर्वमन्त्री तथा माओवादी केन्द्रका सचिवालय सदस्य लेखराज भट्ट, पूर्वमन्त्री कर्णबहादुर थापा, डोटीका सांसद प्रेमबहादुर आलेमगर, पूर्वसांसदहरू महेश्वर पाठक, रामकुमार ज्ञवाली लगायतको उपस्थिति रहेको थियो ।
संसद भवन बाहिर पनि सर्वसाधारणको ठूलो भीड थियो । संसद भवनको झ्याल नजिकै माइक लगाइएकोले सर्वसाधरणले संसदको गतिविधि सुन्न पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार