६ कार्तिक २०८१, मंगलवार

बाल शिक्षण सिकाईले बालबालिकाको उपस्थिति बृद्धि



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १५ उर्मास्थित शिवगंगा आधारभूत विद्यालयमा मंगलबार कलिला बालबालिका रमाईरमाई नाचिरहेका थिए ।
कक्षा कोठामा म्यूजिक सिस्टममा बालगीत बजिरहेको थियो । शिक्षिका करुणा रानाले गीतको बोल अनुसारको हाउभाउ गरिरहेकी थिइन् । उनको हाउभाउ र गीतको बोलमा बालबालिकाहरू उत्साहपूर्वक नाचिरहेका थिए । शिवगंगा आधारभूत विद्यालयमा यो बुधबारको मात्रै दृश्य होइन । अरु दिन पनि कलिला बालबालिकाहरू यसैगरी रमाउँदै नाच्ने गरेका छन् ।
विद्यालय आउन नमान्ने, आए पनि स्कूल बन्द हुनु अघि नै भाग्न खोज्ने बालबालिकाहरू अहिले भने बिहानै विद्यालय पुगिहाल्छन् र विदा भएपछि मात्रै खुसी हुँदै घर फर्किने गर्दछन् ।
शिवगंगा आधारभूत विद्यालयमा अहिले बालबालिकाको उपस्थिति बृद्धि हुनुमा बाल केन्द्रित शिक्षण सिकाईको अहम् भूमिका रहेको छ । बालकेन्द्रीय शिक्षण सिकाईका कारण बालबालिकामा विद्यालय आउने बानीको विकास त भएको नै छ, सिकाई स्तर पनि सुध्रिएको छ ।
विद्यालयकी शिक्षिका करुवा चौधरी भन्छिन्– पहिले सैद्धान्तिक ज्ञानबाट मात्रै पढाउँदा पढ्न ईच्छुक नहुने बालबालिकाहरू अहिले गीत मार्फत पढाउँदा निकै रमाईरमाई पढ्ने गरेका छन् ।
शिक्षिका करुणाको पनि अनुभव छ– गीत र खेलको माध्यमबाट पढाउँदा विद्यार्थीले सजिलैसंग सिक्ने गरेका छन् । उनले थपिन्– पहिले विद्यार्थीहरू बल्लतल्ल स्कूल आउँथे, आमाबुवाले जबरजस्ती पुर्‍याएर जान्थे । तर, धेरैजसो विद्यार्थी टिफिन खाएर भागिहाल्थे ।
विद्यालयमा रमाईलो गर्दै पढ्न पाएपछि पहिले ‘नास्ता खाने’ बहानामा स्कूलबाट भाग्ने बालबालिकाहरू अहिले घरबाटै नास्ता ल्याएर आउन थालेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १६ जलघुस्रा स्थित जनकल्याण प्राथमिक विद्यालयका प्रधानाध्यापक लिखराम चौधरी पनि पहिलेकोभन्दा विद्यालयमा परिवर्तन आएको बताउँछन् । उनी शैक्षिक सामग्री उपलब्ध भएका कारण पढ्न पढाउन सजिलो भएको बताउँछन् ।
विना दबाव बालबालिकाको भावना अनुरुप शिक्षण सिकाई पद्दतीको विकास गर्न फाया नेपाल र एक्सन एड नेपालको साझेदारीमा ‘प्रगतिशील स्थानीय स्रोत परिचालनद्वारा गुणस्तरीय शिक्षा प्रवन्धन परियोजना’ ले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १५, १६, १७ (साविकको फुलवारी, उर्मा र हसुलिया गाविसका) ३० वटा सार्वजनिक बिद्यालयमा म्यूजिक सिस्टम सहित शिक्षण सामग्री प्रदान छ ।
फाया नेपालका मुकेश पन्तले परियोजनाले सामुदायिक विद्यालयमा सिकाई स्तरमा सुधार आइरहेको बताए ।
शिक्षा मन्त्रालयले २०६७ सालमा तर्जुमा गरेको गुणस्तरीय शिक्षाका लागि बालमैत्री विद्यालय राष्ट्रिय प्रारूप तथा मन्त्रिपरिषद्बाट पारित बालमैत्री स्थानीय सुशासन राष्ट्रिय रणनीति, २०६८ र बालबालिकासम्बन्धी राष्ट्रिय नीति, २०६९ लाई आधार मानी विद्यालय र कक्षा कोठाका हरेक गतिविधि र निर्णय प्रक्रियामा बालविकास केन्द्रदेखि उच्चतहसम्म बालबालिकाको इच्छा, क्षमता, चाहना र रुचीका आधारमा सहभागी गराउनुपर्ने प्रावधान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार