कैलालीमा बर्किमारको डिजिटल छायांकन
कैलालीको जानकी गाउँपालिकामा पाँच पाण्डव पात्र र महाभारतको युद्धलाई कथाका रुपमा तयार गरिएको बर्किमार (भिषण लडाइ) वाचन गरिएको छ ।
केही सन्दर्भ सामग्री र केही लोकोक्तिमा सीमित रहेको बर्किमारलाई तीन दिन लगाएर यहाँ बाचन गरिएको छ भने त्यसको भिडियो छायांकन पनि गरिएको छ । दाङका ७८ वर्षिया चन्द्रप्रसाद चौधरीले बर्किमारका एघार पैढार (भाग) वाचन गरेका छन् ।
‘बुबा रुपलाल चौधरीले वि.सं १९७९ सालमा बर्किमारको कथा संकलन गरेर देउखुरीमा नाच शुरु गरे र २०१६ सालमा बनारस गएर पुस्तक छापेका थिए अहिले च्यातिइ पनि सक्यो बुबाले गाएको सुनेर मैले पनि सिकेर २०५५ सालदेखि गाउन थालेको हुँ,’ चौधरीले भने, ‘गाउँलेलाई मन परेको पैढार बेला बेला सुनाउने गरे पनि सबै भाग जीवनमा पहिलो पटक कैलालीमा सुनाउन पाएँ ।’ चन्द्रप्रसादका अनुसार पाँच पाण्डवलाई थारुको देवथानमा पनि स्थापना गरी पुज्ने गरिन्छ । चन्द्रप्रसादलाई जग्गुप्रसाद चौधरी र जगबीर चौधरीले वाचनमा सहयोग गरेका छन् भने सोम डेमन डौराले त्यसको व्ययाख्या गरेर दर्शकलाई सुनाएका छन् ।
स्थानीय दिनेश थारुले बर्किमार संस्कृति लोप हुने अवस्थामा पुगेकाले संरक्षण र पुनर्जागरण भएको बताए । बर्किमार योगी नरहरिनाथ लगायतका विद्वानहरूका लेख रचनाहरूलाई एकीकृत गरेर अशोक थारुले पुस्तकको रुप पनि दिएको व्याख्याता सोम डेमन डौराले जानकारी दिए । पाँच पाण्डवहरू बनबास गएको बेलादेखि कुरुक्षेत्रमा लडेको लडाइलाई एघार भागमा राखिएको बर्किमार धेरै विद्वानहरूको योगदानमा तयार भएको थारु लोक महाकाव्य भएको डेमन डौराले बताए । थारु समुदायमा बर्किमार दशै.को बेला गाइन्छ ।
बर्किमारलाई डिजिटल रेकर्ड गर्न आयोजना गरेको कार्यक्रममा हजारौं स्थानीयले कथा सुनेर पनि लाभ लिएका छन् । बर्किमारले मनोरञ्जन मात्रै नभइ युद्ध, कुटनीति, राजनीतिका विषयमा पनि ज्ञान दिएको आयोजकको भनाइ छ । जानकी गाउँपालिका अध्यक्ष गणेश चौधरीले अहिलेको समयअनुसार सबैले बुझ्ने बनाउन बर्किमार सुन्ने सुनाउने कार्यक्रम राखेको र यसलाई डिजिटलाइज गरेर सँस्कृति संरक्षणको प्रयास गरेको बताए ।




