३० आश्विन २०८३, शुक्रबार

‘नेपाल प्रहरीको अनुसन्धान विश्वकै लागि अनुकरणीय’



सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले सीमित स्रोत साधन र कमजोर पूर्वाधारकाबिच नेपाल प्रहरीले गर्दै आएको अपराध अनुसन्धान विश्वकै लागि एउटा अनुकरणीय उदाहरण बनेको बताएका छन् ।

७१ औं प्रहरी दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले शुक्रबार धनगढीमा आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने, “सीमित स्रोतसाधन र कमजोर पूर्वाधारमा बसेर नेपाल प्रहरीले जुन तहको अनुसन्धान गर्दै आएको छ, त्यो विश्वकै लागि उदाहरण बनेको छ ।”

मुख्यमन्त्री भट्टले नेपाल प्रहरी जनताको अहोरात्र सेवाको एउटा प्रतीक चिन्हमा उभिएको संगठन रहेको बताए । प्रहरी संगठन नेपाली जनताको स्वाभिमान, पहिचान र आत्मसम्मानको एउटा गौरवशाली धरोहरको रुपमा स्थापित संगठन रहेको उनको भनाइ छ । प्रहरी संगठनले शान्ति सुरक्षा, न्याय, जीवन रक्षाको मात्रै दायित्व पूरा नगरी हरेक विपत्मा नागरिक र जनताको उद्धार र राहतको व्यवस्था गर्ने अग्रगामी दायित्व पनि निर्वाह गरिरहेको मुख्यमन्त्रीले उल्लेख गरे ।

उनले भने, “नेपाल प्रहरीले राजनीतिक हस्तक्षेपबाट मुक्त हुने वातावरण प्राप्त गर्न सकेमा, सबै प्रकारको हस्तक्षेपबाट मुक्त भएर निश्चित ढंगबाट कानुनको शासन स्थापित गर्ने वातावरण प्राप्त गरेमा विश्वमै सबैभन्दा शक्तिशाली र उदाहरणीय संगठन बन्न सक्छ ।”

अहिले प्रहरी संगठनमा धेरै नै रुपान्तरण भएको मुख्यमन्त्री भट्टको भनाइ छ । उनले आफूहरूले वचपनमा बुझेको प्रहरी संगठनभन्दा आजको प्रहरी संगठन धेरै वैज्ञानिक, धेरै आधुनिक, धेरै सभ्य, भव्य र धेरै जनमुखी रहेको उल्लेख गरे ।

उत्कृष्ट डिग्रीमा उत्कृष्ट नतिजा हासिल गरेका योग्यमत् प्रतिभाहरूको फौजी संगठनमा देखिएको आकर्षण राष्ट्र र राष्ट्रवासी सबैका लागि गौरवको विषय रहेको मुख्यमन्त्री भट्टको भनाइ छ । समाजका सबै तहतप्कामा निर्भिकताको वातावरण, सामाजिक सद्भाव कायम गर्ने, मानव अधिकारको संरक्षण गर्ने, न्यायपूर्ण, स्थिर र विश्वसनीय समाज निर्माण गर्ने कार्यमा प्रहरी संगठनले राम्रोसंग कार्य गर्दै आएको उनले बताए । मुख्यमन्त्रीले राज्यको उपस्थितिको सशक्त आधारशिलाको रुपमा प्रहरी संगठन रहेको उल्लेख गरे ।

अपराधलाई दण्डित गर्ने मात्र होइन अपराधका आधारहरूलाई निर्मूल गर्नको निमित्त प्रहरी भूमिकाका निम्ति प्रदेश सरकार सधैँ सहकार्य गर्न तयार रहेको मुख्यमन्त्री भट्टको भनाइ छ । उनले शान्ति, सुरक्षा कायम गर्न नेपाल प्रहरीलाई थप सुदृढ बनाउन आवश्यक रहेको औंल्याए ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक सानुराम भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको थियो । सो अवसरमा उत्कृष्ट सेवा प्रदान गर्ने जिल्ला प्रहरी कार्यालय बाजुरासहित उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई नगदसहित पुरस्कृत गरिएको छ । यसैगरी, विभिन्न क्षेत्रमा रहेर योगदान गरेका व्यक्तित्वहरूलाई सम्मान गरिएको छ । कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, व्यवसायी, भूत पूर्व प्रहरी कर्मचारी, अमर प्रहरीका परिवार लगायतको उपस्थिति रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्
ताजा समाचार