आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन कार्यक्रमको अनुगमन

कैलालीको विभिन्न पालिकामा मर्सिकोर नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सेवक नेपाल धनगढीद्वारा सञ्चालन गरेको आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन (एमरेड) कार्यक्रमको अनुगमन गरिएको छ ।
एमरेड कार्यक्रम अन्तर्गत घोडाघोडी नगरपालिका, भजनी नगरपालिकामा सञ्चालित गतिविधिको अनुगमन गरिएको हो ।
अनुगमन टोलीले घोडाघोडी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष दानसिंह जोगीसँग त्यस बडामा बगरखेतीको सम्भवनाबारे छलफल गरेको थियो । उनले सेवक नेपाल धनगढीद्वारा सञ्चालन गरेको आर्थिक विकासमार्फत जोखिम व्यवस्थापन (एमरेड) कार्यक्रम राम्रो रहेको बताए । वडा नम्बर ११ मा उखु खेती भन्दा पनि वेमौसमी तरकारी खेतीको आवश्यकता र सम्भावना रहेको बताए ।
सेवक नेपालको सहयोगमा घोडाघोडी नगरपालिका वडा नम्बर १२ खोपामा, कान्द्राको किनारमा ४ विघामा चार जनाले सामुहिक रुपमा बगर खेती सुरुवाट गरेका छन् । बगर खेतीले आर्थिक विकासमार्फत जोखिम व्यवस्थापनमा टेवा पुग्ने सो समूहकी अस्रानी चौधरीले बताइन् । बेरोजगार बस्नुभन्दा बगर खेती गरेपछि केही न केही आर्थिक स्रोत जुटाउन मद्दत पुग्ने उनले बताइन् । सेवक नेपालले सो समूहलाई बगर खेती गर्नका लागि तालिम र विउ खरिदका लागि २५ हजार नगद सहयोग गरेको छ ।
अनुगमन टोलीले भजनी नगरपालिका वडा नम्बर ३ बर्दौहुवामा कान्द्रा नदिको काटनबाट जोखिम न्यूनीकरण गर्नाको जैविक तटबन्ध गर्नुपर्ने क्षेत्रको अनुगमन गरी त्यस समुदायसँग छलफल गरेको थियो । टोल विकास संस्थाका सदस्य खेमराज जैसी बर्खाका बेला उ ठाउँबाट नदिको पानी ओभर फलो भएर बस्तीतिर जाने गरेकोले त्यस ठाउँमा दिगो जैविक तटबन्ध गर्नुपर्ने आवश्यक रहेको बताए ।
उनले भने यस वर्ष खासै बाढी आएन तैपनि कान्द्रा नदिले बाटो कटान गरी रहेको छ । जेसिबीको प्रयोगबाट हिडने बाटो बनाइएको छ । त्यसैगरी, सो नदिले वडा नम्बर ३ बर्दौहुवा फाँटा दैलेखी टोलमा गरेको कटानको अनुगमन गरिएको छ । सोही टोलकी सोनिया खत्री देउवाले बर्खायाममा यस क्षेत्र बाढीबाट बढी प्रभावित हुने गरेकोेले नदी कटान भइरहेका ठाउँँ जैविक वा भौतिक तटबन्ध गर्नसके नदी कटानको जोखिम नियन्त्रण गर्न सकिने बताए ।
सेवक नेपालका धनगढीका अध्यक्ष पवन भण्डारी परियोजनाले कैलालीको गोदावरी, चुरे, भजनी, घोडाघोडी, मोहन्याल र कञ्चनपुरको लालझाँडी, पुनर्वास, शुक्लाफाँटामा वातावरण संरक्षणसँगै आर्थिक रुपमा बलियो बनाउनको लागि विभिन्न किसिमका कार्यक्रम लागु भएको बताए ।
अनुगमन टोलीमा सेवक नेपालका अध्यक्ष पवन भण्डारी, उपाध्यक्ष गगनसिंह ठगुन्ना, सल्लाहकार सदस्य चन्द्रसिह ठगुन्ना, सदस्य दलबहादुर ओली, सदस्य सीता ओझा, सामाजिक परिचालक मालती सार्कीलगायतले अनुगमन तथा बस्तीबाट सुझाव संकलन, सिडीएमसीसँग फोकस ग्रुप छलफल गरेका थिए ।




