१४ बैशाख २०८१, शुक्रबार

डेंगु, कोरोना र कान्तिपुर



हामीले जानेका छौं गफ गर्न । हाम्रा सरकारहरूले जानेका छन छड्के हान्न । आफना कार्यकर्ताहरूलाई सामाजिक संजालमा सक्रिय गराएर बिरोधीको मान–मर्दन गर्न । जनता कालापानी, लिम्पियाधुरा र लिपुलेकको चुच्चे नक्सा हेरेर दंग परेको छ । चुच्चे नक्सा अनुसारको जमीनमा दावी गर्न सरकार नै पुगेको छैन । बिचरा हामी जनता ।

अहिलेको समय कोरोना–कोलाहल पछिको समय हो । अर्थात डेंगुको समय । तै पनि डेंगुको चर्चा छैन । कोरोनाको धङ्धङी अहिले पनि जारी छ । किनभने, कोरोना अन्तर्राष्ट्रिय रोग हो । डेंगु स्थानीय रोग हो । डेगु ज्वरोको बारेमा थाहै नपाइ मानिसहरू डंगडंगती मर्ने गरेका हुन । कोरोना फैलिएको हल्ला नचल्दासम्म भारत, नेपाल, बांगलादेश र पाकिस्तानमा डेंगु लागेर कति मरे कति । त्यसको हिसाव–किताब छैन । कोरोनाको जति चर्चा भयो, डेंगुको त्यति चर्चा कहिल्यै भएन । हाम्रो नेपालमा त कसैले पनि आफना परिवारका सदस्य वा परिचितको डेंगु लागेर मृत्यु भएको कहिल्यै बताएका छैनन ।

हिजोआज देशमा आयोजना गरिने आर्थिक–ब्यापारिक सेमिनारहरूमा हाम्रा अर्थशास्त्री तथा अर्थविदहरूले हाम्रो आर्थिक अवस्थालाई बरबाद तुल्याउन कोरोनाको मुख्य हात रहेको चर्चागर्न थालेका छन् । सरकारी भनाइअनुसार : अहिले ब्यापक भइरहेको डेंगु स्थानीय महामारी हो । कोरोना जस्तो अन्तर्राष्ट्रिय होइन । कोरोना–काल सकिएकोले अब अर्थतन्त्रमा सुधार आउँछ । अब कोरोनाको भ्याक्सिन किन्नुपर्ने छैन ।

कसले दिन्छ हाम्रा बिद्हरूलाई यस्तो कुराको ज्ञान ? संसारमा कसैले गर्न नसकेको अनुमान नेपालमा गरिन्छ ।
यो पटकको मेरो कान्तिपुरगाथा पुरानै श्रृंखलाको पुननिर्माण मात्रै हो । देशको बाहिरी साजसज्जा र श्रृंगारमा परिवर्तन आएको छ । तर, मौलिक अवतार सिन्को जति पनि बदलिएको छैन ।

हाम्रो देशको कथा यस्तो छ : यो समयमा राजनीतिका मूल्य, मान्यता, प्रतिबद्धता, जिम्मेवारी र उत्तरदायित्व जस्ता शब्दहरूको चर्चा ‘पोलिटिकल्ली करेक्ट’ मानिएका छैनन । उसैपनि यी शब्दहरू इतिहासको कुनै चरणमा शोभायमान देखिएनन् । नेपाली समाजले भीम मल्ललाई चिन्यो, भीमसेन थापालाई चिन्यो, भाइ भारदारलाई चिन्यो । तर, देशका लागि ज्यानको आहूति दिने अरु कसैलाई चिन्दै चिनेन ।

मल्ल राजाका भारदार थिए भीम मल्ल । त्यतिबेला तिब्बतको आर्थिक र ब्यापारिक संप्रभूता कान्तिपुरको हातमा थियो । कान्तिपुरका जनता ‘भोटे नून’ खान्थे । तिब्बतीहरू नेपाली चामल । सालबसाली उठतीपुठतीमा गएका भीम मल्ल तिब्बतबाट फर्किनासाथ राज–दरबारको ढोकैमा काटिए । उनको अपराध के थियो ? कसैले थाह पाएन । अपराध थियो भने पनि त्यसका प्रमाण–प्रमेय थिएनन् । सबै अनुमानको कुरा थियो ।

नेपालको पूरै इतिहास अनुमानका आधारमा लेखिएको छ । हामीलाई इतिहास पढाउने नारायणदास श्रेष्ठ सर भन्थे- नेपाली इतिहासका स्रोतहरू सबैजसो परिकल्पनाका आधारमा बुनिएका छन । भीम मल्ललाई जनताले आज पनि शानकासाथ सम्झिन्छन । भीमसेन थापा यो देशका गौरवशाली पुरुष मानिन्छन् । उनको इतिहास पनि विवादास्पद छ । उनको ऐतिहासिक कद उनले बनाएको धरहराजति अग्लो पक्कै छैन । अमरसिंह थापाको कद भीमसेन थापाको भन्दा धेरै अग्लो थियो । यो सत्य हो ।

पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणको जसदिने कुरा लगभग सल्टिइ सकेको छ । पृथ्वी जयन्ती मनाउने काममा राष्ट्रिय अवरोध गर्ने अब कोही देखिएका छैनन् । हिजोसम्म उग्रवादी बाटोमा लागेका नेत्रबिक्रम चन्दले पनि अव पृथ्वीनारायण शाहको बिरोधमा काम नगर्लान् । पृथ्वीनारायण शाहको मूलराज्यका रुपमा परिचित गोर्खामा हालै भएको चुनावमा नेपाल राष्ट्रबाट शाहबंशका राजाहरूको स्वामित्व समाप्त तुल्याउने अभियानका नेता प्रचण्डको ‘प्रचण्ड’ बिजयपछि पृथ्वीनारायणको पूजा जति गरे पनि भयो ।

नेपालको एकीकरणदेखि जंगबहादुरको उदयसम्म नेपालको शासनमा भारदारी भद्रगोल खूब चल्यो । जो जो बलिया भए ती सबैले आ–आफनो ‘इतिहास’ लेखाए । रानीहरूसंगको प्रेमसम्बन्धका कारण दरबारमा धेरै भारदारहरूको शक्ति बिस्तार भयो । भीमसेन थापा, दामोदर पाण्डे, गगनसिंह, रंगनाथ र चन्द्रशेखर लगायत विविध थर र एकै वर्गका ब्यक्तिहरू नेपाली समाजमा हावी भए । यी त केही उल्लेखनीय उदाहरण मात्रै हुन् । नेपालको इतिहासको आकार देशको वास्तविक आकारभन्दा कैयौं गुना अग्लो र लामो छ । यो हिमवत्खण्ड हो, हिमालयको देश, पाशुपत क्षेत्र ।

जतिबेला माओवादी लडाईंमा थिए त्यतिबेला ती रनबन घुम्थे । देशमा पाइने अपार जरिबूटीको उपयोग गरेर देशलाई धनी बनाउने कल्पना गर्दथे । नेपालगन्जमा सीमित जरिबूटीको ब्यापारलाई देशब्यापी प्रचारमा ल्याएका हुन् माओवादीले । यो कुरालाई मान्नै पर्छ ।

देशमा राजनीतिक आर्थिक र सांस्कृतिक वार्ता र छलफलका लागि जीवन्त वातावरण बनेको धेरै भएको छैन । तर, जनता–जनताका बीच वार्ता भएकै छैन । संबैधानिक राजतन्त्र र वहुदलीय प्रजातन्त्रको पुनस्र्थापनापछि देशका समस्याहरूमाथि छलफल गर्ने चलन व्हात्तै बढेको थियो ।

त्यो संगै बढेको थियो आसन ग्रहणको चलन । ब्यंग्य गरेको होइन, एउटा सभामा त यतिसम्म भयो कि आमन्त्रित जति सबै आसन ग्रहणका लागि मन्चमा पुगे । सभाकक्षमा भाषण सुन्ने कोही भएन । सभाकक्ष आमन्त्रित ब्यक्तित्वका चालकहरू, सुरक्षाकर्मीहरू र निजी सचिवहरूले ‘भरिएको’ थियो । मन्चमा जो बिराजमान थिए ती आपसमा मस्त थिए । एकअर्कासंग तीन तेह«को सम्बन्ध नहुनेहरू पनि एकापसमा ‘भलाकुसारी’ गर्दै थिए । यो थियो शहरी सभ्यताको बिस्तार ।

त्यस्तो वातावरणमा अब कसले कसलाई के सुनाउने !

त्यतिबेलाका सभामा, स्वाभाविक थियो, शहीदहरूको सम्मानमा एकमिनेटको मौन धारणा । त्यसपछिको अर्को एक मिनट बीपी र पुष्पलालको सम्मानमा शब्द र पुष्प दुबैको वर्षा हुन्थ्यो । ‘भलाद्मी’ राजा वीरेन्द्रको लोकप्रिय ब्यक्तित्वप्रति नतमस्तक हुने चलन थियो– उनको प्रजातन्त्र प्रेमको अथक चर्चा हुने गर्दथ्यो । त्यसको प्रमाणस्वरुप कान्तिपुरका सम्भ्रान्त बैठकहरूमा कथाको एक अंश नियमित सुनाइन्थ्यो– कसरी राजा वीरेन्द्रले रानी ऐश्वर्यलाई राजकीय भाषामा ‘बडामहारानी’ शब्दले संवोधन नगरेर ‘मेरी श्रीमती’ शब्दले संबोधन गरेका थिए ।

यो घटना राजा वीरेन्द्रले राज्यारोहण गरे लगत्तै नेपाल विश्व सम्बन्ध परिषदको आयोजनामा तत्कालीन राजकीय प्रज्ञा प्रतिष्ठानको सभागृहमा देशका बुध्दिजीवीहरू सहभागी भएको एउटा महत्वपूर्ण सभामा भएको थियो । त्यसै दिनदेखि राजा वीरेन्द्रका विरुद्ध पुराना र घरानियाहरूले षडयन्त्र शुरु गरेको कथा शहरका संभ्रान्त बैठकहरूमा दोहोरिन, तेहोरिन थालेको थियो ।

२०४७ सालमा कान्तिपुर शहरमा वीर गणेशमानको सघन चर्चा हुन्थ्यो । प्रजातन्त्रको पुनस्र्थापनापछि गणेशमानजीलाई ‘वीर’ त के, प्रजातान्त्रिक देशको ‘अकिन्चन’ नागरिकका रुपमा समेत शान्तिसंग बस्न दिइएन । उहाँलाई कांग्रेसका सर्वोच्च नेता भनिन्थ्यो । तर, के कांग्रेसले उहाँलाई साँच्चै सर्बोच्च रहन दियो त ? यसको जवाफ इतिहासले खोज्दै गर्ला ।

सभा–समारोहमा सन्त नेता कृष्णप्रसाद भट्टराईको छाता र सुराहीको दृष्टान्त दिँदै उनलाई राजनीतिमा इमान–जमानको प्रतीकका रुपमा सम्झना गरेको हिजो पनि सुनिन्थ्यो र आज पनि सुनिन्छ । त्यो दृष्टान्त राजनीतिक समाजका लागि साह्रै गह्रुंगो हुन थालेपछि विस्मृतिको गर्भमा लोप भयो । गणेशमानजी र किशुनजीको आदर्श नेपालको राजनीतिबाट लगभग लोप हुनुभयो । प्रजातन्त्र पुनस्र्थापनाको एक दशक पनि नबित्दै जब कांग्रेस जीवन–मरणको चरम संकटमा पर्यो, गिरिजाप्रसाद कोइरालाले जनताको दरबारमा किशुनजीको इमान जमानी राखेर पार्टीलाई २०५६ सालको चुनाव लडाए ।

पुनस्र्थापित संबैधानिक राजतन्त्र तथा वहुदलीय प्रजातान्त्रिक ब्यबस्थाको यो तेस्रो र अन्तिम चुनाव थियो । यो चुनाव कांग्रेसले किशुनजीकै नेतृत्वमा लड्यो र बहुमत ल्याएर जित्यो ।

प्रजातन्त्र पुनस्र्थापना अभियानमा नेपाली कांग्रेसको सहयात्री रहेको पहिलेको माले र पछिको एमालेमा, प्रजातन्त्रको पुनस्र्थापनापछि, अभिमान भन्दापनि हलक्क बढेको थियो घमण्ड । अभिमान र घमण्ड एकै अर्थ दिने शब्द होइनन । अभिमानी हुनु र घमण्डी हुनुका भेदहरू थुप्रै छन् ।

प्रजातन्त्र पुनस्र्थापनापछि, पहिलो चुनावी मौसममा, आफ्नै संघर्षले नेपाली समाजमा महिला नेताका रुपमा स्थापित भएकी गणेशमान सिंहकी धर्मपत्नी मंगलादेवी सिंह चुनावमा उम्मेदवार हुनुहुन्थ्यो । चुनावकै प्रसंगमा उहाँले लगाएको रातो लिपष्टिकको तुलना ‘मानव रगत’ संग गर्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता तथा तत्कालीन पत्रकार रघुजी पन्तले आफनो स्तम्भ लेखेका थिए । धन्य हो, पन्त अहिले नेपाल कम्युनिष्ट पार्टीभित्र ओली गूट भनेर चिनिने एमालेमा छन् ।

उतिबेलाका सभा–समारोहमा कांग्रेस–कम्युनिष्टको ‘बोक्रे’ मित्रता देख्न पाइन्थ्यो । कांग्रेसहरू कम्युनिष्टहरूलाई दुइ हात जोडेर ‘नमस्कार’ गर्दथे । कम्युनिष्टहरू मुडकी उजाएर ‘सलाम’ फर्काउँथे । यतिबेला चाहीं देशका नेपाल कम्युनिष्ट पार्टी एमालेका कार्यकर्ताहरू मुडकी उजाएर कांग्रेसलाई नमस्कार गर्न होइन, डडाल्नो फुक्लिने गरी ठोक्न चाहन्छन् ।

दुइवटा पुरा र एउटा मध्यावधि चुनाव बिते पनि पुनस्र्थापित प्रजातन्त्रले जनतालाई सन्तुष्टि दिन सकेको थिएन । राजा वीरेन्द्रको हत्यापछि ज्ञानेन्द्र राजा भए । ज्ञानेन्द्र राजाका रुपमा भन्दा पनि पारस शाहका पिताका रुपमा बढी चर्चित भए । राजा ज्ञानेन्द्रले पारस शाहलाई युवराज घोषित गरे । उनका चाकरीदारहरूले ‘सरकारको कीर्ति गाउँदै’ भनेको सुनियो, ‘सरकारले पारसलाई युवराज बनाउँदा बडो अप्ठेरो महसूस गरिबक्सियो ।’ अप्ठेरो महसूस गरिबक्सिएको थियो भने किन युवराज घोषित गरी बक्सिएको थियो त ? यो प्रश्नको जवाफ ती कीर्तिकारहरू कसैसंग पनि छैन होला ।

राजतन्त्रको अन्त्यपछि अहिले राजा ज्ञानेन्द्रले युवराज पारस बिर्सिएका छन । उनी समाजसेवा र ब्यापारमा युवराज्ञी हिमानीलाई अघि बढाउँदै रहेका देखिन्छन । राजाहरू ती बेलायतका हुन कि नेपालका, धनी हुन कि गरीब, मूर्ख हुन कि बुध्दिमान ः अलिकति सन्की सन्की नै हुन्छन् ।

गणतान्त्रिक राष्ट्रका रुपमा नेपालको उदयपछि जनताले नसोचेका कुरा धेरै भए । मल्लकालीन नेपालमा भारदारहरूको वृत्तको बिस्तार भएको थियो नेपालको शासन–प्रशासनमा । पृथ्वीनारायणका आफना मानिस थिएनन । मल्ल राजाहरूको पतनपछि अलमल्ल परेका भारदारहरू शरणार्थीका रुपमा पृथ्वीनारायण शाहको ‘चरण कमलमा’ लम्पसार परे ।

मल्ल राजतन्त्रको प्रशासनलाई शाह राजतन्त्रले निरन्तरता दियो । यसैको बिंडो थामेर, शाह राजतन्त्रलाई गणतान्त्रिक शासन ब्यबस्थाले निरन्तरता दिएको छ, अहिले । गिरिजा, प्रचण्ड र परिवर्तनका अन्य महत्वपूर्ण नेताहरूले एउटा संविधानसम्म पनि लेख्न सकेनन्, समयमा । संविधान सभाको पहिलो कार्यकालमा प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराई पालैपालो प्रधानमन्त्री भए । त्यतिबेला, ‘बाइ हुक्स एण्ड त्रूmक्स’ बाबुराम प्रधानमन्त्री नभएको भए फेरी कहिल्यै हुने थिएनन् ।

यही क्रममा पहिलो संविधान सभा टुंगियो । दोस्रो संविधान सभाका लागि परिवर्तनका नेताहरूले सर्बोच्च अदालतको खोपाबाट खिलराज रेग्मी नामको मुख्य कारिन्दालाई ल्याएर देशको प्रधानमन्त्री बनाए । त्यसपछि रेग्मीले जुन चुनाव गराए त्यसमा परिवर्तनको वाहक बनेको माओवादी पार्टी नै सफाचट भयो ।

तै पनि, संविधान बन्यो । संविधान बनाउने नाममा कति थारुको ज्यान लिइयो र कतिलाई जेलमा कोचियो त्यसको हिसाब गरेर साध्य लागेन । नेताहरू कुनै पनि मूल्यमा नेपाली राष्ट्रवादमा भारत र चीनको मिस्कट नपरोस भनेर सतर्क थिए । नेपाली कांग्रेसका सभापति स्वर्गीय सुशील कोइरालाको नेतृत्वमा माओवादी पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमालेका अध्यक्ष केपी ओली लगायतका नेताहरूले बनाएको संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान राष्ट्रपति रामवरण यादवको बाहुलीबाट बडो नाटकीय ढंगले लोकार्पण भयो ।

अहिले जमाना बदलिएको छ । दश बर्ष लगाएर बडो कष्टका साथ ठसठसी कनीकनी लेखिएको थियो संविधान । संविधानका सन्दर्भमा भारतका हालका विदेशमन्त्री जयशंकर प्रसाद काठमाडौं आएर थर्काउँदा पनि हामी थर्किएनौ भनेर नेपाली नेताहरू आफनो गुनगान अझै गाउँदैछन् । उता जनता भने नेपालको संविधान ‘सक्रिय निष्क्रियताको बाटोमा लागेको’ अनुभव गर्न थालेका छन् ।

किनभने, देशमा द्वन्द्व कायम नै छ । संविधानले एकै झमटमा गाउँका गाउँलाई नगरपालिका बनाएको छ । तर, मानिसका सामान्य आवश्यकताको पहिचान गर्ने चेष्टा गरेको छैन । समावेशी शब्दको अर्थ र तात्पर्य दुबैको जानकारी छैन सरकार चलाउने पार्टीका नेतामा । जनयुध्दमा ‘सत्र हजार जनता’ मारिएकोमा माओवादीको सत्तो–सराप गर्नेहरू शाही सेनाबाट मारिएका जनताको हिसाब–किताब गर्न उत्सुक देखिदैनन् । जनयुध्दका समयमा भेरी, कर्णाली, तीला र पूर्व पश्चिमका अरु नदीहरूको भेलमा कतिलाई जवर्जस्ती हेलिएको थियो ? त्यो न माओवादीलाई थाह छ, न त सुनेकै आधारमा भए पनि कसैले त्यसको अभिलेख नै राखेको छ ।

कुनैबेला एमालेका अध्यक्ष खड्गप्रसाद ओली नेपालमा गणतन्त्र आउने भनेको गोरुगाडा चढेर अमेरिका पुग्ने भने जस्तै हो भन्थे भन्ने चर्चा सबैतिर भएको छ । उखान टुक्का र कथा कहानीमा रुचि राख्नेहरूका लागि धेरै नै चाखलाग्दो ब्यक्तित्व छ ओलीको । उनको नेतृत्वमा गठन भएको सरकारले बिदेश नीतिका आफना प्राथमिकता बदलेको थियो । भारतसंगको खुला सीमाना बन्द गरेर चीनसंग सीमा खुला गर्नुपर्ने बिचार जागृत हुँदैछन् ।

उसो त, चीनसंग नेपालले बडो आदरार्थी सम्बन्ध राख्ने गरेको छ । चीन चिढिएला भनेर राजाहरू समेत सतर्क रहन्थे । तिब्बत चीनमा गाभिंदा पनि नेपालको सरकार केही बोलेको थिएन । सन् १९८९ मा चीनियाँ कम्युनिष्ट पार्टीका महासचिव तथा उदारवादी नेता हु याओ ब्यांगको निधनपछि उदारवादी शासनको निरन्तरताको मांग गर्दै बेइजिंगको तियानमेन स्क्वायरमा ‘चार जूनको आन्दोलन गर्ने’ युवा विद्यार्थीहरूको दमन र हत्याका समाचार नेपालका भारदारवर्गले पढेकै छैन जस्तो पो छ !

अहिले एकथरि वामपन्थीहरू रन्थनिएका छन्, नेपालमा एमसीसीको उपस्थितिले । शीतयुध्द कालमा युरोप अमेरिकाका मानिसहरू जे कुरामा पनि फासीवादको संलग्नता देख्थे रे । उनीहरूलाई यो थाह छैन एमसीसी चीनकै बाटो आउँछ । आज नआए भोलि आउँछ । चीनसंग मूठभेड नगरेर उसलाई आर्थिक विकासमा संलग्न गराउने नीति लिएका थिए, अमेरिकाका राष्ट्रपति रिचर्ड निक्सनले । उनलाई यसमा सघाएका थिए हेनरी किसिंजरले । यसका लागि निक्सनले चीनको भ्रमण गरेका थिए सन् १९७२ मा ।

कम्युनिष्टहरूका बीच शक्तिको झगडा सामान्य कुरा मानिन्छ । सोभियत संघसंगको सीमा युध्दले माओ उद्विग्न बनेका थिए । त्यही रन्कोमा उनले अमेरिकासंग मित्रताको हात बढाएका थिए ।

माओत्से तुंगमा ब्यबहारवाद प्रचूर मात्रामा थियो । उनको राजनीति र कूटनीति, नैतिक र सैध्दान्तिक आधारमा होइन, तत्कालीक परिस्थितिका आधारमा निर्भर हुन्थ्यो । उनी भन्थे, ‘थोरै क्रान्ति, आबश्यकताका आधारमा धेरै कूटनीति ।’ माओको यो नीतिको अबलम्बन चीनमा जारी छ । नयाँ चीनका नयाँ पुस्ताले त क्रान्तिको सपना पनि देख्न छाडेका छन । यो सत्य हो, बितेको पचास वर्षमा आर्थिक विकासमा चीनले फराकिलो छलांग मारेको छ । चीनका जनताले अनेकौं दुःख कष्ट सहेर अदम्य साहसका साथ विकास गरेका छन् ।

यो होइन कि, चीन अहिलेसम्म नेपाली राजनीतिमा लागेका मानिसहरूको ‘मौलिक’ चरित्रसंग अनभिज्ञ छ । त्यो मामिलामा चीनियाँहरू माहिर छन् । चीनका नेताहरूले नेपाली नेताहरूको नाडी छामी सकेका छन । नेपाली जनताले सिनेमामा चीनको चुच्चे रेल देखेका छन् । त्यसबाट आकर्षित भएका छन् । त्यसैले, चीनका नेताहरू पूर्व राजदूतहरूलाई बेला बेलामा भाषण गर्न नेपाल पठाएर नेपाली जनतालाई उनीहरूको अभिलाषा पूरा हुन्छ भनेर आश्वस्त पार्न खोज्दैछन् ।

हामीले जानेका छौं गफ गर्न । हाम्रा सरकारहरूले जानेका छन छड्के हान्न । आफना कार्यकर्ताहरूलाई सामाजिक संजालमा सक्रिय गराएर बिरोधीको मान–मर्दन गर्न । जनता कालापानी, लिम्पियाधुरा र लिपुलेकको चुच्चे नक्सा हेरेर दंग परेको छ । चुच्चे नक्सा अनुसारको जमीनमा दावी गर्न सरकार नै पुगेको छैन । बिचरा हामी जनता । कान्तिपुरका रैथाने, पुरानिया र घरानिया भारदारहरूले काउकुती लगाइ दिएर सरकारलाई प्रसन्न तुल्याएका छन् । हामी नेपाली ‘सार’ मा सबै कुरा बुझ्छौ– जस्तो गीतासार । श्रीकृष्णले अठार अध्यायमा लेखेको गीताको चूरो जम्मा आठ पंक्तिमा ।

एकताका शहरका पुस्तक पसलहरूमा एउटा पोष्टर पाइन्थ्यो– कस्ता मानिस मरेपछि कस्तो नर्कमा जाकिन्छन् ? आजकाल त्यस्तो पोष्टर कसैले बेच्दैन । किनभने, अहिले देशको अवस्था र नर्कका अवस्थाका बीच कुनै भेद छैन । नर्क पनि यो भन्दा खराब त के होला र ?

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार