१७ बैशाख २०८१, सोमबार

मुख्यमन्त्री शाह विश्वासको मत पाउनेमा ढुक्क, के छन् आधार




धनगढी/ बिहीबार दिउँसो ३ बजे सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्रीका विपक्षी दलले उनले विश्वासको मत नपाउने बताइरहदा उनी भने विश्वासको मत पाउनेमा ढुक्क छन् ।

सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन पर्ने संवैधानिक बाध्यता सृजना भएपछि विश्वासको मत लिन खोजेका हुन ।

साझेदार दलले समर्थन फिर्ता लिएपछि अहिले प्रदेश सरकार अल्पमतमा छ । बहुमतमा हुनलाई ५२ सदस्यीय हाल प्रदेश सभाका २७ उनको पक्षमा उभिनुपर्छ । नागरिक उन्मुक्ती पार्टी (नाउपा) का सबै सातै जना र स्वतन्त्रलाई सरकारको पक्षमा गणना गर्दा समेत २६ जना मात्रै हुन्छन् । स्वतन्त्र प्रदेश सभा सदस्यको कुरा स्पष्टरुपमा नआए पनि उन्मुक्तीको विवाद चर्को छ ।

उन्मुक्तीका सात सदस्यमध्ये दुई जनाले विश्वासको मत नदिने विश्वास प्रदेश सरकारका विपक्षीहरुको छ । यही बेला राज्यमन्त्री समेत रहेकी प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई हटाएको सूचना उन्मुक्तीका अध्यक्ष रञ्जिता श्रेष्ठले प्रदेश सभा सचिवालयमा पठाएकी छन् । सो पत्र बुधबार नै दर्ता भएको छ ।

सभामुख भीमबहादुर भण्डारीको निर्देशानुसार प्रदेश सभा सचिवालयका सचिव देबबहादुर बोगटीले पत्र दर्ता गरेका हुन । सो पत्रको दर्ता नम्बर ७४२ रहेको छ । गिरीले बिहीबार मत दिन पाउने वा नपाउने निश्चित भएको छैन । सो विषय सभामुखको तजविजमा भर पर्छ ।

निर्वाचन आयोगले मान्यता दिएका कार्यसमितिका अध्यक्ष रञ्जिता श्रेष्ठले एउटा निर्णय गर्ने संसदीय दलका सदस्यहरुले त्यसको विपरित निर्णय गर्ने, महाधिवेशनमा अध्यक्ष भएका रेशमलाल चौधरी (निर्वाचन आयोगले नमानेका) ले पनि संसदीय दललाई सहयोग पुग्ने गरेर निर्णय गर्ने गराउने खेल अहिले भइरहेका छन् । अध्यक्ष रञ्जिताले दलको विधान केन्द्रीय समितिले पारित नगरेकोले महत्वपूर्ण निर्णयमा दलका नेताले निर्णय गर्न नपाउने भन्दै आफ्नो ह्वीपको बचाउ गरेकी छन् । उनले ह्वीपमा दैनिक कामकाज मात्र दलको नेता गर्न पाउने उल्लेख गरेकी छन् ।

बुधबारै अध्यक्ष श्रेष्ठले मुख्यमन्त्रीका विरुद्ध मत दिन ह्वीप जारी गरेर निर्देशन दिइन तर त्यसैलाई चुनौती दिन संसदीय दलका सचेतकले मत दिनु भन्ने दुई थरी धारणाले उन्मुक्तीका प्रदेश सभा सदस्य के गर्ने, के नगर्ने भन्ने दोधारमा छन् ।

यस्तो परिस्थितिमा पनि मुख्यमन्त्री शाह भने विभिन्न सञ्चार माध्यामलाई विश्वासको मत पाउछु भन्ने दावी गरिरहेका छन् । उनीसंग भेटघाट गरेकाहरु पनि विश्वासको मत पाउछु भन्ने ढुक्कता भएको भन्दै फर्किने गरेका छन् ।

उनले विश्वासको मत पाउछु भनेर विश्वास गरेका कतिपय सदस्य काठमाडौमै छन् । उनीहरु के बिहीबार विहान आउलान त ? के उनलाई एमाले, माओवादी र समाजवादीका केही प्रदेश सभा सदस्यले फ्लोर क्रस गरेर मत देलान ? मुख्यमन्त्रीले विश्वासको मत पाउछु भन्नेमा ढुक्क रहँदा यस्ता प्रश्न जन्मेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार