१६ बैशाख २०८१, आईतवार

राष्ट्रियसभा अध्यक्ष माओवादीलाई : नयाँ गठबन्धनको ८ बुँदे सहमति



काठमाडौं / नयाँ गठबन्धनका चार दलबीच ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच भएको सहमति अनुसार राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिनेछ भने उपाध्यक्ष एमालेले पाउनेछ ।

मन्त्रालय भागबण्डा आपसी सहमतिमा गर्ने चार दलको निर्णय छ । त्यसरी बाँडफाँट गर्दा मन्त्रालयहरुको विशेषताका आधारमा वर्गीकरण गरी मिलाउने सहमतिको तेस्रो बुँदामा भनिएको छ, नयाँ संयुक्त सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरुसँग सम्वाद अघि बढाउने ।

साझा न्यूनतम कार्यक्रम बनाउने, चार दलबीच संक्रमणकालीन न्यायसम्बन्धी विधेयक र शान्ति प्रक्रिया सहमतिका आधारमा अबिलम्ब टुंगाउने, संघीय कार्यान्वयनसँग सम्बन्धित बाँकी कानुन निर्माण गरी सबै तलका सरकारलाई प्रभावकारी बनाउने पनि चार दलबीच सहमति भएको छ ।

सुशासन र डेलिभरीलाई प्रभावकारी ढंगले सम्बोधन गर्ने र नयाँ आशा जगाउने उद्देश्यका साथ नयाँ गठबन्धन बनेको एमाले महासचिव शंकर पोखरेलले बताए ।

एकीकृत समाजवादी, लोसपा लगायतका दलहरुलाई समेत सरकारमा समेट्न प्रधानमन्त्रीले पहल थालेको भन्दै उनले भने, तर सुशासन र डेलिभरीको पक्षमा सक्षम टिम बनोस् भन्ने चाहेका छौं ।

प्रधानमन्त्रीले नयाँ शिराबाट अगाडि बढ्न खोजेकाले निश्चित एजेण्डा बोकेर यो यो काम गर्ने भनेर सरकारमा सामेल भएको रास्वापा उपसभापति स्वर्णीम वाग्लेले बताए ।

उनले भने, त्यसअनुसार काम गर्न नसकेको दिन सरकार छाड्छौं । तर आश छ, दूरगामी दृष्टिकोण राखेर सहकार्य भएकाले त्यो दिन आउने छैन भन्ने विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार