२१ बैशाख २०८१, शुक्रबार

बझाङबाट जित्ने प्रदेश सभा सदस्य निर्णायक हुने : दलहरु प्रतिष्ठाको लडाइँ बनाएर चुनावमा होमिदै



धनगढी/ बझाङमा प्रदेश सभा (क) क्षेत्रमा उपचुनाव जित्ने व्यक्ती प्रदेश सरकार बनाउनमा निर्णायक हुने भएपछि प्रमुख दलहरु प्रतिष्ठाको लडाइँ बनाएर विभिन्न रणनीतिका साथ चुनावी मैदानमा उत्रिएका छन् ।

प्रदेश सरकारका तत्कालिन आन्तरिक मामिला तथा कानुनमन्त्री तथा प्रदेश सभा सदस्य र नेपाली कांग्रेसका नेता पृथ्वीबहादुर सिंहको सडक दुर्घट्ना परेर मृत्यु भएपछि सो क्षेत्रमा वैशाख १५ गते उपचुनाव हुँदैछ ।

सो क्षेत्र नेकपा (एमाले), नेकपा (माओवादी) र नेकपा (एकीकृत समाजवादी ) जसले जिते पनि अहिलेको प्रदेश सरकारका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले फराकिलो तरिकाले विश्वासको मत पाउन सक्नेछन् । सोडारीको पक्षमा एमाले, माओवादी, समाजवादी , नागरिक उन्मुक्ती र स्वतन्त्र गरेर सरकार बनाउन आवश्यक पर्ने २७ जनाको संख्या त छ तर एक मत थपिदा ढुक्क हुने अवस्था सृजना हुन्छ ।

सो क्षेत्र एमालेले जितेमा प्रदेश सभामा एमाले–माओवादी समान हैसियतमा दोस्रो दल बन्नेछन् । अहिले प्रदेश सभामा माओवादी एक सिट बढी भएर दोस्रो र एमाले तेस्रो दल छ । प्रदेश सभामा अहिले माओवादीका ११ र एमालेका १० जना प्रदेश सभा सदस्य छन् । अर्कोतिर एकीकृत समाजवादीले जितेमा उसको संख्या प्रदेश सभामा ५ पुग्ने छ ।

एमाले, माओवादी, समाजवादीमध्ये कुनै एकले सो क्षेत्र जितेमा प्रदेश सभामा वामपन्थीहरुको एकल बहुमत (२७ जना) पुग्ने छ । अहिले एमाले, माओवादी, समाजवादी र एक जना वामपन्थी स्वतन्त्र गरेर २६ जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश सभा ५३ सदस्यीय छ ।

अर्कोतिर नेपाली कांग्रेस १८ सिट सहित प्रदेश सभाको पहिलो दल छ । अब सो क्षेत्र फेरि कांग्रेसले जित्दा कांग्रेसको १९ सीट पुग्ने छ । यसपटक पनि सो क्षेत्र कांग्रेसले जित्दा विपक्षीको संख्या २५ पुग्नेछ । त्यसपछि सरकार बनाउनका लागि विपक्षीसंग दुई मत कम हुनेछ । गठवन्धनमा अहिले कांग्रेसका १८, नागरिक उन्मुक्तीका संरक्षक रेमशलाल चौधरी पक्षका पाँच र राप्रपाका एक जना छन् । कांग्रेसले बझाङको चुनाव जित्यो उन्मुक्तिका सातै जनालाई एक ठाउँमा राख्न सके राप्रपाको समर्थनमा सरकार बनाउन सक्नेछ ।

बझाङमा प्रदेश सभा (क) क्षेत्रमा उपचुनाव नेपाली कांग्रेसले स्व. सिंहका छोरा अभिषेक सिंह, एमालेले दमन भण्डारी, माओवादीले जनकबहादुर बुढा र एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ ।

अभिषेक सिंह

चुनाव जित्ने दावी सबैका आफ्ना आफ्नै छन् कांग्रेसले वाम मतदाता बाँडिने र स्व. सिंह दम्पतिप्रतिको सहानुभूति स्वरुप उहाँका छोराले मत पाउने विश्वास गरेको देखिन्छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वड बझाङमा कांग्रेसले युवालाई उम्मेदवार बनाएको, कांग्रेस एकताबद्ध रहेकोले कांग्रेसकै उम्मेदवार जित्ने दावी गर्छन । कांग्रेसले चुनावी रणनीति अनुसार अभिषेकलाई फरक तरिकाले चुनावमा हिडाइरहेको छ ।

यस्तै एमालेले ०७९ को प्रदेश सभा सदस्यको चुनावमा कांग्रेस, माओवादी, समाजवादी मिलेर बनेको गठवन्धनका कारण स्व. सिंह जितेको तर यसपटक ती सबै दलका आफ्ना उम्मेदवार रहेको र कांग्रेसमा आन्तरिक विवाद रहेकोले आफ्नो उम्मेदवार जित्ने दावी गरेको छ ।

एमालेका दमन भण्डारी

एमालेका पोलिटव्युरो सदस्य तथा बझाङ इन्चार्ज राजेन्द्रसिंह रावल एमालेका उम्मेदवार जित्ने थप आधार उल्लेख गर्दे भन्छन् हाम्रा उम्मेदवार सरल, जनतासंग भिजेको, जिल्लामै बस्ने , कुशल संगठक भएकोले जित निश्चित रहेको छ ।

सो क्षेत्रमा ०७९ को चुनावमा स्व. सिंहले १७ हजार ११२ र एमालेका अफिलाल उखेडाले १३ हजार ३३६ मत पाएका थिए ।

जनकबहादुर बुढा

अर्कोतिर संविधान सभाका सदस्य बुढा माओवादी उम्मेदवार छन् । माओवादीका सुदूरपश्चिम प्रदेशका सहइन्चार्ज विना मगर आफ्नो दलका उम्मेदवारप्रति जनताको सहानुभूति त छँदैछ माओवादीले २०७४ को चुनावपछि पहिलो पटक आफ्नो उम्मेदवार उठाउन पाएकोले कार्यकर्तामा उत्साह रहेको, अरु उम्मेदवार भन्दा माओवादी उम्मेदवार क्षमतावान र सक्षम रहेकोले जित्ने आधार रहेको बताउछिन् ।

एकीकृत समाजवादीले आफ्नो उम्मेदवार बलियो रहेको दाबी गरेको छ । समाजवादीका प्रदेश इन्चार्ज गरिमा शाहले आफ्ना उम्मेदवार दिलबहादुर सिंह एमालेमा पनि राम्रो छवि बनाएको, एमालेको पूर्व अध्यक्ष नै भएकोले एमाले कार्यकर्ताको पनि सहानुभूति रहेको र २०५४ को जिविसको उपसभापति रहेकोले जित्ने आधार रहेको बताउछिन् ।

समाजवादीका दिलबहादुर सिंह

उनले भनिन हाम्रो उम्मेदवारको राजनीतिक उचाइ पनि अरु भन्दा ठुलो छ, जनताले सबै ठाउँमा राजकीय अवसर नपाएको नेता भन्दै सहानुभूति दिइरहेकोले हामी निक्कै उत्साहित छौ ।

सो क्षेत्रमा सातवटा गाउँपालिका रहेका छन् । तीमध्ये गठवन्धन गरेर लडेका कांग्रेस र माओवादीले क्रमश चार र एक पालिका जितेका छन् । एमालेले दुई पालिका जितेको छ ।

बझाङका राजनीतिक विश्लेषकहरु भने अहिले सबैको माहोल देखिएको तर अन्तिम तीन दिनमा विभिन्न खालका प्रभावका कारण अहिले अनुमान गरिएको भन्दा फरक नतिजा आउन सक्छ ।

सो क्षेत्रमा ६१ हजार ७४८ मतदाता रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक भरतबहादुर शाह बझाङमा चुनावका लागि शान्ति, सुरक्षा बलियो रहेको र ६० प्रतिशत भन्दा बढीले मतदान गर्ने दावी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार