१३ बैशाख २०८१, बिहीबार

दुर्घटनाको कारण बन्दै अन्धाधुन्ध सडक निर्माण




पछिल्ला वर्षहरुमा डोजरको अत्यधिक प्रयोग गरेर अन्धाधुन्ध सडक खन्ने प्रवृत्तिका कारण पहिरो, भूस्खलन तथा भूक्षय, पानीका परम्परागत मुहान सुक्ने, लगायतका समस्यामा बृद्धि मात्रै भइरहेको छैन, दुर्घटनाका घटनामा पनि निरन्तर बृद्धि आइरहेको छ । सडक निर्माण र विस्तारलाई मात्रै विकासको मानक ठान्ने मानसिकतासंगै बिना वातावरणीय प्रभाव मूल्यांकन र प्राविधिको सल्लाहबिना लहडका भरमा जथाभावी सडक खन्ने गरेका कारण समस्याहरु झन् बढ्दै गइरहेका छन् ।

मानव वस्तीलाई समेत जोखिममा धकेल्ने गरी सडक खन्ने मात्रै होइन कतिपय सन्दर्भमा राजनीतिक पिच्छे सडक निर्माण गरिएका उदाहरणहरु पनि छन् । पछिल्ला वर्षहरुमा जनप्रतिनिधिहरु स्वयंले नै डोजर खरिद गरेर पालिकालाई ठेक्कामा दिएको वा ठेकदारसंग मिलेमतो गरेर काम गरेको घटना पनि सार्वजनिक भएका छन् । डोजरको अन्धाधुन्ध प्रयोग गरेर निर्माण गरिएका कतिपय सडक प्रयोगमै आउन सकेका छैनन् ।

कतिपय सडक दुर्घटनाको कारण बनेका छन् । कतिपय सडकका कारण मानव वस्ती विपदको उच्च जोखिममा परेका छन् । पानीका मुहानहरु सुकेका छन् । भूक्षय र भूस्खलनका कारण खेतीयोग्य जमिन काम नलाग्ने बन्दै गएका छन् । तर, पनि अझैं त्यसरी सडक खन्ने प्रवृत्तिमा नियन्त्रण आउन सकेको छैन ।

अन्धाधुन्ध रुपमा खनिएका सडकका कारण हुने जनधनको क्षतीको जिम्मेवारी कसैले पनि लिन चाहदैनन् । न त यसरी खनिएका र प्रयोगमा आउन नसकेका सडकमा भएको लगानी खेर गएकोप्रति नै कोही जिम्मेवारी बहन गर्न तत्पर छन् । नितान्त दलगत र व्यक्तिगत स्वार्थपूर्तिको उद्देश्यले बनाइने सडक निर्माण योजनाले स्थानीयको आर्थिक अवस्था सुधारमा के उपलब्धी प्राप्त भयो ? भन्नेतर्फ पनि कहिल्यै गम्भीर समिक्षा हुनेगरेको छैन ।

सबै वस्तीटोलमा सडक सञ्जाल पुराउने लक्ष्य र उद्देश्य गलत होइन, तर सडक निर्माणमा क्रममा कम्तिमा वातावरणीय प्रभाव मुल्यांकन गरिएकै हुनुपर्छ । निश्चित रुपमा सडकले विकासका अन्य तमाम सम्भावनाहरुको उद्घाटन गर्छ । रोजगारीका अवसरहरु सिर्जना गर्छ । ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत गर्छ, तर यसका लागि योजनावद्ध रुपमा सडक सञ्जाल विस्तार कार्य अघि बढाइनु पर्दछ । डोजर आतंक, अन्धाधुन्ध सडक निर्माणका कारण मानववस्ती जोखिममा, दुर्घटनाका घटनामा बृद्धि जस्ता हरेक दिन प्रकाशन, प्रसारण हुने समाचारहरुको निष्कर्ष के हो भने– अझैं पनि हरेक पालिकामा सडक विस्तार कार्यका नाममा लहड र स्वार्थले काम गरिरहेको छ ।

जथाभावी र हरेक व्यक्ति आफैं प्राविधिक बनेर जहा मन लाग्यो त्यही सडक खन्ने क्रम अब नियन्त्रण हुनै पर्दछ । वितेका पाच वर्षमा स्थानीय तहहरुमध्ये धेरैले डोजर सडकको आलोचना बेहोरेको सन्दर्भमा अबका दिनमा यस्ता प्रवृत्तिहरु नियन्त्रण भएकै हुनुपर्दछ । प्रयोगमै नआउने सडक वा दुर्घटनाको कारण बन्ने सडक, अथवा सडकका कारण मानव वस्ती नै जोखिममा पर्ने जस्ता घटनामा सम्बन्धित निकाय वा अधिकारी जिम्मेवार बन्नुपर्ने अवस्थाको सिर्जना गरिनु पर्दछ । यसका लागि कम्तिमा वातावरणीय प्रभाव मूल्यांकन र अन्य आवश्यक प्राविधिक मापदण्ड पुरा गरेर मात्रै योजनावद्ध रुपमा सडक निर्माण र विस्तार कार्यलाई व्यवस्थित गरिनु पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार