१५ चैत्र २०८०, बिहीबार

सम्पादकीय : प्रजातन्त्र दिवस अमर रहोस्



आज प्रजातन्त्र दिवस । एक सय चार वर्षे जहानिया राणा शासनको अन्त्यका साथै प्रजातन्त्रका लागि भएको महान ऐतिहासिक जनक्रान्ति सफल भएको दिन । नेपाली जनताका लागि लागि यो दिन रैतीबाट नागरिक बनेको अवसर हो । त्यसैले यो सम्पूर्ण नेपालीहरुका लागि सदा स्मरणीय र आस्थाको दिन हो । त्यसैले होला फागुन सात गते भन्ना साथ प्रजातन्त्र दिवस भनेर सबैले सम्मानपूर्वक शीर निहुराउछन् । वास्तवमा यो नेपाली जनता र राष्ट्रको मुक्तिको ल्याण्डमार्क हो । जनतालाई रैतीका रुपमा व्यवहार गर्ने र शासन गर्ने अधिकार पुर्परोमा लेखेर ल्याउनु पर्छ भन्ने मान्यता राख्ने राणा शासकहरुको एक शताब्दी भन्दा लामो निरंकुश जहानिया शासनका विरुद्ध नेपाली जनताको निर्णायक क्रान्ति सफिल भएको यो दिनको सम्मान नै प्रजातन्त्रको स्थापनाका लागि प्राणको आहुती दिएका वीर नेपाली सपुतहरुप्रति सच्चा श्रद्धान्जली हो । पछिल्ला वर्षहरुमा प्रजातन्त्रको सट्टा लोकतन्त्र शब्द बढि उच्चारण हुने गरेको छ । खासगरी नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय पद्धति लागू भएपछि राजनीतिक नेतृत्वहरुले प्रजातन्त्र शब्दप्रति अनिच्छा प्रकट गरिरहेका छन् । तर, यत्तिले मात्रै प्रजातन्त्र दिवसको महानता कम हुदैन ।
यस पटक सुदूरपश्चिम प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरेर नेपाली जनक्रान्ति र नेपाली जनताको प्रजातान्त्रिक आन्दोलन तथा संघर्ष र बलिदानप्रति उच्च सम्मान व्यक्त गरेको छ । निश्चित रुपमा राजनीतिक विकासक्रम रोकिदैन । हरेक आन्दोलन, संघर्ष, क्रान्तिले अग्रगमनलाई नै मलजल गर्छ । नेपालको प्रजातान्त्रिक आन्दोलनको इतिहासमा थुप्रै पटक अवरोध सिर्जना गरिएका छन् । आन्तरिक तथा बाह्य षडयन्त्रहरुका कारण प्रजातान्त्रिकरण प्रक्रिया कमजोर बनाउने कुचेष्टाहरु हुदै आएका छन् । सात सालमा जनक्रान्तिबाट प्रजातन्त्र सफल भयो, तर त्यसलाई दिगो बन्न दिइएन । सत्र सालमा प्रजातन्त्र खोसियो । तीस वर्षसम्म निर्दलीय पञ्चायती शासनका नाममा नेपाली जनताका नागरिक अधिकारहरु हनन् गरियो । प्रजातन्त्रको पुनस्र्थापनाका लागि छयालीस सालमा ऐतिहासिक जनआन्दोलन भयो । प्रजातन्त्र पुनस्र्थापना भयो । तर, त्यसको विरुद्ध माओवादी जनयु्द्धका नाममा वितंडा मच्याइयो । तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएर एक पटक फेरि अधिनायकवाद लाद्ने प्रयास गरे । पुनः नेपाली जनताले संघर्ष गरे र अन्ततः अढाई सय वर्ष पुरानो राजतन्त्रको अन्त्य भयो । र, नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो ।
यी तमाम राजनीतिक घटनाक्रमबीच प्रजातन्त्र स्थापना भएको दिनको सर्वाधिक महत्व छ र हुनुपर्दछ । किनकि यो दिनले हामी सबैलाई नेपाली जनताको प्रजातान्त्रिक संघर्षको प्रस्थान बिन्दुलाई स्मरण गराउछ । नेपाली जनता रैतीबाट वास्तविक अर्थमा नागरिकमा रुपान्तरण बनेको यो दिनका अवसरमा प्रजातन्त्रको स्थापना तथा पुनस्र्थापनाका लागि प्राणको आहुती दिने सम्पूर्ण सम्मानित ज्ञात अज्ञात शहीदहरुमा भावपूर्ण श्रद्धान्जली । यो दिनले हामी सम्पुर्ण नेपालीहरुलाई कुनै पनि नाममा वा बहानामा तानाशाह तथा अधिनायकवादी शासक बन्न खोज्नेहरुलाई परास्त गर्ने प्रेरणा देओस् । प्रजातन्त्र दिवसका अवसरमा सबैमा हार्दिक शुभकामना । नेपालको जय होस् । नेपाली जनताको जय होस् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार