५ श्रावण २०८१, शनिबार

संसद विघटन विरुद्ध कांग्रेसको विरोध प्रदर्शन



धनगढी । नेपाली काँग्रेसले संसद विघटनको विरुद्धमा सोमबार पनि देशभर प्रदर्शन गरेको छ । संसद विघटनको विरुद्धमा देशव्यापी प्रदर्शनका क्रममा कैलालीको धनगढीमा पनि प्रदर्शन गरिएको छ । सोमबार काँग्रेसका भातृ संगठनहरुको आयोजनामा विरोध प्रदर्शन तथा विरोध सभा भएका थिए ।

सोमबार धनगढीको ट्राफिक चौराहदेखि पार्कमोडसम्म नाराजुलुस सहित विरोध र्यालीको आयोजना गरिएको थियो ।

र्यालीपछि आयोजित विरोध सभामा नेपाली काँग्रेसका महासमिति सदस्य तथा पुर्व मन्त्री जनकराम चौधरीले कम्युनिष्ट सरकारका कारण नेपाली जनताले दुःख पाएको बताए ।
‘जनताले नेकपालाई दुई तिहाईएको मत दिए । तर, उनीहरुले देशलाई अस्थितरता तर्फ धकेल्ने काम वाहेक अरु केहि गरेनन् ।

महासमिति सदस्य जनकरामले संविधानलाई लत्याएर संसद विघटन गरेपछि का“ग्रेस सडकमा आउन बाध्य भएको बताए ।

उनले कम्युनिष्ट सरकार भ्रष्टाचारका काण्डैकाण्डमा फसेको आरोप लगाए । उनले भने– सुन काण्ड, निर्मला बलात्कार काण्ड, बालुवाटार काण्ड, वाइडबडी आदि काण्ड मात्रै यो सरकारको काम भएको छ ।

नेपाली का“ग्रेस कैलाली सचिव पूर्ण कुँवरले प्रतिनिधी सभा विघटन गैरसंवैधानिक रहेको बताए । उनले भने ‘सरकारले पार्टीको आन्तरिक द्वन्द्धको समस्यालाई लिएर प्रतिनिधी सभा विघटन गर्नु उपयूक्त होइन । यसको सडकबाटै निकास निकाल्नुपर्छ ।’

कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख शुशीला मिश्र भट्ट, तरुण दलका नेता दिपेन्द्र वम, नेता गोपाल देउवा, महिला संघ कैलालीका अध्यक्ष पुष्पा भट्ट लगायतले सम्बोधन गरेका हुन् ।

कार्यक्रमको सञ्चालन नेपाल विद्यार्थी संघका नेता भेष बमले गरेका थिए ।

तेस्रो चरणको आन्दोलनका कार्यक्रमअन्तर्गत सोमबार कांग्रेसका सबै भ्रातृ संगठनहरूले ७७ वटै जिल्लामा संयुक्त रुपमा विरोध प्रदर्शन गरेको छ । यही माघ १३ गते बसेको कांग्रेस केन्द्रीय समितिको बैठकले तेस्रो चरणको आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको थियो ।

आन्दोलनका कार्यक्रमअनुसार २४ गते शुभेच्छुक संगठनले प्रदर्शन गर्नेछन् । यसैगरी फागुन ३ गते जिल्ला कार्यसमितिले ७७ जिल्लामा प्रदर्शन र सभाहरू गर्ने नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार