७ कार्तिक २०८१, बुधबार

फरार अभियुक्त पक्राउ



धनगढी । डोटी जिल्ला प्रहरी कार्यालयले अस्पतालबाट फरार भएका अभियुक्तलाई शुक्रबार पक्राउ गरेको छ । बिहीबार राति १० बजेतिर जिल्ला अस्पतालबाट फरार भएका १६ वर्षीय राजेन्द्र बोहरालाई बिहान प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले अभियुक्त राजेन्द्रलाई डोटीको पूर्वीचौकी गाउँपालिकामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । पूर्वीचौकी गाउ“पालिकाको शान्तिनगर जंगलमा लुकिरहेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख जनकराज पाण्डेले बताए ।

अस्पतालमा खटिएका प्रहरीको लापरबाहीका कारण अभियुक्त राजेन्द्र फरार भएपछि प्रहरीको सक्रियताकै कारण उनलाई समयमै पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख पाण्डेले बताए ।
प्रहरीले डोटीमा बालिका हत्या घटनाका अभियुक्त अस्पतालबाट फरार भएको १० घण्टामै पक्राउ गर्ने प्रहरी निरीक्षक सहितका चार जना प्रहरीकर्मीलाई पुरस्कृत गरेको छ ।

पुरस्कृत हुनेमा प्रहरी निरीक्षक जोशी, प्रहरी सहायक निरीक्षक जगदिशप्रसाद भट्ट र प्रहरी जवानद्वय देवेन्द्र बहादुर सिंह र दिनेश सुनार रहेको डोटीका प्रमुख (प्रहरी उपरीक्षक) पाण्डेले बताए ।

उनीहरूलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले रेर्कडमा रहने गरी नगदसहित पुरस्कृत गरेको प्रहरी उपरीक्षक पाण्डेले जानकारी दिए । उनीहरू चारै जना प्रहरी जिल्ला प्रहरी कार्यांलयमै कार्यरत रहेका छन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले उत्कृष्ट काम गर्ने प्रहरीलाई पुरस्कार र गलत गर्नेलाई दण्ड दिने संगठनको नीति रहेको बताए ।

सोही घटनामा प्रहरी हवल्दारसहितका तीन जना प्रहरी निलम्बनमा परेका छन् । जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी हवल्दार धनसिंह सामन्त र प्रहरी जवानद्वय राजुकुमार बिक तथा नरेश धामीलाई निलम्बन गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक सिंहले जिल्ला अस्पतालमा खटाइएका तीन जना प्रहरीलाई निलम्बन गरी छानबिन अगाडी बढाइएको बताए । उनका अनुसार जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ईन्द्र मल्लको संयोजकत्वमा छानबिन समिति समेत गठन गरिएको छ ।

बझाङको मष्टा गाउ“पालिकाकी १२ वर्षीया बालिका सम्झना बिकको हत्याका अभियुक्त राजेन्द्र जिल्ला अस्पताल डोटीको आइसोलेसनबाट भागेका थिए । अदालतले पुर्पक्षका लागि कारगार चलान गरेका उनलाई डोटीस्थित बाल सुधार गृहमा राखिएको थियो ।

अभियुक्त राजेन्द्रलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार