गौरिगंगा बडैपुरमा अस्थायी प्रहरी पोष्ट
धनगढी । कैलालीको गौरीगंगा नगरपलिका वडा नम्बर ८ बडैपुरमा अस्थायी प्रहरी बिटको उद्घाटन गरिएको छ ।

गौरीगंगा–११ स्पोर्ट्स क्लवको पहल तथा गौरिगंगा नगरपालिकाको कार्यालय र बडैपुर बजार व्यवस्थापन समितिको सहयोगमा निर्माण गरिएको अस्थायी प्रहरी बिटको मंगलबार नगर प्रमुख भीमबहादुर देउवाले उद्घाटन गरे ।
बिटको उद्घाटन गर्दै नगर प्रमुख भिमबहादुर देउवाले समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रणमा लिइ जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन नवनिर्मित बिटले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
कार्यक्रममा नेपाली सेनाका कर्णेल प्रदीप थापा, जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख अनुपम सम्सेर राणा, गोरिगंगा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष तुलाराम सापकोटा, कैलारी गाउपालिका वडा नम्बर ८ का वडाध्यक्ष दुखीराम चौधरी, गौरीगंगा उद्योग बाणिज्य संघका अध्यक्ष राजेन्द्र देवकोटा, नगर विकास समितिका अध्यक्ष कृष्ण देउवा लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम गौरीगंगा–११ स्पोर्ट्स क्लवका अध्यक्ष दिनेश कलेलको अध्यक्षतामा भएको थियो । कार्यक्रमको सञ्चालन नर बहादुर देउवाले गरेका थिए ।