कोरोना महामारीमा प्रभावकारी सञ्चारबारे अन्तक्र्रिया
धनगढी । धनगढीमा कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका विषयक अन्तक्र्रिया भएको छ ।
अन्तक्र्रियाको राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले उद्घाटन गरे । सो अवसरमा अध्यक्ष तिमिल्सिनाले कोरोनाको अहिलेसम्म औषधि नबनेकोले बच्नका सावधानी अपनाउनुको विकल्प नभएको चर्चा गरे ।
उनले तीन वटै तहका सरकारहरुबीचको समन्वयमा कोरोना भाइरस महामारीबारेका गलत सूचना तथा अफवाहको प्रतिकार गर्नुपर्ने बताए ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सिमित स्रोतसाधन तथा भौतिक सुविधाबीच पनि प्रदेश सरकारले कोरोना महामारी प्रभावकारी रुपमा नियन्त्रण गर्न भूमिका निर्वाह गरिरहेको बताए ।
मुख्यमन्त्रीले भने– हामीले क्वारेन्टाइन बनाउन, अस्पतालमा बेड थप्न, राहत दिन महत्पपूर्ण काम गरेका छौ । कोरोनाका विमारी बढ्ने सम्भावना देखिएको अक्सिजनको र वेडको अभाव हुन नदिन सचेत भएर लागेका छौं ।
कार्यक्रममा कोभिड पछाडिको अवस्था तथा जनप्रतिनिधिहरुको भूमिका लगायतका विषयमा छलफल भएको थियो ।
विश्व स्वास्थ्य संगठनको प्राविधिक सहयोगमा भएको कार्यक्रम सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभाका सदस्यहरु लगायतको सहभागिता थियो ।