११ श्रावण २०८१, शुक्रबार

वडाध्यक्ष थापाले आफैं भत्काए आफ्नो भौतिक संरचना



धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर ४ का अध्यक्ष दिपक कुमार थापाले मुख्य सडक बिस्तारका लागि आफ्नो भौतिक संरचना आफैं भत्काएका छन् ।

धनगढी चौराहदेखि कैलाली नाला पुलसम्मको मुख्य सडक खण्ड चौडा गर्नका लागि सडकको क्षेत्राधिकारभित्र बनेका भवन, पर्खाल सहितका भौतिक संरचना हटाउने क्रममा वडाध्यक्ष थापाले बिहीबार रातोपुलमा रहेको आफ्नो होटल भवनको अगाडीको आगन हटाएका छन् । उनले सडक विस्तारका लागि सडकको क्षेत्राधिकारभन्दा थप एक मिटर जमिन छोडेको बताए ।

क्षेत्रीय शहरी विकास आयोजना अन्तर्गत धनगढी उपमहानगरपालिकाको मुख्य सडक ३० मिटर फराकिलो बनाईदै छ ।

धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले सडकहरू विस्तारका लागि धनगढीका घरधनीहरू आफैं सडक क्षेत्रधिकारभित्र पर्ने भौतिक संरचनाहरू भत्काउन थालेको बताए । उनले भने– नगरका सडकहरू फराकिला बनाउनका लागि घरधनीहरू सडक क्षेत्रधिकारभित्र पर्ने पर्खाल, घर, टहराहरू स्वःस्फूर्त रुपमा भत्काउन थाल्नुभएको छ ।

यसअघि बुधबार धनगढी उपमहानगरपालिका वडा नम्बर २ का नौ जना घरधनी र वडा नम्बर ५ का चार जना घरधनीले संरचना भत्काउन सुरु गरेका थिए ।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत पहिलो चरणमा ७ वटा सडक निर्माण हुने गरि २०७७ साल असार २८ गते सम्झौता भएको उपमहानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार