६ जेष्ठ २०८१, आईतवार

बलात्कारका घटनामा मेलमिलाप गराउनेमाथि पनि कारबाही हुन्छ– गृहमन्त्री थापा



काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले बलात्कारका घटनामा मेलमिलाप गराउने, पञ्चायती बस्ने कार्यमा संलग्नहरूलाई पनि मतियारको रुपमा पक्राउ गरी कारवाही गर्न मातहतका निकायलाई आफूले निर्देशन दिइसकेको बताएका छन् ।
बलात्कारका घटनामा संलग्नलाई कारवाहीको माग गर्दै सोमबार गृहमन्त्रालयमा ज्ञापनपत्र बुझाउन आएको अखिल नेपाल महिला संघका प्रतिनिधि र बझाङ जिल्लाका जनप्रतिनिधिहरुसंगको भेटमा गृहमन्त्री थापाले बलात्कार जस्ता जघन्य अपराधमा मिलापत्र गराउनु ठूलो अपराध भएको बताए ।
उनले यस्तो मिलापत्र गराउनेहरूलाई कारवाहीको सुनिश्चितता विद्यमान कानुनले गरेको बताउ“दै आवश्यकता परे थप कडा कारवाहीको प्रावधान राख्न कानुन संशोधन गरिने विश्वास दिलाए । उनले बलात्कारका घटना समाजका लागि लज्जाको विषय भएको भन्दै यस्ता घटना रोक्न सरकार संवेदनशील र गम्भीर रहेको बताए ।
त्यसक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले पछिल्ला दिनमा भएका बलात्कारका घटनामा संलग्न अधिकांश आरोपीहरू प्रहरीले पकाउ गरिसकेको जानकारी दि“दै मिलाउपत्र गराउने कार्यमा संलग्नसमेतलाई कारवाही अघि बढाइएको जानकारी दिए ।
ज्ञापनपत्र बुझाउ“दै अनेमसंघका संयोजक अमृता थापाले पछिल्ला दिनहरूमा महिला हिंसा र बलात्कारका घटना बढेको भन्दै त्यस्ता घटनामा संलग्नलाई कारवाही, पीडितलाई उपचार, सुरक्षा र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग राखिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार