२३ बैशाख २०८१, आईतवार

अस्थायी प्रहरी पोष्ट स्थापना भएसंगै स्थानीय खुसी



सुख्खड / कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ७ मा अस्थायी प्रहरी पोष्ट स्थापना भएपछि स्थानीयबासी खुसी भएका छन् ।

वडामा हुने विभिन्न अपराधिक गतिविधि नियन्त्रण हुने भन्दै स्थानीय खुसी भएका हुन् । नगरपालिकामा रहेको ईलाका प्रहरी कार्यालय सुखडले टाढा टाढासम्म शान्ति सुरक्षा दिन समस्या भएपछि वडामा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको हो ।

वडा नम्बर ७ का स्थानीय देवेन्द्र मल्लले यसअघि टाढा प्रहरी चौकी भएका कारण समयमा प्रहरी आउन नसक्दा अपराधीहरु उम्कने गरेको बताए ।

उनले भने ‘गतवर्ष करैचा गाउँमा रातको समयमा एउटा घरमा चोरीभयो गाउँलेले चोरलाई समात्न पनि सफल भएका थिए प्रहरी आउन ढिला भएपछि चोर भागेर गयो ।’

चोरीका घटना मात्र होइन महिला हिंसा बन्य जन्तु , काठ तस्कर लगायतका अपराधिक कृयाक्लाप नियन्त्रणमा प्रहरीको भूमिका सक्रिय हुने विश्वास स्थानीयको छ ।

घोडाघोडी नगरपालिका वडा नम्बर ७ हरीनगर गाउँका सन्तकला दमाईले टाढा प्रहरी चौकी भएका कारण धेरै घटनाहरु प्रहरीसम्म पुग्ननसकेको बताउदै अस्थायी प्रहरी पोष्ट निर्माणसंगै महिला हिंसा न्यूनिकरणमा समेत सहयोग पुग्ने आशा व्यक्त गरे ।

वडा नम्बर ७ को वडा भवनमा कार्यालय रहने गरेर बिहिबार सुदूरपश्चिम प्रदेशका पूर्व सामाजिक विकासमन्त्री दीर्घ सोडारीले सो अस्थायी प्रहरी पोष्टको उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्रदेश सभा सदस्य अम्मरबहादुर साउद , घोडाघोडी नगरपालिकाका नगरप्रमुख ममता प्रसाद चौधरी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अनुपशम्शेर जबरा लगायतको उपस्थित रहेको थियो ।

प्रहरी सहायक निरीक्षक विर्खबहादुर रावलको कमाण्डमा सात जना प्रहरी रहने गरेर अस्थायी प्रहरी पोष्ट स्थापना भएसंगै वडा नम्बर ५, ३ र ७ को शान्तिसुरक्षामा सहज हुने विश्वास यहाँ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार