१७ बैशाख २०८१, सोमबार

चुरे गाउँपालिकाको सार्वजनिक सुनुवाई



धनगढी । चुरे गाउँपालिकाको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक सार्वजनिक सुनुवाई भएको छ । गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरको अध्यक्षतामा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गरिएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागिहरुले गाउँपालिकामा सञ्चालनमा रहेका योजनामा पारदर्शिता नभएको, योजना सम्पन्न नभई भुक्तानी गरिएको, योजनाका कामहरुमा गुणस्तर नभएको लगायतको गुनासो गरेका थिए । स्थानीयहरुले गाउँपालिकाले कोभिड–१९ को रोकथाम तथा नियन्त्रणका नाममा आर्थिक अनियमितता गरेको आरोप लगाएका थिए ।

गाउँपालिकाका स्थानीय गोपाल शाहले गाउँपालिकाले कोरोना नियन्त्रणका लागि स्थापना गरेको आइसोलेसन तथा क्वारेन्टिन व्यवस्थापनका नाममा गरेको खर्च अपत्यारो भएको आरोप लगाए । उनले भने –‘क्वारेन्टिन व्यवस्थापन दुई सय ५० किलो दाल र तीन सय ४५ किलो नुन वितरण गरिएको भनिएको छ । यो दाल भन्दा नुन कसरी बढी भयो ?’ उनले यसमा आर्थिक अनियमितताको गन्ध रहेको आरोप लगाए ।

उनले स्वास्थ्य चौकीले निःशुल्क प्राप्त हुने औषधिहरु माग गर्दा पनि गाउँपालिकाले उपलब्ध गराउन नसकेको गुनासो गरे । उनले भने –‘स्वास्थ्य चौकीमा सिटामोल, प्रेसर लगायतका अत्यावश्यक र निःशुल्क औषधी अभाव छ । चौकीले माग फाराम भरेर पनि गाउँपालिकामा उपलब्ध गराएको छ । तर, अझै औषधी उपलब्ध गराइएको छैन ।’

स्थानीय कलाधर कँडेलले खैराला–सल्लेखोला कृषि सडकमा एक करोड बढी रकम निकासा भएको देखाइएको प्रति आपत्ती जनाउँदै भने –‘कृर्षि सडकका स्लोप तोडिएका छन । सडकको काम गुणस्तरहिन देखिएको छ । तर, गाउँपालिकाले यसमा ध्यान किन दिन सकेको छैन ।’

स्थानीय खडक खडायतले गाउँपालिकामा सञ्चालनमा रहेका योजनाहरुको लेखापरिक्षण तथा सार्वजनिक सुनुवाई नहुने गरेको आरोप लगाए । उनले भने –‘सहजपुर लिफ्टिङ खानेपानी योजनाको काम सम्पन्न भइ भुक्तानी भएको भनिए पनि सार्वजनिक सुनुवाई गरिएको छैन ।’

उनले प्रदेश सरकारको ‘एक निर्वाचन क्षेत्र, एक खेलमैदान’ अन्र्तगत गाउँपालिकामा निर्माण गरिएको खेलमैदानको योजना पारदर्शिता नभएको आरोप लगाए । उनले भने –‘खेलमैदान बनेको छ । २० लाखको काम भयो/भएन भनेर अनुगमन किन भएन ?’ उनले सामुदायिक वनमा खेलमैदान बनाउँदा कतिको उत्तम रहने पनि प्रश्न गरे । उनले भने –‘शुरुमा सबैको सहमतिमा खेलमैदान बनाउन वनमा लगानी गरियो । अहिले वनलेनै आपत्ति जनाउँदै भत्काउने तयारी गरिरहेको छ । यसको जिम्मा कस्ले लिन्छ ?’

उनले गाउँपालिकाले विद्युत शिर्षकमा कुनै पनि बजेट विनियोजन नगरेको भएपनि वडाहरुमा विद्युत विस्तार लगायतमा काम भइरहेको बताउँदै –‘२८/३० लाखका विद्युत विस्तार कार्यक्रम वडामा कहाँबाट भइरहेका छन ।’

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत बसन्तबहादुर बोहराले गाउँपालिकाको कुल बजेटमध्ये ७६ प्रतिशत खर्च भएको प्रगति विवरण पेश गरेका थिए । गाउँपालिकाको आर्थिक वर्ष २०७६/७७ मा ४४ करोड ९४ लाख छ हजार ४० रुपैयाँमध्ये ३४ करोड २४ लाख ५० हजार ५४ रुपैया खर्च भएको छ ।

गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्का मगरले गाउँपालिकाका योजनाहरुमा कुनै पनि अपारदर्शी, गुणस्तरहिन काम नभएको दाबी गरे । उनले गाउँपालिकाबाट सञ्चालन भएका योजनाहरुको गुणस्तर कायम गर्न स्थानीय पनि सक्रिय हुनुपर्ने बताए । उनले भने –‘योजनाहरुको काम कसरी भइरहेको छ ? कहाँ कमि कमजोरी छन भन्नेमा सबै सर्वसाधारण पनि चासो राख्नुपर्छ ।’

सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष, वडा सदस्य, राजनीतिक दलका पदाधिकारी, स्थानीय, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजिकरण भोजराज जोशीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार