१२ श्रावण २०८१, शनिबार

सबैतिर बन्द मात्रै कोरोना रोकथाम हो र ?



भारतका विभिन्न शहरबाट घर फर्किने सुदूरपश्चिमेलीहरुको भीड बढ्दै गएपछि अहिले सिमानाकाहरु नै सिल गर्नुपर्ने आवाज उठिरहेका छन् । प्रशासनले कञ्चनपुरको गड्डाचौकी नाकाबाट भारतीय सवारी साधन प्रवेशमा रोक लगाइसकेको छ । तर, पनि घर फर्किने नेपालीहरुको भीड झन् बढ्दै गएको अवस्था छ । भारतमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म चार जनाको मृत्यु भइसकेको र संक्रमितहरुको संख्या बढ्दै गएपछि विभिन्न भारतीय शहरमा रोजगारी गरिरहेका तथा अन्य काम विशेषले गएका नेपालीहरु धमाधम स्वदेश फर्किरहेका छन् । सिमानाकामा अत्यधिक चाप बढेपछि गड्डाचौकी नाकाबाट भोली (मंगलबार) देखि पैदल यात्रीको आवातजावत समेत बन्द गर्ने निर्णय गरिएको छ । खुला सिमाना भएका कारण भारतबाट नेपालमा कोरोना भाइरस संक्रमणको उच्च जोखिम भएका काण सिमितबाहेक अन्य नाकाहरु केही दिनअघि नै बन्द गरिएका छन् । त्यस्तै, कोरोना भाइरस संक्रमण रोकथामका लागि भन्दै बजार समेत बन्द गर्ने तयारी भइरहेको छ । संघीय सरकारले यसअघि नै अत्यावश्यकीय सेवाबाहेकका अन्य सरकारी, सार्वजनिक तथा निजी सेवा प्रदायक कार्यालय केही दिन बन्द गर्ने निर्णय गरिसकेको छ ।
सिमा नाकामा प्रदेश यात्री समेतलाई आवातजावत गर्न रोक लगाउने, दैनिक उपभोग्य वस्तुको आपूर्ति गर्ने बजार समेत बन्द गर्ने जस्ता निर्णयको असर निश्चित रुपमा आम नागरिकमाथि नै पर्ने छ । कोरोना भाइरस संक्रमणबाट जोगिन स्वदेश फर्किरहेका नेपाली नागरिकलाई सिमानाकामा रोक्ने वा स्वदेश आउन नदिने जस्ता निर्णयभन्दा पनि नेपाली नागरिकलाई मात्रै स्वदेश प्रवेश गर्न दिने सिमा नाकामा अझ कडाईका साथ चेकजाच गर्ने व्यवस्था गरिनु उचित हुने छ । त्यस्तै, बजार नै बन्द गर्ने निर्णयले नुन, तेल, खाद्यान्नको एकाएक अभाव देखिएको छ । पेटोल पम्पहरु बन्द नहुने भनिए पनि आइतबारदेखि नै प्रत्येक पेटोल पम्पमा भीड बढिरहेको देखिन्छ । त्यस्तै अवस्था नुनको खरिदमा समेत देखिन्छ । मानिसलाई सकेसम्म घरमै सिमित गर्ने, भीडभाडका कुनै पनि अवस्थाको अन्त्य गर्ने तथा कुनै अत्यावश्यक कार्य बाहेक अरु सरकारी कामकाज समेत घरबाटै सम्पादन गर्ने प्रबन्ध गर्नु उचित भए पनि आम नागरिकले सास्तीमाथि सास्ती भोग्नुपर्ने अवस्था सकेसम्म कम गर्नेतर्फ पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । पक्कै पनि अहिले असमान्य अवस्था बनेको छ । त्यसैले केही दुःखकष्ट सहनु पर्ने बाध्यता स्वाभाकि हो, तर सबैतिर बन्दलाई मात्रै एकमात्र उपायका रुपमा अवलम्बन गरिनु हुदैन ।
भारतसंग जोडिएका नेपाली सिमानाकामा बिना चेकजाच एक जना पनि भित्रिन नपावस् भन्नेतर्फ सजग हुनुका साथै हरेक जिल्लाका प्रवेश मार्ग, सानाठूला बसपार्क, विमानस्थल सबै ठाउमा हेल्थ डेस्क राख्ने, प्रत्येक जिल्लामा बढिभन्दा बढि स्थानीय तहमा कोरोना भाइरस चेकजाचको प्रबन्ध गर्दै आइसोलेशन वार्डको व्यवस्था गर्नेतर्फ अझ तीब्र बनाइनु पर्दछ । त्यससंगै आम नागरिकले दैनिक उपभोग्य वस्तुको अभाव झेल्नु नपरोस् तथा महंगो मुल्य तिर्नु नपरोस् भन्नेमा पनि उत्तिकै सजग हुनु पर्दछ । त्यसैले हरेक सबैतिर बन्द गरेर मात्रै कोरोना भाइरस संक्रमण पूर्ण रुपमा रोकथाम हुन्छ भनेर ढुक्क हुनुभन्दा पनि बाहिरबाट नेपालभित्र प्रवेश गर्ने एक जना पनि बिना चेकजाच भित्र आउन नपावस् भन्नेमा ध्यान दिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार