१० श्रावण २०८१, बिहीबार

एम्बुलेन्सको यस्तो दुरुपयोग ?



सुदूरपश्चिम प्रदेशको बैतडी जिल्लाको डिलासैनी गाउँपालिकाको मातहतमा रहेको एम्बुलेन्स मृत चित्तल सहित नियन्त्रणमा लिइएको घटनाको अहिले सबैतिर चर्चा भइरहेको छ । कञ्चनपुर बिरामी पुर्‍याएर फर्किदै गर्दा एम्बुलेन्स चालक महेश बोहराले शुक्लाफाँटा राष्ट्रिय निकुन्जको जंगलबाट चित्तल मारेर एम्बुलेन्समा लुकाएर बैतडी पुर्‍याउदै गर्दा गोकुलेश्वर इलाका प्रहरी कार्यालयले पक्राउ गरेको छ । एम्बुलेन्स भएकै कारण कञ्चनपुरदेखि बैतडी पुगुन्जेल नेपाली सेना र नेपाल प्रहरीका आधा दर्जन बढि चेकपोष्ट रहे पनि चेकजाँच नभएको सहज अनुमान गर्न सकिन्छ । बिरामीलाई छिटोछरितो र सुरक्षित ढंगले अस्पताल वा स्वास्थ्य संस्थामा पु¥याउने गहन तथा पवित्र काम गर्ने एम्बुलेन्सलाई बन्यजन्तुको तस्करीमा प्रयोग गर्नु भनेको अक्षम्य अपराध नै हो भन्नु अत्युक्ति हुदैन । डिलासैनी गाउँपालिकाको मातहतमा रहेको सो एम्बुलेन्सको चालक करारमा नियुक्त भएका व्यक्ति हुनुका साथै गाउँपालिका अध्यक्षका नजिकका नातेदार रहेको स्पष्ट भइसकेको छ । सम्भवतः एम्बुलेन्स चालक महेशले गाउँपालिका अध्यक्षसंगको नजिकको नातालाई “चित्तल तस्करी गर्ने” आँट बनाएका हुनसक्छन् ।
सुदूरपश्चिम प्रदेशमा त्यसै पनि प्रदेश सरकारले वितरण गरेका एम्बुलेन्सबाट सर्वत्र तिखो तथा कटु आलोचना भइरहेको अवस्था छ । चित्तल तस्करी गर्न प्रयोग गरिएको डिलासैनी गाउँपालिकाको याे एम्बुलेन्स पनि प्रदेशको सामाजिक विकास मन्त्रालयले वितरण गरिएको थियो । एम्बुलेन्सको गुणस्तर, गति, लागत लगायतका पक्षमा विभिन्न कोणबाट चर्चा तथा आलोचना हुने क्रम अहिले पनि जारी रहेको छ । यो दुर्घटना हुदा अथवा सानोतिनो घटना हुदा समेत प्रदेश सरकारको नाम जोडिने गरेको बिडम्बनापूर्ण अवस्था छ । त्यसैमा अहिले नेपाली सेनाले सुरक्षा दिएको राष्ट्रिय निकुन्जबाट बन्यजन्तु मारेर एम्बुलेन्समा लुकाएर यति लामो बाटो हुदै बैतडी पुर्‍याइएको यो घटनाले एक पटक फेरि प्रदेश सरकार तथा सामाजिक विकास मन्त्रालयमाथि समेत व्यंग्ययुक्त टिप्पणीको ओइरो लागेको अवस्थामा सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्म । त्यसैले पनि एम्बुलेन्समा बन्यजन्तु तस्करी गरिएको यो घटना निकै चर्चित र आलोचित भएको अवस्था छ ।
डिलासैनी गाउँपालिका मातहतको एम्बुलेन्स चालकमाथि कानून बमोजिम कारबाही होला नै । तर, यत्तिले मात्रै कतिपय एम्बुलेन्समा हुने गरेका गलत धन्धा भने नियन्त्रण हुन्छ भन्ने ठोकुवा गर्न सकिदैन । बिरामी बोक्ने एम्बुलेन्सलाई भाडामा यात्रु बोक्नेदेखि प्रायः चेकजाँच नहुने सुविधा पाएका कारण मालसामान तस्करीसम्मका घटना सार्वजनिक भइसकेका सन्दर्भमा सुदूरपश्चिम प्रदेशमा सरकारी अस्पताल वा निजी वा सहकारी संस्था वा क्लव अथवा स्थानीय तह कसैले पनि सञ्चालन गरेका एम्बुलेन्समा कुनै पनि किसिमको गलत धन्धा हुननपावस् भन्नेमा गम्भीरतापूर्वक ध्यान दिनु आवश्यक भइसकेको छ । योग्य र पेसाका प्रति इमान्दार, कर्तव्यनिष्ट तथा व्यवसायिक योग्यता भन्दा पनि आफ्ना नजिकका आसेपासेलाई “जागिर” दिने नितान्त गलत मानसिकताका कारण एम्बुलेन्स जस्तो पवित्र सवारी साधनप्रति पनि जनविश्वास कम हुने घटना भएको छ । त्यसैले डिलासैनी गाउपालिका मातहतको एम्बुलेन्समा बन्यजन्तु तस्करी गरिएको यो घटनालाई बन्यजन्तु तस्करीका अन्य घटना जस्तै ठान्ने र सोही अनुसारको कारबाही गरेर मात्रै पुग्दैन भन्नेमा गम्भीर हुन जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार